नारीका कथा उठाउने सुलक्षण

काठमाडौंको मण्डला थिएटरमा २०७३ भदौमा मञ्चन भएको थियो– ‘बोक्सीको घर’, निर्देशक सुलक्षण भारतीले अहिले भने नाटकलाई अझ फराकिलो पारेर ठूलो पर्दामा पस्केका छन्

वैशाख १३, २०८१

सुशील पौडेल

Sulakshan to raise women's stories

काठमाडौँ — आठ वर्षकी बालिका । आमाको काखबाट छुटाएर २४ वर्ष जेठो युवकसँग बिहे । घर व्यवहार सिकाउन १७ वर्ष नपुगुञ्जेलका लागि फेरि माइतीमै फिर्ता । यही दौरान उनका पतिको भने नदी तर्ने क्रममा निधन हुन्छ । अनि सुरु हुन्छ, नाबालिग विधवाको दुर्दशा । घरभित्रै ससुराद्वारा बारम्बार बलात्कृत हुन्छिन् उनी ।

त्यसमाथि समाजले बोक्सी करार गरिदिन्छ । सानैमा बिहेपछि छुटेका साथीसंगी, समाजको आँखामा पति टोकुवा । ऊसँग न बोल्ने साथी छन्, न त मनभरिको पीडाको भारी बिसाउने चौतारी । घरछेउ, अजंगको पीपलको रूख छ, रातको समयमा उनी त्यही पीपलका पातहरूसँग आत्मालाप गर्छिन्, मन माझ्छिन् । अनि तिनै बालिका कालान्तरमा त्यही पीपलको रूखमा जिङरिङ्ग कपाल फिँजाएर डरलाग्दो स्वरूपमा भछिन्– म बोक्सी हुँ, बोक्सी । तन्त्रमन्त्र गर्न सक्ने, बच्चालाई कप्लक्कै खाइदिन सक्ने, तिमीहरूका लोग्नेलाई पुक्लुक्कै ढाल्न सक्ने । 

२०७३ को भदौमा काठमाडौंको मण्डला थिएटरमा मञ्चन भएको थियो, ‘बोक्सीको घर’ । जसका बहुआयामिक चरित्रमाथि सरिता गिरीले एकल प्रस्तुति दिएकी थिइन्, असाध्यै मीठो गरी निर्दोष, अबोल बालिकादेखि डरलाग्दी बोक्सीसम्म बनेर । नाटकको लेखन तथा निर्देशनको बागडोर थामेका थिए, सुलक्षण भारतीले । ‘विलगेट्स पण्डित’ बाट निर्देशनको बाटो हिँड्न सुरु गरेका सुलक्षणले ‘बोक्सीको घर’बाट चालेको दोस्रो पाइलाबाटै प्रशंसा कमाए । अहिले उनै उही नाटकलाई अझ फराकिलो पारेर फिल्मको ठूलो पर्दामा पस्किएका छन्, झन्डै ८ वर्षपछि । 

‘दर्शकले हेर्न चाहेअनुरूप स्क्रिनप्ले लेखिनुपर्छ । दर्शकलाई बाँधेर राख्न सक्नुपर्छ,’ मञ्चबाट पर्दामा रूपान्तरण भइरहँदा निर्देशनमा मात्रै नभई लेखनमा पनि सुलक्षण सचेत छन् । दर्शकलाई फिल्म स्लो नलागोस् भन्नका खातिर प्रस्तुतीकरणमा नाटकभन्दा केही भिन्न गरेको बताउँछन् उनी । मनोरन्जन सर्वोपरी भए पनि फिल्मलाई फगत व्यापार मात्रै भने मान्दैनन् भारती । ‘फिल्म समाजकै प्रतिविम्ब हो । तर समाज, यसका मूल्यमान्यतालाई लिएर फिल्ममेकर कति सजग र सचेत छौं त ?’ उनी भन्छन् । त्यसैले पनि होला, उनले ‘बोक्सीको घर’ मार्फत प्रश्न तेर्स्याएका छन्, पितृसत्ताको आडमा महिला शोषण गर्ने समाजतर्फ । ‘मेकरले केवल प्रश्न उठाइदिने मात्र हो, जवाफ खोज्ने जिम्मा हाम्रो हैन जस्तो लाग्छ,’ भारती थप्छन्, ‘आजको समयमा पनि नारीका धेरै कथा भन्न बाँकी नै छ जस्तो लाग्छ ।’ 

त्यसो त फिल्म ‘बोक्सीको घर’ की मुख्य पात्र तथा निर्मात्री केकी अधिकारीलाई पनि त्यस्तै महसुस भएको रहेछ, आठ वर्षअघि नाटक बोक्सीको घर हेर्दा । ‘एकदमै सोचमग्न भएकी थिएँ । कतिपय कथा हाम्रै आँखा अगाडि घटिरहेका छन् र पनि तिनलाई हामीले सामान्यीकरण गरेर बेवास्ता गर्दा रहेछौं । म कलाकार वा निर्माताभन्दा पनि विशुद्ध दर्शक भएर सोचें, यो कथा त आम दर्शकसमक्ष भनिनुपर्छ ।’ कोभिड लकडाउनमा उनको त्यो भावना अझ उद्वेलित भएर आयो, अनि सुरु भएको थियो, ‘बोक्सीको घर’ को फिल्मी यात्रा ।

सुलक्षणलाई केकीले फिल्म बनाउन प्रस्ताव गर्दा जति अनुगृहीत भए, त्यति नै सन्देही पनि बने केकीलाई मुख्य चरित्रमा लिँदा । डर स्वाभाविक पनि थियो, सरिता गिरीले भएभरका पात्रमा एक्लै बाँचेर मञ्च तताइदिएकी थिइन्, त्यस्तोमा एउटी स्टारडमको फिल्मी उडान भरिरहेकी केकीबाट त्यो किसिमको बहुआयामिक अभिनय आउला, नआउला ? तर आफैंले ब्रेक दिइरहेका सुलक्षणलाई कलाकारका रूपमा केकीले साथ पनि दिइन्, ६ महिना त सुलक्षणको प्रत्यक्ष निगरानीमा चरित्र निर्माणमा नै लागिन् । अहिले फिल्मका प्रचार सामग्रीबाट त्यसको छनक त पाइन्छ, भोलिदेखि प्रदर्शनमा आउने फिल्मको अन्तिम परीक्षा त दर्शकले पनि गर्लान् ।

व्यावसायिक पाटोलाई बिर्संदा सुलक्षणलाई फिल्म मनोरन्जनात्मक सँगसँगै विचारोत्तेजक बनेकोमा ढुक्क छन् । ‘बोक्सीको घरको बलियो पक्ष भनेकै यसको कथा र अभिनय हो जस्तो लाग्छ । त्यसैले पनि डर त्यस्तो लागेको छैन,’ प्रदर्शनको संघारमा निर्धक्क देखिएका उनी कलाकारले कथालाई, पात्रको मनोदशालाई र समाज, समयलाई कसरी बुझेको छ र त्यसलाई चित्रण गर्न सक्छ वा सक्दैन भन्ने मूल कुरा भएको बताउँछन् । ‘यो चरित्रप्रधान फिल्म भएकाले पनि लिड एक्टर केकीले केवल एउटै मात्र अभिनयको शैली पछ्याएकी छैनन् । फिल्ममा उनले चरित्रका विभिन्न अवस्थाअनुसार रियालिज्म, नेचुरालिज्म, मेलोड्रा र स्टाइलाइज्डका चार शैलीमा बखुबी काम गरेकी छन्,’ सुलक्षण थप्छन्, ‘फिल्मको अन्त्यतिर केकीको अभिनय कथा र चरित्रको मागअनुसार नेचुरालिज्मसम्म पुगेको छ । जसले गर्दा दर्शकलाई फिल्म हेर्दा अभिनयको पक्षबाट पनि त्यो विविधता मिल्छ भन्ने मेरो विश्वास हो ।’

त्यसो त केकीलाई उनकै चरित्रले स्वयंलाई मोहित पारिरहेको रहेछ । उनी आफ्नो चरित्रलाई रामायणको हनुमानसँग तुलना गर्न रुचाउँछिन् । ‘उसमा जादुयी शक्ति छ रे, उसको बाँस पिपलको रूखमा हुन्छ रे, औंसीको रात त्यो पीपललाई जरैसँग उखेलेर काशीमा डुबाउँछे रे । बिरालोको रूप धारण गरेर मान्छेले चालै नपाउने गरी कत्ति कुरा थाहा पाउन सक्छे रे । हेर्नोस् त, यो कुन हदसम्मको कल्पनाशीलता ?’ रोमाञ्चित हुँदै उनी सुनाउँछिन्, ‘एकदमै शक्तिशाली छैन त ऊ ? मैले त्यो पात्रलाई बोक्सी भएर हैन कि रामायणको हनुमान जस्तो शक्तिशाली भएर पनि सोचें । कल्पना गरौं न, यदि त्यो पात्रमा हिंसात्मक घटना, यातनाका कुरा नहुँदो हो त यो कथा कति सुन्दर हुन्थ्यो होला ?’

बोक्सीको घर कल्पनाशीलता र अति यथार्थवादको घोल पनि हो । विभिन्न वास्तविक संकलित कथाहरूमा सुलक्षणले केही आफ्ना अनुभव पनि मिसाएर नाटक बनाएका थिए । यसपटक फिल्ममा अन्य कथा जोडिएको उनको भनाइ छ । ‘नाटकपछिका यी ७/८ वर्षमा थप यथार्थपरक कथा र घटनाहरू पनि उनिएर तयार पारिएको माला हो, यो फिल्म ।’ नामकै कारण पनि बोक्सीको घर अध्यात्मवादसँग पनि नजिक छ कि जस्तो लाग्न सक्छ । तर यसलाई मूलतः यथार्थवादको कसीमा खिपेर बनाएका हुन् निर्देशकले । त्यसैकारण पनि उनले यसको पूर्ववत् क्लाइमेक्स नै फेरिदिए । 

‘क्लाइमेक्सलाई भव्य खिच्न चाहन्थें । त्यहीअनुरूप तयारी पनि थियो । त्यो दृश्य पर्दामा हेर्दा राम्रो पनि लाग्न सक्थ्यो । तर त्यसलाई मैले हटाइदिएँ,’ कारणबारे सुलक्षण भन्छन्, ‘पूरा फिल्म हामीले जसरी भन्दै आएका थियौं, वास्तविकताको कसीमा त्यो क्लाइमेक्स मेल खाँदैन भन्ने लाग्यो । अहिलेको क्लाइमेक्स मलाई पनि असाध्यै मन परेको छ ।’ केकी पनि परिवर्तन चाहनेले बोक्सीको घर हेर्नैपर्ने बताउँछिन्, ‘म त फिल्म हेर्दा बाँधिएकी छु, अब दर्शक कत्तिको आनन्दित र आन्दोलित हुनुहुन्छ, त्यो प्रतीक्षित बनेको छ ।’

युवा ग्यालरी

सुशील

Link copied successfully