कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६० वर्ष पुरानो विश्वज्योति हल अब मल्टिप्लेक्समा

काठमाडौँ — वि .सं २०१७ देखि फिल्म देखाउन सुरु गरेको विश्वज्योति हल मल्टिप्लेक्सको नयाँ स्वरुपमा खुलेको छ । सोमबार नेपाली फिल्म 'लक्काजवान' र 'जैसभाइ जोरदार' देखाउँदै लामो इतिहास बोकेको यो हल 'विश्वज्योति सिनेप्लेक्स'को रुपमा पुन: संचालनमा आएको हो ।

६० वर्ष पुरानो विश्वज्योति हल अब मल्टिप्लेक्समा

मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले रिबन काट्दै हलको उत्घाटन गरेका हुन् । ११ सय ७५ दर्शक क्षमता भएको पूरानो विश्वज्योतिलाई २०७६ मा भत्काउँदै विश्वज्योति मलमा मल्टिप्लेक्सको मोडलमा 'विश्वज्योति सिनेप्लेक्स' निर्माण थालिएको थियो ।

फिल्मकर्मी, कलाकार, वितरक, प्राविधिक अनि दर्शकसँग ६ दशक लामो सम्बन्ध बनाएको विश्वज्योति अब भने सिनेप्लेक्समा परिणत हुँदा २ पर्दामा बाँडिएको छ । ठूलो हलमा २ सय दर्शक क्षमता छ भने सानोमा ९० जना । सोमबार मदनकृष्ण श्रेष्ठसहित फिल्म निर्माण टिमले सानो हलमा 'लक्काजवान' हेर्‍यो ।

२०१५ मोहन सराफका बुवा गरिबनाथ सराफले यो हल किनेका थिए । पछि उनका छोरा मोहन सराफले हल संचालनको जिम्मेवारी पाए । विश्वज्योति कुनैबेला 'बक्स अफिस' रहेको सम्झन्छन् मोहन । 'हाम्रो हलमा फिल्म लागिसकेपछि अरु हलले त्यो फिल्मलाई ढुक्कले चलाउँथ्यो । अब धेरै दिन चल्छ भन्ने हुन्थ्यो नि त,'हल ओपनिङ गर्दै मोहनले सुनाए । त्यतिबेला 'चिनो' र 'दर्पण छायाँ'ले विश्वज्योतिमा २५ हप्ता मनायो । भुवन केसीको 'कुसुमे रुमाल' ब्लकबस्टर बन्यो । 'युगदेखि युगसम्म', 'पन्छी', 'क्रोध'ले राम्रै व्यापार गर्‍यो ।

'विश्वज्योतिमा मैले टिकट काटेर हेर्न पाइनँ । मेरो पहिलो फिल्म रणभूमिबाट म विश्वज्योतिमा प्रवेश गरेको हुँ । त्यतिबेला म फिल्मको लेखक अनि निर्देशक मात्र थिएँ । त्यतिबेला विश्वज्योतिमा फिल्म लाग्यो भने मात्र पनि मेरो फिल्म ठूलो फिल्म हो भन्ने हुन्थ्यो । मैले बनाएको १८ वटै फिल्म यहाँ लाग्यो,'निर्माता आकाश अधिकारी विश्वज्योतिसँगको आफ्नो सम्झना सुनाउँछन्,'मलाई आकाश अधिकारी भनेर चिनाएको विश्वज्योतिले नै हो । विश्वज्योतिमा फिल्म लाग्यो भने म 'ए ग्रेड'को फिल्म बनाउने फिल्मकर्मी हुँ भन्ने संदेश पुग्थ्यो । स्टारडम भनेको के हो, सेलिब्रिटी के हुँदो रहेछ भन्ने कुरा यही हलले बुझाएको हो । एकपटक क्रोध लाग्दाखेरी हलमा आउँदा म हलभित्रबाट बाहिर कसरी पुगें मलाई थाहा छैन । दर्शकले उचालेर त्यसरी बाहिर पुर्‍याउनुहुन्थ्यो ।'

४८ लाखमा बनाएको 'क्रोध'ले विश्वज्योतिबाट २२ लाख उठाएको आकाश सम्झन्छन् । 'फिल्म देशभर लाग्नै बाँकी थियो । २२ लाख भनेको त ५० प्रतिशत मैले यहीँबाट उठाइसकेको थिएँ । नेपाली फिल्मलाई माया गर्ने ठाउँ थियो यो । हिसाबकिताबमा एकदमै पारदर्शी थियो । करमा पनि एकदम खुला हुनुहुन्थ्यो,'आकाशले सुनाए,'अहिले नयाँ रुपमा खुलेको छ ।'

कुनै बेला विश्वज्योतिको हलको ढोका टिकट किन्ने पैसा नहुँदा कान थापेर डायलग मात्रै सुन्ने गरेको सम्झन्छन् हरिवंश आचार्य । 'त्यतिबेला गरिबनाथ बुवा बच्चाहरुलाई चकलेट बाँड्दै हिँड्नुहुन्थ्यो । म पनि उहाँसँग चकलेट माग्न जान्थें । म अलि ठूलै थिएँ उहाँले दिनुहुन्थेन । म उहाँको गोजीबाटै निकालेर चकलेट खान्थें । विश्वज्योतिमै मैले राँगाको मासु खान सिकें । यहाँ मोमो एकदम मिठो बन्थ्यो । त्यतिबेला फिल्म हेर्ने पैसा हुँदैन थियो,'कार्यक्रममा हरिवंशले सुनाए,'पैसा नभएपछि ढोकामा बसेर डायलग सुन्थें । काठको ढोका हुन्थ्यो । गेटकिपर नहुँदा फुत्त हलभित्र छिर्थें । फिल्म हेरुञ्जेल गेटकिपर नआइदिए हुन्थ्यो भन्दै कामना गरिबस्थें । कहिले कान निमोठेर बाहिर निकाल्नुहुन्थ्यो ।'

नेपाली फिल्म क्षेत्रका लागि विश्वज्योति महत्वपूर्ण ठाउँ रहेको बताउँछन् हरिवंश । 'विश्वज्योति हलमा लागेको फिल्म पक्कै हिट हुन्थ्यो । विश्वज्योतिमा हल पाएन भने त्यो हल चल्छ भन्ने ग्यारेन्टी हुन्थेन,'उनले भने,'विश्वज्योतिको त्यो रुप असाध्यै राम्रो लाग्थ्यो । अहिले यो रुपमा हल तयार भएको छ । पैसा नभएर विश्वज्योतिको ढोका कान थाप्ने हलमा प्रमुख अतिथिका रुपमा बोलाउनु भनेको मेरो लागि गरिबनाथ बुवाको गोजीबाट चकलेट पाएँ झैं अनुभव हो ।'

मोहनले 'विश्वज्योति सिनेप्लेक्स'को संचालनको जिम्मा आफ्ना दुई छोराहरु रोहन र रिवाजलाई हस्तान्तरण गरेको पनि कार्यक्रममा घोषणा गरे ।

प्रकाशित : जेष्ठ ३, २०७९ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?