२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

कर्णालीमा मिस नेपाल अडिसन

सुर्खेत — मिस नेपालको आगामी संस्करणका लागि बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अडिसन भएको छ । अडिसनमा ११ जना युवतीले सहभागिता जनाएका छन् । नेपालभरका युवतीलाई प्रतियोगितामा सहभागी गराउने उद्देश्यले कर्णाली प्रदेशबाट पनि प्रतिस्पर्धी छनोट गर्न लागिएको आयोजक ‘द हिडन ट्रेजर’ले जनाएको छ । 

कर्णालीमा मिस नेपाल अडिसन

अडिसनमा सहभागी हुनेहरूका लागि मंगलबार अभिमुखीकरणसमेत आयोजना गरिएको मिस नेपाल–२०२३ श्रीच्छा प्रधानले बताइन् । आफैंले आफैंलाई विश्वास गर्न सके उपाधि धेरै टाढा नभएको उनको भनाइ छ । ‘यो नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतियोगिता हो,’ उनले भनिन्, ‘जसका लागि बलियो आत्मविश्वास र खुला हृदय चाहिन्छ ।’ बिस्तारै ‘ग्ल्यामरस’ क्षेत्र नेपाली समाजले बुझ्दै गएको उनको भनाइ छ ।

अडिसनका क्रममा मिस सुपर नेसनल नेपाल–२०२० सिमल कनौजियाले पोल्यान्डमा आयोजित विश्व सुप्रानेसनल पेजेन्टमा सहभागी हुँदाको अनुभव सुनाइन् । कर्णाली चिनाउनका लागि सुर्खेतमा अडिसन राखिएको उनको दाबी छ । ‘महिलालाई स्ट्रेन्थ बनाउन पनि यो प्लाटफर्म महत्त्वपूर्ण छ,’ उनले भनिन्, ‘आफूमा क्षमता छ भन्ने आत्मविश्वास भए जुनसुकै परीक्षामा उत्कृष्ट भइन्छ ।’ युवतीले आफूलाई प्रस्फुटन गर्न सके आगामी मिस नेपाल कर्णालीले पाउन सक्ने उनको भनाइ छ ।

मिस नेपालका सहभागीले प्रशिक्षणमा सिकेका कुरा लागू गर्न सके समाज परिवर्तन गर्न सक्ने क्षेत्रीय संयोजक एवं कोरियोग्राफर केशव थापाले बताए । ‘यो प्रतियोगिता ट्यालेन्सी, एक्पोजर र शिक्षा प्रस्तुत गर्ने इभेन्ट मात्र होइन,’ उनले भने, ‘यसले जस्तोसुकै अप्ठ्यारोलाई पनि ट्याकल गर्न सक्ने क्षमता प्रदान गर्छ ।’ यो इभेन्टले कर्णालीको सांस्कृतिक विविधता र पर्यटकीय विकासका लागि पनि भूमिका खेलेको उनको भनाइ छ । मापदण्ड पुगेका इच्छुक नेपाली युवतीले जेठ १ गतेसम्म वेबसाइट र एपमार्फत आवेदन दिन सक्ने आयोजकले जनाएको छ ।

हिडन ट्रेजरका राजभाइ सुवालले कर्णालीका युवतीहरूमा पनि मिस नेपालप्रति निकै आकर्षण रहेको पाइएको बताए । ‘अधिकांश युवतीमा मिस नेपालमा सहभागी भएर सामाजिक रूपमा सक्रिय हुने हुटहुटी रहेछ । उहाँहरूको त्यो आत्मविश्वासले यहाँबाट छानिएर जाने युवतीलाई फिनालेसम्म पुर्‍याउने आशा छ,’ उनले भने । सुवालका अनुसार अडिसनका लागि झन्डै २ दर्जनले आवेदन दिए पनि मापदण्ड पुगेका ११ जनाले मात्र अडिसनमा सहभागी भएका थिए । ‘द हिडन ट्रेजर’ले तीन वर्षयता कर्णालीमा नियमित अडिसन गर्दै आइरहेको छ । यसअघि पोखरा र नेपालगन्ज अडिसन भइसकेको छ भने वीरगन्ज, बिर्तामोड, इटहरी, भैरहवा र काठमाडौंमा हुँदै छ ।

प्रकाशित : वैशाख १३, २०८१ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?