कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१८ दिनपछि जेलभित्र शाहरुखका बाबु-छोराको भावुक भलाकुसारी

एजेन्सी

मुम्बइ — बलिउड स्टार शाहरुख खानले आफ्ना छोरा आर्यनलाई जेलमै पुगेर भेट गरेका छन् । अक्टोबर २ मा लागूऔषध मुद्दामा पक्राउ परेपछि आर्यनलाई  शाहरुखले पहिलो पटक भेटेका हुन् ।

१८ दिनपछि जेलभित्र शाहरुखका बाबु-छोराको भावुक भलाकुसारी


बिहीबार छोरासँग भेट्न मुम्बइस्थित अर्थर रोड पुगेका शाहरुखलाई हौसला प्रदान गर्न जेल बाहिर उनका थुप्रै समर्थक भेला भएका थिए । त्यहाँ उपस्थित समर्थकहरुलाई शाहरुखले दुई हात जोडेर अभिभादन गरेका थिए । तर उनले मिडियासामु केही प्रतिक्रिया भने दिएनन् ।

इन्डिया टुडेका अनुसार जेलमा बाबु-छोराको १८ मिनेटसम्मको भेट भावुक बनेको थियो । प्रहरीले भने उनीहरुलाई गफ गर्न २० मिनेटको समय मात्रै दिएको थियो । बिहीबारको भेटभन्दा पहिले पनि उनीहरुबीच भ्वाइस कल भने भएको थियो । तर बाबु-छोराको प्रत्यक्ष भेट भने १८ दिनपछि मात्रै भएको हो ।

इन्डिया टुडेको समाचार अनुसार शाहरुखले छोरालाई जेलभित्रको खाना मन पर्छ कि पर्दैन भनेर सोधेका थिए । २३ वर्षीय आर्यनले भने त्यहाँको खाना मन नपर्ने जवाफ दिएकोसमेत समाचारमा छ । त्यसपछि शाहरुखले जेलका अधिकारीहरुसँग यदी अनुमति भए आफूले आर्यनलाई घरबाटै खाना पठाउने बताएका थिए । जेल प्रशासनको स्रोतको हवाला दिँदै इन्डिया टुडेले यसबारे समाचार लेखेको छ ।

सुरक्षागार्ड लिएर जेल पुगेका शाहरुखका लागि जेल प्रशासनलेसमेत सुरक्षाकर्मी खटाएको थियो । छोरासँगको १८ मिनेटको भलाकुसारीपछि भने शाहरुख फर्किएका थिए । छोरासँगको उनको भेटघाटलाई समर्थकहरुले प्रशंसा गर्दै आर्यनप्रति पनि सहानूभुति प्रकट गरेका छन् । आर्यनलाई भेट्न पुगेका शाहरुखको समर्थनमा ट्विटरमा उनका प्रशंसकले ह्यासट्याग नै चलाए ।

गत अक्टोबर २ मा मुम्बइस्थित समुद्री किनारमा आर्यनसहित ८ जना लागूऔषध मुद्दामा पक्राउ परेका थिए । मुम्बइ प्रहरीको लागूऔषध नियन्त्रण शाखाले यस मुद्दामा जम्मा २० जनालाई पक्राउ गरिसकेको छ । शाहरुखका समर्थकहरुले भने आर्यन निर्दोष रहेको तर उनलाई फसाइएको भन्दै प्रहरीको आलोचना गर्दैआएका छन् ।


प्रकाशित : कार्तिक ५, २०७८ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?