कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अझै पनि फिल्ममा यौनिक अल्पसंख्यकलाई हाँसोका रूपमा उडाइन्छ : दयाहाङ राई

काठमाडौँ — अभिनेता दयाहाङ राई लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई अहिले पनि फिल्ममा हाँसोका रूपमा चित्रण गर्ने गरेको बताउँछन् । मण्डला थिएटरमा आयोजित 'कथा इन्द्रधनुष' शीर्षकको कार्यक्रममा अभिनेता राईले यस्तो सोचमा परिवर्तन आउनुपर्ने धारणा राखे । 

अझै पनि फिल्ममा यौनिक अल्पसंख्यकलाई हाँसोका रूपमा उडाइन्छ : दयाहाङ राई

'पहिला अल्पसंख्यकलाई फिल्ममा उडाउने चलन थियो । अहिले पनि केही फिल्ममा देखिन्छ। यो समाजमा भएका हरेक व्यक्तिको आफ्नो अस्तित्त्व हुन्छ, आफ्नो विचार हुन्छ भन्ने कुरालाई स्वीकार्नुपर्छ भनेर कसैले सोच्छजस्तो लाग्दैन । मैले भनेको मात्रै सही होजस्तो लाग्छ सबैलाई,'दयाहाङले भने,'तर, यो सोचहरुको परिवर्तन, हाम्रो उपस्थितिको आवश्यकताको तालमेल यो समाजमा मिल्नुपर्छ । यो समाजमा को-को अटाएका छौं, सबैको अस्तित्त्व के-हो भनेर सोच्नुपर्छ ।'

लैङ्गिक तथा यौनिक अल्पसैख्यक समुदायले जुन महिनालाई गौरव महिना(प्राइड मन्थ)को रूपमा मनाउँदै आएको छ । त्यही अवसरमा रंगकर्मी सन्दीप श्रेष्ठले मण्डलासँगको सहकार्यमा 'कथा इन्द्रधनुष' आयोजना गरेका हुन् । नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङ, कोरियोग्राफर तेन्जु योञ्जन, अभियान्ता सुदीप गौतम, र्‍यान्डम प्रडक्सनका प्रणय शाक्य, अभियान्ता विपिन कडायत र रुबी कार्की उपस्थित प्यानल छलफलले विगतमा भन्दा वर्तमान समाज लैङ्गिक तथा यौनिक अल्पसंख्यकका लागि उदार हुन थालेको विश्लेषण निकाल्यो । वैवाहिक अधिकार सुनिश्चित गर्ने सर्वोच्च अदालतको हालैको आदेशले आफूहरूमा उल्लास थपिदिएको पनि उनीहरुले छलफल गरे ।

नीलहीरा समाजकी अध्यक्ष पिंकीले त संस्था स्थापनाकालदेखि नै आफूहरुले यो समुदायका मानिसहरुका लागि लड्दै आएको र नतिजाको रुपमा आएको यस्तो आदेशले नयाँ पुस्तालाई सहज गराइदिने पनि बताइन् । 'अबको पुस्ताले हामीले त्यतिबेला देखेको सपना जीउन सक्ने प्रावधान बनेको छ,'उनले भनिन् । छलफल कार्यक्रममा हरेकले आफ्नो यौनिक पहिचान र त्यसपछि समाज र परिवारसँग गर्नुपरेको विद्रोहको कुरा सुनाए ।

प्रकाशित : असार १७, २०८० १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?