कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुशान्त खत्रीको आरोप- 'बिना गल्ती प्रहरीले झापड हान्यो'

कान्तिपुर संवाददाता

काठमाडौँ — 'डान्सर' सुशान्त खत्रीले प्रहरीले गल्ती बिना नै आफूलाई दुर्व्यवहार गरेको बताएका छन् । हलोइन नाइट(आइतबार)मा साथीहरूसँग रमाइलो गरेर ठमेलको एक क्लबबाट बाहिर निस्कने बेला प्रहरीले झापड लगाउँदै हिरासतमा राखेको उनको भनाइ छ ।

सुशान्त खत्रीको आरोप- 'बिना गल्ती प्रहरीले झापड हान्यो'


'क्लबमा साथीहरूसँग रमाइलो गर्दै थिएँ । ठ्याक्कै क्लब बन्द हुने समय थियो । म निस्कन लागेको थिएँ । मेरो बिल तिर्न बाँकी थियो । प्रहरीले 'अब तपाईं निस्कनुपर्छ, बन्द गर्ने बेला भइसक्यो निस्किनुस्' भन्दै हुनुहुन्थ्यो । मैले 'सर मेरो बिल त्यसपछि निस्कन्छु' भनें । त्यहाँ एउटा मिसअन्डरस्ट्याण्डिङ के भयो भने एकजना भाइले मेरो बिल भइसक्यो भनिदिएछ । अर्को भाइसँग मेरो बिल बाँकी थियो,' सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उनले गुनासो गरे, 'त्यसपछि प्रहरी आउनुभयो । कठालो समातेर बाहिर घिर्सादै लैजान खोज्नुभयो । मैले 'सर मेरो गल्ती के छ' भनेर सोधेँ । यसरी तपाईँले लैजान पाउनु हुन्न भनेँ । उहाँले बेस्सरी हातमा समात्नु भएको थियो । मलाई दुखिरहेको थियो । मैले मलाई त्यसरी नसमात्न भनेँ । त्यतिखेरै एक झापड हान्नुभयो ।'

खत्रीले आफूलाई महानगरीय प्रहरी परिसर सोह्रखुट्टेमा एक घण्टा राखिएको पनि बताएका छन् । 'एक घण्टा हिरासतभित्र बसें । बिना कारण थुनामा थिएँ म । मैले फोन गर्न दिनुस् भनेर अनुरोध गरें । तर उहाँहरूले मेरो फोन दिनुभएन । कत्तिपछि नेपाल आउँछु, यस्तो व्यवहारले मन दुख्छ,' उनले भनेका छन्, '१२ वर्ष भयो, भारतमा गएर नेपालको नाम राखेको । मैले अन्त्यमा के पाएँ, झापड !' खत्रीले दुर्व्यवहारविरुद्ध अब कानुनी कदम चाल्ने सोचेको पनि बताएका छन् ।

भारतीय रियालिटी शो मार्फत् चर्चा कमाएका सुशान्त पछिल्लो समय बलिउडमा समेत काम गरिसकेका छन् ।

सुशान्तले बलिउड फिल्म ‘स्ट्रीट डान्सर थ्रीडी’ मा अभिनयसमेत गरेका छन् । भारतीय टेलिभिजन रियालिटी शो डान्स प्लस सिजन–२ को उत्कृष्ट चारमा पुग्न सफल भएका सुशान्त भारतसहित विदेशमा पनि निकै चर्चित छन् । सलमान खान, कैट्रिना कैफसहित बलिउडका चर्चित सेलिब्रिटीहरूले समेत डान्स प्लस सिजन–२ मा उनको प्रस्तुतीको प्रशंसा गरेका छन्। सुशान्तको प्रस्तुती हेरेपछि 'डान्स प्लस' शोका मुख्य निर्णायक रेमो डिसुजाले सुशान्तलाई फिल्ममा अभिनय गराउने घोषणा गरेका थिए ।

प्रकाशित : कार्तिक १५, २०७८ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्