कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सपनाको एउटा सफर

माछाको दुनियाँबाट संसारलाई चियाउने एउटा आँखीझ्याल हो नाटक ‘जिजीविषा’, आफूले पाएको भेउ अर्को पुस्तालाई दिनुपर्छ भन्ने चेतनाको यात्रा पनि हो
दीपक सापकोटा

काठमाडौँ — माछाहरूले आफ्नो कथा भन्नुपरे कसरी भन्लान् ? माछाका दृष्टिबाट मनुष्यका कर्तुत देखाउन मण्डला थिएटरमा मञ्चित नाटक ‘जिजीविषा’ ले भन्छ– मान्छेको मगजमा माछाको अनुभूति निसास्सिँदो छ । 

सपनाको एउटा सफर

बाढी–पहिरोको गर्जन ! मानिसहरूको चीत्कार ! पशुपक्षीको पुकार ! खोलाको बगरमा मानिस, पशुपक्षी र माछाका लास छरिएका छन् यत्रतत्र । प्राकृतिक प्रकोपको अत्यासलाग्दो आवाजले मञ्च गुञ्जायमान् छ । पुन्टियस माछा घाइते छ । लासहरूबीच ऊ आफन्त खोज्छ । सेती असला रगतपच्छे छिन् र आफ्नो अन्तिम सास लिइरहेकी छन् । ‘जिजीविषा’ नाटकको अन्तिम दृश्य हो यो । नाटकमा माछाहरू पात्र छन् ।

नाटक ‘जिजीविषा’ एउटा सपनाको सफर हो । एक दृश्यमा अक्वारियममा पुन्टियस पौडिरहेको छ । उसलाई त्यस अक्वारियमभन्दा बाहिर बगिरहेको खोलाको ताजा पानीमा पौडिन मन छ । ऊ पौडीका विभिन्न तौरतरिका अपनाउँछ, मज्जाले उफ्रिन्छ, तर सानो अक्वारियमबाट बाहिर जान सक्दैन । अक्वारियम बाहिरबाट उसलाई हेरिरहेकी एउटी बालिका खुसीले हाँस्छे । पुन्टियस भन्छ– ‘अरूलाई सास्ती हुँदा हाँस्दा रैछन् मान्छेहरू ।’ ‘जिजीविषा’ फराकिलो संसार चाहनेहरूको कथा हो । पुन्टियस माछा र उसका साथीहरूको एउटा लामो यात्रा–कथा हो । शनिबार साँझ पहिलोपटक मञ्चन भएको यो नाटक माछाहरूको दुनियाँबाट संसारलाई चियाउने एउटा आँखीझ्याल हो ।

एक दृश्यमा रजबाम माछा भन्छ, ‘जतिजति मान्छेको बस्ती आउँदै जान्छ, माछाको वरिपरि काल घुम्छ । हामीले तैरिएपिच्छे होस राख्नुपर्छ । कतै बल्छी, कतै बम र कतै जाल हाम्रो काल पर्खेर बसेका हुन्छन् ।’ मान्छेहरूको संसार कति भयंकर छ र उसले आफ्नै प्रजातिलाई कसरी सिध्याइरहेको छ– ‘जिजीविषा’ ले नाटकमार्फत भन्न खोजेको छ ।

हिमालको फेदमा पानी सुक्दै गरेको एउटा तलाउ छ । तलाउभित्र भ्यागुताहरू ट्वार्रट्वार्र कराएको आवाज सुनिन्छ । पात्रहरू छन्– टिकुली, बुच्चे असला, बुदुना, चुच्चे असला, जलकपुर, तिल्के असला, धामी असला, रजबाम, भ्यागुताहरू, साइबेरियन चराहरू । बिस्तारै उनीहरूको आवाजले एउटा गति समात्छ । र, त्यो गति गीत बन्छ ।

नाटकमा मान्छेहरूले माछाको रूप धरेका छन् । रंगीविरंगी अनेक माछाहरू पौडिरहेका छन् मञ्चमा । पानीभित्रको विश्व देखाउँछ, मञ्चमा प्रयोग गरिएको मल्टिमिडिया र प्रोजेक्टरको उज्यालोले । तलाउको डिलमा लहरै भ्यागुताहरू देखिन्छन् । अलि परै माछा खान पर्खिएर बसेका साइबेरियन चराहरू चनाखो भएर तलाउनजिक आउँछन् । गीत बज्छ–

अक्काशैमाथि बादल छ दूर/म गाउँछु चिर्बिर

भाग्यको रेखा चरीपञ्जैमा/लेखेको किर्मिर

उडेर आएँ घरदेशबाट जानु छ परदेश

सपना थियो सुन्दर तर भैसक्यो अब शेष

साइबेरियन चराहरू गीत गाएर आफूहरूलाई घर फर्किन ढिला भएको कथा सुनाउँछन् । भ्यागुताहरू गीत गाएर माछाहरूले भोग्नुपरेका समस्या भन्छन् । भ्यागुताहरू मधुरो भाकामा गीत गाइरहन्छन्–

उडी आयौ कहाँबाट/कहाँ जान्छौ चरी

तिमी गएपछि मेरो/मन रुन्छ चरी

हिमाली फेदको कुनै मुहानमा पानी सुक्दै गएपछि पोखरीका जलचरमा भयानक संकट उत्पन्न हुन्छ । र, उनीहरू समुद्रसम्मको यात्रा गर्छन् । उर्लंदो खोलाको प्रवाहमा माछाहरू अनौठो यात्रा गरिरहेका छन् । नाटकमा ऋतु परिवर्तन भएको छ, खोलामा बाढी आएको छ । केही माछा औधी रमाएका छन्, केही असाध्यै आत्तिएका छन् । रूखका पहेंला पातजस्ता पातला देखिने ती माछा सफा पानीमा सैसला खेलिरहेझैं लाग्छन् । जमेको पोखरीबाट बगेको पानीमा पुगेका ती रंगीविरंगी माछाहरू जीवनको प्रवाह देखेर विस्मित हुन्छन् । यहाँ किरगिजस्तानी लेखक चिनगिज आइतमातोभको एउटा लाइन सम्झना हुन्छ, ‘सबै जीवित वस्तुको आ–आफ्नै वसन्त र शरद् हुन्छ ।’

सामान्य रूपमा हेर्दा नाटक माछाहरूको कथा भए पनि यो मान्छेहरूको जीवनको कथाहरूसँग गाँसिन्छ । माछाहरूको तलाउमा पानी सुक्नु भनेको मान्छेहरूको तलाउको पानी सुक्नु हो । हाम्रो शक्ति गुम्नु हो । पर्यावरणका तत्त्व सुक्नु हो । पानी मान्छेको जीवनमा पनि नभई नहुने, माछाको जीवनमा पनि नभई नहुने ! पानीको महत्त्व पनि कहन्छ नाटकले । यात्रा गरिरहनुपर्छ, एकै ठाउँमा जमेर बस्नुहुँदैन भनेर पनि भनिरहन्छ नाटकले । नाटकको मध्यतिर एउटा प्रेरणादायी गीत गुन्जिन्छ–

आशाका ती मसाल बोकी अघिअघि बढ्दै छन्

सपनाका यात्रीहरू, हेर समयलाई जित्दै छन् ।

जिन्दगीको रहस्य पत्ता लाग्नेवाला छैन, तर त्यसको रहस्य बुझ्ने यात्रा रोक्नु हुँदैन भन्छ नाटकले । आफूले पाएको भेउ अर्को पुस्तालाई दिनुपर्छ भन्ने चेतनाको यात्रा पनि हो नाटक– जिजीविषा । तर, यात्रामा हिँडेका माछाहरूले भने अनेक संकटको सामना गर्छन् । संकट तलाउमा बस्नेहरूलाई मात्र होइन, यात्रा गर्नेहरूलाई पनि छ भन्छ माछाहरूको यात्राले । मान्छे गाउँमा संकट भोगेर सहर पस्छ, तर सहरमा झनै संकटहरू थपिएका छन् । यात्रा गरिरहेका माछाहरूलाई मानिसहरूले जाल हान्छन् । यसले भन्छ, बजारले मान्छेलाई जाल हानिरहेको छ । अक्वारियममा माछाहरू छन् । मान्छेहरू पनि अक्वारियममा बन्द छन्, देश र पासपोर्टका नाममा हामी अक्वारियममा बन्द छौं भन्ने कथा नाटकले भन्छ । नाटकमा संकट छ, संकटलाई पार लगाउने शक्ति छ, अनि नाटकको यात्रामा खराब माछा छन्, असल पनि भेटिन्छन् ।

एउटा दृश्यमा ह्याट लगाएको सुकिलो मान्छेले सुटकेसमा ल्याएर बियरको क्यान र प्लास्टिकका खोलहरू खोलामा फालिदिन्छ । बियरको क्यानलाई टोपी बनाउँछ एक माछाले । यस दृश्यले मान्छेलाई कसरी मल्टिनेसनल कम्पनीहरूले दास बनाइरहेका छन् भन्ने संकेत दिन्छ । मान्छेमा भएको विचलनको यात्रा पनि हो यो कथा । यात्राको बीचमा लुटेरा माछा मिसिन्छ, अन्य माछाहरूलाई लुट्छ । सुनौला माछाहरूले यात्रा गरिरहेका माछाहरूलाई बन्धक बनाउँछन्, कुनै बेला माछाहरू भुमरीमा पर्छन् । बगेका अण्डाहरू भुमरीभित्र होलान् भनेर खोज्छन् । ठूलो महासेर माछा भेटिन्छ, जसले सबै साना माछाहरू खान मुख बाउँछ । तर, यात्रारत माछाहरू एकजुट भएर ऊसँग संघर्ष गर्छन्– अनेक सास्ती भोग्दै समुद्र पुग्छन् । तर, सागरमा पनि माछाहरूले शान्ति भेट्दैनन् । त्यहाँ पनि संकट देख्छन्, विचलन देख्छन्, महासागर पनि अशान्त देख्छन् । तैपनि कोही समुद्रमै बस्छन् । र, कोही आफ्नै पुरानो तलाउ फर्किन्छन् । साझा उद्देश्य बोकेर गरिएको यो यात्राले मानिसकै अनेक यात्रा र संघर्षको कथा भनिरहेको हुन्छ ।

२०७७ असोजदेखि सुरु गरिएको ‘सामाजिक रूपान्तरणका लागि रंगमञ्च’ कार्यक्रमअन्तर्गत मण्डला ड्रामा स्कुलको पहिलो शैक्षिक सत्रको अन्तिम नाट्य प्रस्तुति हो यो नाटक । कलाकारहरू आकाश नेपाली, आदित्य मिश्र, अनिल कुर्मी, सुस्मिता पोख्रेल, सुस्मिता गुरागाईं, विष्णुमाया परियार, शिव परियार, सञ्जय विश्वकर्मा, समृद्धि नेपाल, सरिता कठायत, पासाङ ल्हामु शेर्पा, सुमित्रा पेहिम, हाङ ओ हाङ राई, दीक्षा चौधरी, प्रदीप ढुंगाना, नीरज चौधरीको अभिनय जीवन्त छ । सोमनाथ खनालको लेखन र राजन खतिवडाको निर्देशन रहेको नाटकमा संवाद र गीत लेखेका छन्– कवि/आख्यानकार विप्लव प्रतीकले । संगीत उत्सव बुढाथोकीको छ ।

‘जिजीविषा’ बोकेका माछाहरूले गरेको समुद्रको यात्रा नै नाटक जिजीविषा हो, जहाँ कोही नायक छैनन्, न छन् सहायक पात्र । नाटकको अन्त्यमा सेती असला माछाले प्राण त्याग गर्छिन् । धमिलो हुँदै गएको मञ्चको सेतो, नीलो र खैरो प्रकाशमा उदास पुन्टियस चिच्याएर रुन्छ । तर, निर्जन किनारमा उसको विलाप बिलाएर जान्छ । रुँदारुँदै थाकेपछि पुन्टियस खोलाको किनारमा आइपुग्छ, एकाग्र दृष्टिले खोला अनि आफू आएको बाटोतिर हेरिरहन्छ । र, जारी राख्छ आफ्नो यात्रालाई । अन्तिम गीत बज्छ–

एउटा यात्रा हो जिन्दगी

यहाँ बस्नुको के काम

एउटा खोज हो जिन्दगी

यहाँ अड्नुको के काम ?

प्रकाशित : कार्तिक ८, २०७८ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?