कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय लेखिका गीताञ्जली श्रीलाई बुकर

‘टम्ब अफ स्यान्ड’ बुकर पाउने कुनै पनि भारतीय भाषामा मूल रूपमा लेखिएको र हिन्दी भाषाबाट अनुवादित पहिलो उपन्यास

नयाँदिल्ली — गीताञ्जली श्री अन्तर्राष्ट्रिय बुकर पुरस्कार प्राप्त गर्ने पहिलो भारतीय लेखिका बनेकी छन् । गीताञ्जलीद्वारा लिखित उपन्यास ‘रेत समाधि’ को अंग्रेजी अनुवाद ‘टम्ब अफ स्यान्ड’ ले सन् २०२२ को बुकर पुरस्कार प्राप्त गरेको हो । उक्त अनुवाद डेजी रकवेलले गरेकी हुन् ।

भारतीय लेखिका गीताञ्जली श्रीलाई बुकर

‘टम्ब अफ स्यान्ड इन्टरनेसनल बुकर पुरस्कार पाउने कुनै पनि भारतीय भाषामा मूल रूपमा लेखिएको पहिलो पुस्तक हो र हिन्दी भाषाबाट अनुवादित पहिलो उपन्यास पनि,’ बुकर प्राइज फाउन्डेसनले भनेको छ, ‘उपन्यास एक ८० वर्षीया महिलाको जीवनमा आधारित छ । यसको कथा मौलिक हुनुका साथै धर्म, देश र लिंगको सीमाबाट सिर्जित विनाशकारी असरमाथि आधारित छ ।’

अंग्रेजी भाषामा लेखिएको वा अनुवाद गरिएको तथा इंग्ल्यान्ड वा आयरल्यान्डमा छापिएको पुस्तकलाई सन् २००५ देखि यो पुरस्कार प्रदान गरिँदै आएको छ । यो वर्षका लागि ५ वटा पुस्तक अन्तिम छनोटमा परेकोमा टम्ब अफ स्यान्डले बाजी मारेको हो । पुरस्कारको राशि ५० हजार पाउन्ड छ । उक्त रकम लेखिका र अनुवादकले बाँडेर लिनेछन् ।

‘मैले कहिल्यै पनि अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने कल्पनासमेत गरेको थिइनँ । कहिल्यै सोचेको पनि थिइनँ कि यतिसम्म गर्न सक्छु । यो मेरा लागि निकै ठूलो पुरस्कार हो । जसबाट म प्रसन्न, सम्मानित र विनम्र महसुस गरिरहेको छु,’ पुरस्कार हस्तान्तरणपछि गीताञ्जलीले प्रतिक्रिया दिइन्, ‘म र यो पुस्तक दक्षिण एसियाली भाषामध्ये एक समृद्ध साहित्यिक परम्परासँग जोडिएको छ । विश्व साहित्य यिनै भाषाका केही राम्रा लेखकसँग परिचित भएर समृद्ध हुनेछ ।’

राजकमल प्रकाशनद्वारा प्रकाशित रेत समाधि बुकर जित्ने मात्र नभई, यसको ‘लङ लिस्ट’ र ‘सर्ट लिस्ट’ मा छानिने पहिलो हिन्दी भाषाको पुस्तकसमेत हो । यो उपन्यासलाई निर्णायक मण्डलले ‘अनौठो’ भनेका छन् । ‘यो उपन्यास रोकिँदै पढ्नुपर्ने खालको छ । यसमा कथाको धागोसँग कैयौं अन्य धागा बाँधिएका छन्,’ निर्णायक मण्डलको निष्कर्ष छ, ‘कथामा ८० वर्षीया हजुरआमा छिन्, जो ओछ्यानबाट उठ्न चाहँदिनन् । जब उठ्छिन्, सबथोक नयाँ हुन्छ । यहाँसम्म कि हजुरआमासमेत नयाँ । उनले हर सीमालाई निरर्थक बनाइदिन्छिन् ।’ पुस्तकमा स्त्री, स्त्रीको मन, पुरुष, तेस्रो लिंगी, प्रेम, सम्बन्ध, समय, समयलाई बाँध्ने छडी, अविभाजित भारत र विभाजनपछिको तस्बिर, जीवनको अन्तिम क्षण, त्यसबेला उब्जिने अनिच्छा, सीमा, हास्यलगायत सबथोक रहेको निर्णायक मण्डलको ठहर छ ।

तीन दशकयता लेखनमा सक्रिय गीताञ्जलीको पहिलो उपन्यास ‘माई’ हो । सन् १९९० यता उनका ‘फिर हमारा सहर उस बरस’, ‘तिरोहित’, ‘खाली जगह’ लगायत उपन्यास र केही कथाहरूसमेत बजारमा आइसकेका छन् । उनका लेखनमा नारी र समाजभित्र र बाहिरका पात्रहरू प्रधान रूपमा समेटिएका हुन्छन् । उनका पुस्तकहरू हालसम्म अंग्रेजी, फ्रेन्च, जर्मनलगायत धेरै भाषामा अनुवाद भइसकेका छन् । उनको उपन्यास ‘माई’ को अंग्रेजी अनुवाद ‘क्रसवर्ड अवार्ड’ का लागि समेत मनोनयनमा परेको थियो ।

टम्ब अफ स्यान्ड प्रकाशन गृह ‘टिल्डेड एक्सिस’ ले बजारमा ल्याएको हो । अनुवादक डेजी अमेरिकामा बस्छिन् । उनको हिन्दीलगायत विभिन्न भाषा र साहित्यमा दखल राख्छिन् । उनले उपेन्द्रनाथ अस्कको उपन्यास ‘गिरिती दिवारे’ माथि विद्यावारिधि गरेकी हुन् । हालसम्म खादिजा मस्तुर, भीष्म साहनी, उषा प्रियन्वदा र कृष्णा सोबतीद्वारा लिखित उपन्यासको समेत अंग्रेजीमा अनुवाद गरिसकेकी छन् ।

प्रकाशित : जेष्ठ १३, २०७९ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?