२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७१

रिक्सा चालक राष्ट्रिय क्रिकेटर

रूपन्देहीका १८ वर्षीय रमेश क्रिकेटमा करिअर बनाउन चाहन्छन् । उनको खेल कौशल हेर्दा क्रिकेटमा स्थापित हुन सक्ने देखिन्छ । तर आर्थिक अवस्थाका कारण उनी अटो रिक्सामा यात्रुहरू ओसार्न बाध्य छन् ।
सन्जु पौडेल

लुम्बिनी — सिद्धार्थनगर–३ रूपन्देहीका रमेश कुर्मी भर्खर १८ वर्षका भए । क्रिकेटप्रति निकै लगाव भएका कुर्मी अधिकांश समय क्रिकेट अभ्यासमा बिताउन चाहन्छन् । उनको खेल कौशल हेर्दा पनि पहिलो प्राथमिकता क्रिकेट नै भएको प्रस्ट हुन्छ । तर, उनको बाध्यता भने फरक छ । जब उनी क्रिकेट खेल्न जान्छन्, तब उनको परिवारका सदस्य भोकै बस्नुपर्ने अवस्था छ ।

रिक्सा चालक राष्ट्रिय क्रिकेटर

कमाइ नगरे आमाको दबाइ खरिद गर्न रकम हुँदैन । त्यसैले रमेश खेल मैदानको साटो अधिकांश समय सिद्धार्थनगरका मुख्य र भित्री सडकमा अटो रिक्सामा यात्रुहरू ओसारिरहेका भेटिन्छन् । फुर्सदका बेला चोक वा कुनै प्रतिष्ठान नजिक यात्रु कुरिरहेका हुन्छन् । क्रिकेटमा करिअर बनाउन चाहन्छन्, तर बाध्यताले उनले अटो रिक्सा त्याग्न सक्दैनन् ।

रमेशको खेल यात्रा सहज रूपमा अघि बढेको भने होइन । गाउँमा साथीभाइ र मामाले बल खेलेको देख्दा रमेशलाई पनि खेल्न मन लाग्थ्यो । अरूले खेल्दा उनी घरमै बसेर आमालाई सघाउने गर्थे । खेल सामग्री थिएन । पछि उनलाई मामा सजिर आलमले आफ्नो टिममा मिसाए । ‘पढेर बरु काम नपाइएला तर खेलेपछि केही न केही हुन्छ भनेर टिममा बोलाएँ,’ मामा आलमले भने, ‘भिनाजुको डरले भान्जा खुलेर खेल्न सक्दैनथे, अहिले राम्रो प्रगति गरे ।’

त्यसबेला रमेश १० वर्ष पुग्दै थिए । बेलहियास्थित लुम्बिनी खुकुरी क्लबका खेलाडी खेल्दा उनी खेल हेर्न उहीं पुग्थे । कहिलेकाहीं मौका पाउँदा खेली पनि हाल्थे । उनको खेल देखेका उक्त क्लबका कोच जंगबहादुर थापा (हाल क्यान क्युरेटर) ले कुर्मीलाई प्रशिक्षण लिनका लागि आग्रह गरे । कुर्मी आफ्ना पिताको डरले चाहेर पनि खेल्न जान सक्दैनथे ।

‘एक सय रुपैयाँ शुल्क थियो,’ क्युरेटर थापाले भने, ‘उनका बुवा मलाई कराउन आउँथे, छोराले खेलाडी भएर परिवार पाल्न सकेन भने भनेर हप्काउँथे, मैले उनलाई र कमलावतीलाई सम्झाएर रमेशलाई सिकाइ छाडें ।’ रमेशकी आमाले भने उनलाई औधी ढाडस दिन्थिन् । उनको एकेडेमीको शुल्क तिर्न माटोको भुँड्कोमा जम्मा गरेको पैसा लगेर थापालाई बुझाउँदा थापाले रमेशलाई निःशुल्क सिकाइदिने वाचा गरी अघि बढाएको बताए । २०७४ मा उनले बाबा क्लबबाट खेले । २०७५ मा नमस्ते क्लबको प्रतिनिधित्व गरे भने त्यसयता उनी पूर्वखेलाडी एवं क्यानका पूर्वकार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल संस्थापक रहेको एमसीसी क्लबमा जोडिएका हुन् ।

लेफ्ट आर्म स्पिनर हुँ भन्ने कुरा पनि जंग गुरुबाटै थाहा पाए । बलिङ प्रभावकारी बन्दै गएपछि उनले सन् २०१९ मा थाइल्यान्डसँग एसीसी इस्टर्न रिजन इलाइट कप यू–१६ खेल्न पाए । त्यसताका नेपालको यू–१६ टिमका प्रशिक्षक रहेका भैरहवाका वसन्त शाहीले रमेशलाई राम्रो गाइड गरे । नेपालले खेल जित्यो । त्यसपछि रमेशले स्थानीय लिगमा राम्रै खेल देखाए । विभिन्न खेलमा म्यान अफ द म्याच बन्दै अघि बढे ।

२०७८ सालमा जिल्ला सुपर लिग उनी आबद्ध क्लब एमसीसीले जित्यो । १९ विकेट लिएका उनी सर्वाधिक विकेट टेकर भए । सोही वर्ष उनी वाईवाई राष्ट्रिय यू–१९ नेसनलमा खेले । २०७९ मा लुम्बिनी प्रदेशको यू–१९ बेस्ट बलर बन्न सफल उनले २०८० मा प्रदेशको तर्फबाट केपी ओली कपको पहिलो टुर्नामेन्टमा २ म्याचमा ४ विकेट लिए । त्यसपछि उनलाई एपीएफले खेल्ने निम्तो दियो । ज्ञानेन्द्र मल्लको प्रशिक्षण, राष्ट्रिय टिमका सिनियर खेलाडीसँगको सिकाइ, अप्रत्याशित भेट भयो,’ उनले भने ।

एपीएफबाट उनले प्रो कप खेले र अहिले प्रधानमन्त्री कप मेन्स राष्ट्रिय क्रिकेट प्रतियोगितामा उनले ७ खेलमा १३ विकेट लिए । घरेलु मैदान सिद्धार्थ रंगशालामा लुम्बिनी प्रदेशविरुद्ध ५ विकेट लिएका थिए । क्याम्पमा बस्दा होस् वा मैदानमै उत्रँदा टिम कप्तान रोहित पौडेललगायत अग्रज खेलाडीको हौसलाले रमेशलाई सिनियर राष्ट्रिय टिमबाट खेल्न पाए हुन्थ्यो भन्ने लाग्छ ।


रमेशका बाबु पनि अटो रिक्सा चलाउँछन् । परिवारकोे खाने र लाउने समस्या टार्न रिक्सा चलाउँदै आएका हुन् । आमा कमलावतीलाई जेठा छोरा रमेशको रेखदेख र स्याहारको चिन्ताले सताउँथ्यो । अभावमा हुर्किनु परेपछि रमेशले भविष्यबारे सोच्ने फुर्सदसम्म पाएनन् । मौका मिलेको बेला गल्लीमा साथीहरूसँग क्रिकेट खेल्थे । यही खेलमा रुचि बढेपछि अभिभावकको आँखा छलेर खेल्न थाले । सिक्दै गएपछि स्थानीय खेलाडी र क्लबको आँखा पर्‍यो । ठूला प्रतियोगितामा खेलेर कौशल प्रदर्शन गरेपछि रमेशको चर्चा अहिले मुलुकमा मात्र सीमित छैन । विदेशमा समेत चर्चा हुन थालेको छ । छोराको ख्याति फैलिन थालेपछि आमाको खुसीले सीमा नाघेको छ ।

एकातिर यस्तो ख्याति । अर्कोतिर पारिवारिक दायित्वले छाडेको छैन । आमाको उपचार खर्च जोहो गर्न आफैंले अटो रिक्सा चलाउन बाध्य भएका हुन् उनी । क्रिकेट अभ्यास नरोकियोस् भनेर रमेशले बिहान ९ देखि दिउँसो ३ बजेसम्म रिक्सा चलाउने गरेका छन् । त्यसपछि क्रिकेट सिक्ने गरेको उनले बताए । साँझ ६ देखि राति ९ बजेसम्म रिक्सा चलाउँछन् । ‘अलि टाढाका यात्रु भेटिए भने ढिलो हुन्छ,’ उनले भने, ‘अहिले रिक्सा चलाएर धेरै समय बितिरहेको छ । टिमले बोलाए खेल्ने गरेको छु ।’

यसबाहेक आमाले घरमा थापेको किराना तथा खाजाघरमा दिनभरि चिया पकाएर बिक्री गर्छन् । पसल र घरमा सघाउँदा उनी रिक्सा थन्क्याउँछन् । समय उब्रियो भने क्रिकेट खेल्न पुग्छन् । अधिकांश समय रिक्सामा मानिस ओहोरदोहोर गराउँछन् । ‘पहिलेको तुलनामा खेलबाट अघि बढ्न चाहनेलाई राम्रो अवसर छ,’ उनले भने, ‘मैले यसरी नै बुझेर खेलिरहेको छु, म अझै खेल्न चाहन्छु ।’ सशस्त्र प्रहरीको टिमबाट खेलेका उनले पहिलो पटक टिम सपोर्ट, उत्साह, हौसला प्राप्त गरेको बताए । जितेका बेला उत्साहित हुने उनी टिमले हारेपछि निराशा छाउने गरेको सुनाउँछन् ।


प्रकाशित : वैशाख ११, २०८१ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महालेखापरीक्षकको प्रतिवेदनअनुसार गत वर्षभन्दा यसपाली करिब सवा २ खर्ब बेरूजु रकम बढ्नुको संकेत के हो ?