बारी बेचेर एल्बम निकालेका पंगेनी

६ दर्जनभन्दा बढी लोकप्रिय र मर्मस्पर्शी गीत गाइसकेका बद्री पंगेनीका गीतहरू सामाजिक सञ्जालहरूमा प्रशस्त भेटिन्छन् । उनका गीतमा प्रेमसँगै सामाजिक सन्देश पनि छन्

वैशाख ९, २०८१

माधव अर्याल

Pangeni released the album after selling the bari

पाल्पा — अढाई दशकदेखि लोकगीत गायनमा चर्चामा रहेको नाम हो, बद्री पंगेनी । पाल्पा रामपुर नगरपालिका–७ रामपुर कठान गाउँमा जन्मे–हुर्केका ४१ वर्षीय पंगेनी अहिले काठमाडौंको धापासीमा बस्छन् ।

उनले बाल्यकाल बिताएको रामपुर क्षेत्र दुर्गम नै थियो । ट्र्याक्टर गुड्दा पनि रमाउने अवस्था भएको उनकै अनुभव छ । ‘सानोमै मलाई गाउने र साथीभाइसँग रमाउने बानी थियो,’ उनले भने, ‘स्टेजमा पुगेर १४ वर्षको उमेरमा पहिलो पटक गाएको हुँ ।’ सानोमा विद्यालय, क्लब, चौतारी, मेलापर्वमा गाउन रुचाउने बद्रीले कक्षा ९ मा पढ्दै गर्दा रेडियो नेपालमा ‘चौतारी’ र ‘देउराली’ कार्यक्रममा गीत रेकर्ड गर्ने अवसर पाएका थिए । रामपुरकै ‘मान्द्रे होटल’ मा धेरै जना बसेर गीत सुन्दाको क्षण सम्झँदा निकै आनन्द मान्छन् । रामपुरकै रामप्रसाद पोखरेल, खेम रानाको प्रेरणाले २०५५ सालमा पहिलो एल्बम ‘तानसेन खस्यौली’ निकालेको उनले सुनाए । 

‘पाल्पा रामपुर फाँट, जाने भए मसँग गरिहाल आँट’ भन्ने उनको गीत त्यतिबेला निकै ‘हिट’ भयो । पहिलो एल्बम निकाल्न त्यति सहज भने थिएन । ‘मसँग पैसा हुने कुरै भएन, बुबाले दुई रोपनी बारी बेचेर पहिलो एल्बम निकाल्न २० हजार रुपैयाँ दिनुभएको हो,’ उनले भने, ‘पहिलो एल्बम निकाल्दा १८ हजार खर्च भयो ।’ त्यस एल्बमका १२ हजार क्यासेट बिक्री गरेर ६० हजार नगद पाएको उनले सुनाए । ‘त्यसबेलाको त्यो रकम मेरा लागि निकै ठूलो कमाइ भयो,’ उनले भने, ‘त्यसपछि गीत–संगीतमा रुचिसँगै अर्को एल्बम निकाल्ने हुटहुटी पनि चलिहाल्यो ।’

कालीगण्डकीपारिका भगवान भण्डारी लगायतले उनलाई गीत गाउन र एल्बम निकाल्न निकै हौस्याउँथे । त्यसपछि दोस्रो ‘पीएन क्याम्पस’ एल्बम सार्वजनिक गरिहाले । त्यसबेलामा कभरमा गायकको हस्ताक्षर हुन्थ्यो । तेस्रो ‘फोटो फिर्ता लेऊ’, त्यसपछि ‘ब्युटी नम्बर वान’ निकाले । ‘ससुरालीमा’ एल्बमको ‘ख्यालख्यालमै दिल बस्यो कान्छी सालीमा...’ भन्ने गीतले भने उनको जीवन नै परिवर्तन गरायो । ‘झन्डै ३ लाख प्रति एल्बम बजारमा बिक्री भयो,’ उनले भने, ‘ससुरालीको कभरमा हस्ताक्षर गर्दा निकै आनन्द आयो । बजारमा रेकर्ड नै राख्यो भन्दा पनि हुन्छ ।’ उनले त्यही गीतको एल्बम बिक्रीबाट काठमाडौंको कोटेश्वरमा घडेरी किन्न सफल भएको सुनाए । 

Pangeni released the album after selling the bari

बद्रीले २०५८ मा रामपुरकै कल्पनासँग प्रेमविवाह गरे । ‘बिहेको कुरा सम्झँदा हाँसो लाग्छ,’ उनले भने, ‘प्रेमविवाह भएकाले ती दिनको सम्झना नआउने कुरै भएन ।’ एउटै स्कुलमा पढ्ने कल्पना र बद्रीका बीचमा त्यसअघि चिनजान भने थिएन । सानोमै उनको गाउँमा आफन्तको घरमा गएका बेला कल्पनासँग सामान्य चिनजान भयो । अचम्म त के भने गाउँमा ट्र्याक्टर हेर्ने भीडमा कल्पनालाई देखेको उनी सम्झन्छन् । ‘त्यहीं हाम्रो आँखा जुध्यो, हेराहेर भयो,’ उनले भने, ‘त्यसपछि अर्को दिन विद्यालयमा नै बोलचाल भयो ।’ कल्पना त्यतिबेला ५ कक्षामा पढ्थिन् भने बद्री ७ मा पढ्दै थिए । त्यसपछि कल्पनासँग बोलचाल बढ्यो । मन परेका कुरा चिठीमा आदानप्रदान हुन थाल्यो । त्यसपछि बिस्तारै प्रेमका कुरा गर्दै भागी विवाह गरे । ‘कल्पनाले त्यतिबेला मलाई पठाएका प्रेमपत्र अहिले पनि सुरक्षित छन्,’ उनले भने । उनी सामाजिक सन्देश फैलाउने गीतलाई बढी प्राथमिकता दिने गर्छन् । पंगेनीको ‘मन थिएन जोगी बन्नलाई...’, ‘त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू...’, ‘मुस्ताङको स्याउ कुहियो...’, ‘दुई पाइला...’, ‘च्यानकुटी च्यानकुटी...’ बोलका गीत निकै चर्चित बनेका छन् । पछिल्लो समयमा ‘पैसा सापटी...’ बोलको गीतले तहल्का नै पिटेको छ । 

खहरेको भेल जस्ता कलाकार मात्र होइन, नामै चलेकालाई पनि सम्झाउन पर्ने अवस्था आएको उनले बताए । ‘साउनमा निकाल्नुपर्ने तीजका गीत फागुनमा गाउने प्रचलन गलत थियो,’ उनले भने, ‘नाम चलेकै कलाकारलाई सम्झाउन पर्दा अझै पनि रिस, राग राखेको अनुभव पाएको छु ।’ 

६ दर्जनभन्दा बढी लोकप्रिय र मर्मस्पर्शी गीत गाइसकेका पंगेनीका गीतहरू युट्युब, सामाजिक सञ्जालमा प्रशस्त भेटिन्छन् । प्रविधिको विकाससँगै चुनौती थपिएको उनको अनुभव छ । मेला, महोत्सव, पर्वका कार्यक्रमले कलाकारलाई धेरथोर सहयोग पुगेको उनले सुनाए । बद्रीले गीत गाएरै देशविदेशको भ्रमण गरेका छन् । उनका गीतमा प्रेमसँगै सामाजिक सन्देश पनि रहेको हुन्छ । 

Pangeni released the album after selling the bari

गायन संघर्षकै क्रममा उनले झन्डै ६ वर्ष दोहोरी साँझमा काम गरे । कहिलेकाहीं विवादमा पनि आए । काम गर्दै जाँदा कहिलेकाहीं यस्ता समस्या बेहोर्नुपर्ने उनी बताउँछन् । आम निर्वाचनका बेला ‘सइ पनि एमाले, मै पनि एमाले...’ चुनावी गीतले उनलाई चर्चासँगै विवादमा पनि तान्यो । ‘बद्रीजी लौन मेरा, मेरा पार्टीका लागि गीत गाइदिन पर्‍यो भन्छन्,’ उनले भने, ‘नेताहरूसँग नजिक भएकाले हामीसँग पनि सहयोग माग गरिन्छ । अनि चुनावमा नाइँ भन्नै सकिँदैन, मलाई पनि गुन लगाएका हुन्छन् ।’ त्यसैले ‘फलानो पार्टीको झोले’को आरोप पनि खेप्नुपरेको तीतो अनुभव उनीसँग छ । ‘गीत धेरै चल्यो भने चर्चा, बहस, विवाद, आलोचना हुन्छ,’ उनले भने, ‘मैले व्यक्तिगत स्वार्थका लागि कसैको दैलो चहारेर एक रुपैयाँ पनि मागेको छैन । त्यसैले औंला ठड्याएर बोल्ने हिम्मत राख्छु ।’ लोकसंगीतले लामो फड्को मारे पनि स्रष्टाको आर्थिक अवस्था सुध्रन नसकेको उनको अनुभव छ । 

युवापिढीको विदेश पलायनलाई उनी ‘लहर’ र ‘रहर’ को संज्ञा दिन्छन् । ‘गाउँ, टोल, समाज, सहरको विकासमा श्रमिक पाइँदैनन्,’ उनले भने, ‘हामी पासपोर्ट बनाएर विदेश कुदेका छौं । सामाजिक सञ्जालमा केही पनि छैन भन्ने गरेको देख्दा दुःख पनि लाग्छ ।’ मुलुकभित्र केही नभएको होइन, धेरै भएको छ भन्ने सन्देश गीतमार्फत पनि दिन जरुरी रहेको उनको भनाइ छ ।

Pangeni released the album after selling the bari

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully