ठगी मुद्दामा बलिउड अभिनेत्री नोरा र ज्याकलिनमाथि अनुसन्धान- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठगी मुद्दामा बलिउड अभिनेत्री नोरा र ज्याकलिनमाथि अनुसन्धान

एजेन्सी

नयाँदिल्ली — बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही र जेकलिन फर्नान्डेजमाथि ठगी मुद्दामा अनुसन्धान हुने भएको छ । उनीहरुलाई भ्रष्टाचारविरुद्ध सरकारी निकाय प्रवर्तन निर्देशनालयले उनीहरुलाई अनुसन्धानका लागि बोलाएको छ ।

नोरा हालै निर्देशनालयको कार्यालयमा अनुसन्धानका लागि जँदै गरेको तस्बिर समेत सार्वजनिक भएको छ । जेकलिन भने शुक्रबार मात्रै कार्यालयमा उपस्थित हुने बताइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार यसअघि ठगी मुद्दामा पक्राउ परेका कलाकार सुकेश चन्द्रशेखर र लिना पलसँग फतेही र फर्नान्डेजको सम्बन्ध हुनसक्ने भन्दै अनुसन्धान गर्न थालिएको हो ।

चन्द्रशेखर र लिना यसअघि नै २०० करोड ठगी र फिरौती मुद्दामा पक्राउ परिसकेका छन् । सोही मुद्दामा अभिनेत्रीद्वयको हात हुनसक्ने आशंका गर्दै उनीहरुमाथि पनि अनुसन्धान गर्न थालिएको हो ।

चन्द्रशेखर र लिनालाई फोर्टिस हेल्थकेयरका प्रमोटर शिविन्दर सिहंको परिवारबाट करिब २०० करोड रुपैयाँ ठगी गरेको आरोपमा दिल्ली प्रहरीले गिरफ्तार गरेको थियो । चन्द्रशेखर यसअघि पनि अन्य थप्रै मुद्दामा मुछिएका छन् । १७ वर्षको उमेरदेखि नै आपराधिक गतिविधमा सक्रिय उनीमाथि दर्जनौ मुद्दा परेका छन् । उनलाई हाल नयाँदिल्लीस्थित रोहिणी जेलमा राखिएको छ ।

प्रकाशित : आश्विन २८, २०७८ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्

हराएको बाटो

विकसित भनाउँदाहरू रैथाने चिजबिजको खोजीमा छन् । रैथाने/अर्ग्यानिक कृषि, खाना, बाटो खोज्दै हिँडेका छन् । हामी भने आँफैसित भएका अर्ग्यानिक कृषि, खानपान, बाटाघाटा मासेर गेडै नलाग्ने मोन्सान्टो मकै, ताकतै नदिने चाउचाउ, प्रकृतिनाशक डोजरे सडकको पछि लागेका छौं । अनि हामीलाई नपरे विपद् कसलाई पर्छ ? बाटो हराइसक्यो । बाटै हराएको देशको विकास कसरी होला ? हामी ‘राडरलेस’ जहाजजस्तो भएका छौं ।  
ध्रुव सिम्खडा

पहिलो बास—मदानपुर, नुवाकोट ।२०४७ साल पुस महिना । काठमाडौं ठण्डीले कठ्याङ्ग्रिएको थियो । स्कुल, कलेजमा मीनपचासको alदा सुरू हुँदै थियो । मैले घरतिर लाग्ने सोच बनाएँ । 

१३ गते बिहानै नयाँबजार डेराबाट निस्केर बालाजुतिर लागें । मनमा एक्कासि हिँडेरै त्रिशुली पुग्ने भूत सवार भयो । सानैमा बाजेले ‘नेपाल’ ल्याउँदा तीन दिन लगाएर काठमाडौं आएको सम्झना भयो ।

विष्णुमतीको पुल तरेर ‘बीआइडी गेट’, बाइसधारा हुँदै रानीवनको काखमा पुगें । त्यहाँसम्म त मानिसहरू भेटिइरहे । जब रानीवनको फेदी हुँदै सडकको छेवैछेउ हिंड्न थाले, कहिलेकाहीँ गाडीहरू आउजाउ गर्नेबाहेक मानिसहरू भने भेटिंदैनथे । मेरा पाइलाहरू पश्चिमतिर बढ्दै थिए ।

झोलामा एकजोर लुगा, मञ्जन, टुथब्रस, गम्छा राखेर ‘जहाँ पुगिएला त्यहीँ आगो फुकिएला’ भन्ने सोचले हिँड्दै थिएँ । चारभञ्ज्याङमध्येको मुड्खुभञ्ज्याङ जसलाई ‘पाँचमाने’ पनि भनिन्छ त्यहीँ बिहानको खाना खाइवरी त्रिशुली जाने सडक छेउछेवै अघि बढेँ ।

४ बजेतिर रानीपौवा पुगें । त्रिशुली–काठमाडौं आउँदा–जाँदा रानीपौवामा जेरी–स्वारी, हलुवा–पुरी र चना–केराउको तात्तातो झोल तरकारी खाएको सम्झना ताजै छ । त्यसको १५ वर्षअघि बाजे र म बरबन्दीको उकालो चढेर रानीपौवा उक्लेका थियौं । सानैमा बाजेसँग ‘नेपाल’ आउँदा रानीपौवाबाटै पहिलोपटक गाडी चढेको थिएँ । जताततै बरबन्दीका मूलैमूला । खाजा खाएर रानीपौवादेखि अलिपर बाराहीस्थानबाट मदानपुरतिर ओरालो झरेँ । साँझको बास त्यहीँ बसें । साँझको पाहुना भएर होला घरबेटीले राम्रै मान गरे । खाना खुवाइवरी बार्दलीमा सुताए ।

जङ्गबहादुरले टिपाएको पश्चिमतिरको बाटोमा पनि काठमाडौंदेखि चतुरआलेको पौवासम्म ६ कोस हिँडेर पहिलो बास बस्नुपर्ने उल्लेख गरिएको छ । म पनि चतुरआले नजिकै मदानपुरमा बास बस्न पुगें ।

भोलिपल्ट बिहान मदानपुरबाट ओरालो झरें, तादी खोला तरें । शेराको फाँट छिचोलेर गङ्गटेबजार पुगें । ११ बजिसकेछ, खाना खाएँ । अनि चुवाडी, बट्टारबजार हुँदै अघि बढें । पुसको पारिलो घामको राप । जिउ मज्जैले तात्यो । मानिसको चहलपहल बढी नै थियो । ढुङ्गे हुँदै त्रिशुली पुल तरेर त्रिशुलीबजारमा बास बस्ने निधो गरें ।

दोस्रो बास—रञ्जित होटल, त्रिशुलीबजार

पुलनजिकैको रञ्जित होटलमा बसेँ । टन्न खाएर सफा कोठामा सुत्न पाएकाले होला पुसका लामा र चीसा राता पनि काटेको पत्तै भएन । कति चाँडै उज्यालो भएछ । बाहिर सडकमा मानिसहरूको खैलाबैला सुनिए पनि डम्म कुहिरो लागेकाले केही देखिँदैनथियो । उठो । चिया पिएँ । र, पावरहाउसको उकालो लागो ।

जङ्गबहादुरको बाटाको तेरिजअनुसार दोस्रो बास ९ कोश हिँडेर नुवाकोटमा बस्नुपर्ने उल्लेख गरिएको छ । त्यो नुवाकोट भन्नाले साततले दरबार आसपास हुनुपर्छ । म भने त्रिशुलीबजारमै पुगेर दोस्रो बास बसेँ । दूरीका हिसाबले करिब उत्ति नै हो ।

बजारमाथिको पावरहाउसको डील हुँदै बगैँचा छिरें । अनि हात्तीगौंडा पुगें । बगुवाबजारको मुखैमा रहेको यो चोकलाई किन हात्तीगौंडा भनिएको होला ? चिया र दुनोट खाएँ । त्यसपछि बगुवाबजारको छउछेवै हिडें । धेरैचोटी बास बसेको सडक छेवैको राना भिनाजुको घर हुँदै पहरोछेडेभित्र छिरें ।

के हो ‘पहरोछेडे’ ? तल बगुवाखोला, भित्तामा करिब ४ं०/४५ मिटर पहरो खोपेर बाटो बनाइएको थियो । स्थानीयहरू यसलाई ‘कुलछेडी’ पनि भन्छन् । पहरोछेडेबारे हात्तीगौंडानिवासी मित्र उमङ्ग शाक्यले यस्तो सुनेका रहेछन्, ‘बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नुवाकोट हान्दा आफ्ना सैन्यहरूलाई बगुवाखोला तर्न सजिलो होस् भनी पहरो छेडेर अघि बढ्न बाटो बनाएका थिए रे । वर्षायाममा बगुवाखोलाको भेल तर्न सकिंदैन । नुवाकोटमाथिको आक्रमण पनि वर्षायाममै भएकोले इतिहासकारहरू पहरोछेडे पृथ्वीनारायणले नै बनाउन लगाएको मान्छन् । अझै पनि बूढापाकाहरू ‘निहुँ कुलो खन्या दाउ नुवाकोट हान्या’ भनी पृथ्वीनारायणले भनेको कुरा सुनाउँछन् ।

अहिले नवविकासवादीहरूले पहरोछेडेमा डोजर लगाएकोले छेउतिरको एउटा भागमात्र बाँकी छ । यता काठमाडौंमा पनि कपर्दार भोटू पाँडेले बनाएको सोह्रखुट्टे पाटी मासिदिए । यी दुवै सम्पदा बचाउन सकेको भए पर्यटकहरू तान्न र ऐतिहासिक सम्पदा जोगाउन सकिने थियो ।

राङ्सेबजार पुग्दा ११ बजिसकेको थियो । खाना खान होटलभित्र छिरें । चित्राफुँगाको भारी बोकेका एकजना लेकाली दाइले ‘भात पाइन्छ’ भनी सोधे । साहुनीले ‘छैन’ भन्ने जवाफ फर्काएपछि उनी अर्को होटलतिर लागे । त्यस होटलमा काम गर्ने केटालाई ती साहुनीले भनिन्, ‘यिनीहरू एकैजनाले ३/४ जनाले खाने भात खाइदिन्छन् । भात छ भनेर सोधे भने छैन भनिदिनू ।’ धन्य, मलाई भने त्यस केटाले खन्डे थालमा भात ल्याएर टेबुलमा राखिदियो । हुनत तिनताक धेरै बटुवा रूखको फेद, धारा, गाउँबस्ती, बासको आसपास आँफैले ल्याएको सातुसामल पकाएर खाने गर्थे ।

कागुने, डेउडी, हुलाकघर हुँदै अघि बढ्दै गर्दा बाटामा मानिसहरू कोही पश्चिमतिर लम्किरहेका हुन्थे भने कोही पूर्वतिर । मध्यान्ह काब्रेबास पुगेर पहिले बाटोछेउको बान्नाको चिप्लेटीमाथि टुसुक्क बसेँ । नजिकैको होटलको भित्तामा झुन्डिएको जापानीज पानासोनिक रेडियोबाट गणेश रसिकको स्वरमा ‘घरबेटी नानी आागनीमा देऊन मलाई बास, परदेशी दाजु आागनीमा दिनुहुन्न बास’ बोलको गीत गुञ्जिरहेको थियो । दही–चिउरा खाएँ । निकै नाम चलेको काब्रेबास । साइँली–माइलीको भट्टी । उहिल्यै राजा महेन्द्र पनि बास बसेका रे । मैले भने साइँली–माइली कस्ता थिए देख्न पाइन । देख्नेहरूबाट सुनेअनुसार लामा–लामा केश भएका दिदी–बहिनी थिए रे । मिजासिला । बटुवाको निकै मानमनितो गर्थे रे ।

त्यसलाई किन भट्टी भनेका होलान् ? मनमा खुल्दुली पैदा भयो । रक्सी बेच्ने झुप्रोलाई भट्टी भनेको त थाहा थियो । तर बटुवालाई भात खुवाउने, दही–चिउरा खुवाउने होटललाई पनि किन भट्टी भनेका होलान् ? तर त्यसको गुह्य त अर्कै रहेछ । होटलको पछाडिपट्टि हन्डीमा रक्सी बनाइँदो रहेछ । त्यसपछि अलिबेर हिँडेर ढुङ्गैढुङ्गा छापेको उकालो उक्लेपछि पुगेंें–सामरीभञ्ज्याङ ।

तेस्रो बास–सामरीभञ्ज्याङ, नुवाकोट

धेरैपटक बास बसेको भए पनि सामरी मलाई त्यति मन पर्दैनथ्यो । धेरै पहिले त्यहाँ बास बसेका बेला एकजना जँड्याहाले रातभरि सुत्न दिएको थिएन । त्यसैले सकभर त्यहाँ बास बस्न नपरे हुन्थ्यो जस्तो लाग्थ्यो । भनेर के गर्नु ? रातपरेपछि बास नबसे अर्को बास पुग्न मुस्किल हुन्थ्यो । जे जस्तो भए पनि बस्नै पर्‍यो । त्यो साँझ पनि त्यहीँको एउटा होटलमा बस्ने निधो गरेर छिरें । हुनत त्यहाँ प्रहरी थाना, हुलाकघर पनि थियो । घरहरू पनि बाक्लै थिए ।

पुस १५ । काठमाडौंदेखि पैदल हिँड्ने लहड नगरेको भए घर पुगिसकेको हुनेथिएँ । आमाले अनदीको लट्टे पकाउनुहुन्थ्यो । १५ पुस मनाइन्थ्यो । तर त्यो रात सामरीमा बास बस्नु पर्‍यो । खाना खाएर सुत्न त सुतो । राती अबेरसम्म पनि चीसोले आँखै जोडिएन । जाडोको रात, सामरीको बास । उज्यालो हुनेबेला भुसुक्क निदाएछु ।

जङ्गबहादुरको तेरिजमा पनि तेस्रो बास सामरीमै उल्लेख गरिएको छ । र, मेरो पनि तेस्रो बास त्यहीँ पर्नुचाहिँ संयोग मात्रै हो ।

उठ्दा त ८ बजिसकेछ । बटुवाहरू सुतेको ठाउँ छाडेर अघि नै हिँडिसकेछन् । हस्याङ्फस्याङ् गर्दै उठेँ र लागें बाटो । अलि पर बाटो छेउको वनेलीतिर पसेर बिहानको नित्यकर्म गरें । ढुङ्गा छापेको सिँढी ओर्लिए । तीँदू भट्टी, एक्ले चौतारा हुँदै भर्‍याङभुरूङफेदीतिरको बाटामा डाँक बोक्नेदेखि थुप्रै बटुवाहरू आवतजावत गरिरहेका भेटिए । बिहानको चिया, बिस्कुट तीँदू भट्टीमा खाएँ । सामरीबाट झरेदेखि नै टक्सार र रिमाल्डी गाउाहरू नजरमा पर्न थाले । भर्‍याङभुरुङफेदी पुग्दा १२ बज्न लागेकोले खाना खाए । र, केहीबेर थकाइ मेटो । किनकि, भर्‍याङभुरूङको ठाडो उकालो उक्लनु थियो ।

हिँडेदेखि ठाउँ–ठाउँमा आकाशवाणी (आवा) को पोल र तारहरू देखिन्थे । मानिसले भेट्न नसक्नेगरी टाँगिएका ती तारमा कसरी कुरा गर्ने होला ? मनमा कौतूहल हुन्थ्यो । एक/डेढ घण्टाको उकालो लागें । बडो ठाडो रातोमाटोको उकालो । कहिले छेउकुनाको ढुङ्गामा टुसुक्क बस्दै, पसिना पुछ्दै नाकै छुने त्यो उकालो पार गर्नु नै थियो । पारिपट्टि रिमाल्डी र तल धादिङबेसीतिर बगेको थोपलखोला । उकालोको थाप्लामा रहेको थर्पू भञ्ज्याङ पुगेपछि भने आनन्दको सास फेरें ।

घरबाट ‘नेपाल’ आउँदाजाँदा धेरैपटक बास बसेको, खाना खाएको थर्पूबजार खासै नौलो थिएन । तर त्यहाँ पुगेपछि पश्चिम लाग्ने र मेरो घरतिर लाग्ने बाटो छुट्टिन्थ्यो, छुट्टिन्छ । घर जान भोग्टेनी, धाराधिरी, टीकाधुम, चौतारा (दार्जिलिङे मास्टरको पसल) बमबहादुर लामा (गाउँफर्कका अध्यक्ष) को गाउा, ताम्दुमाने शेर्पाबाजेको घर–कर्सा हुँदै मार्पाक निस्केर बाटो तय गर्नुपर्थ्यो । पश्चिमतिर जाने भए १५ कोस, कटुञ्जे हुँदै चरङ्गेफेदी झर्नु पर्थ्यो ।

के मनलाग्यो कुन्नि ! थर्पू पुगेपछि काठमाडौंबाट घर जान हिँडेका मेरा पाइताला एकाएक १५ कोसेतिर अघि बढे । हनुमानढोकादेखि १५ कोसमा पर्ने भएकोले त्यस ठाउँको नामै १५ कोसे भएको रहेछ । सााझ कटुञ्जेबजार पुगें । चौथो बास भने म जङ्गबहादुरले उल्लेख गरेको भन्दा अलि वरै कटुञ्जेबजारमा बसेँ । जबकि जङ्गबहादुरको तेरिजअनुसार काठमाडाौदेखि १७ कोस हिाडेर चरङ्ग्या (चरङ्गे) पुगेपछि चौथो बास बस्नु पर्छ ।

चौथो बास–कटुञ्जेबजार, धादिङ

मित्र रामकृष्ण मानन्धरको घरमा बास बसेँ । बजार छिर्नासाथ देखियो गणेशको मन्दिर । खानेपानीको एकदम दुःख । भोलिपल्ट बिहान कुकुरधारा हुँदै व्यार्थोकको ओरालो झरें । यतैकतै १७ कोसको शिलालेख थियो भनी प्राध्यापक मोहनप्रसाद तिमल्सेनाले भनेको सम्झन्छु । जलजले फाँट (जहाँ धेरै पहिले खेत रोप्दा जोतिरहेको हलै गोरू गाडिएर बेपत्ता भएको थियो रे !) को अलि तल थियो चरङ्गेबजार । सानो बजार । दुईतिर पसल र घरहरू । बीचमा ढुङ्गा छापेको कुलो, मान्छे हिँड्ने बाटो पनि त्यही । हाँसका बथानका बथान । गणेशको मन्दिर । जहाँ नेवारको बस्ती त्यहाँ गणेशको मन्दिर । आमासित मामाघर जाँदाआउँदा चरङ्गेमा खाजा बिस्कुट, सुन्तलाकेस्रे चकलेट, खिप र गुलेली किनेको झल्झली सम्झनामा आयो । बिहानको खान त्यहीँ खाए । ४ दिनमा काठमाडौंदेखि १७ कोस हिँडिसकेको थिएँ । बाटामा भेटिएका बूढापाकाहरूसित भलाकुसारी हुन्थ्यो । तीमध्ये कोहीकोहीले राजा महेन्द्र पनि यही बाटो पश्चिम गएको सुनाए । पृथ्वीनारायणले नुवाकोट हान्दा हिँडेको बाटो हो यो ।

त्यसपछि आँखूसाँघुको पुल तरेर सुकौरा फाँटफाँटै पश्तिमतिर अघि बढें । यसअघि पनि धेरै पटक हिँडिसकेको बाटो भएकोले धेरै नौलो थिएन । पुसको महिना, स्यु–स्यु जाडो । बाटाका दुवैतिरका खेतमा वनजस्तै ऊखुघारी । केही वर्षअघि सल्यानबेंसी जात्रा जाँदा किनेको कालो ऊखुको लाँक्रा । पुसको दिन फासफुस भनेझैं । हिँड्दाहिँड्दै दिउँसो हँसिया पसल पुगें । धेरै हाँस पालिने भएकाले आँखूकिनारको त्यो बजारलाई हँसिया पसल भनिएको रे । खोलापारि भार्माले ज्यामरूङ त्यसको माथि अलिअलि देखिने ‘दमै चौतारा’ । हाम्रा दिदीबहिनीहरूले घर–माइती गर्दा चुरा, पोते, धागोलगायतका ऐवादीका सामान किन्ने बजार । बजारको कुनापट्टिको फााटस्थित मन्दिरमा त्रिपुरासुन्दरी माई बस्छिन्, छ महिना सल्यानकोटमा ६ महिना तल फाँटमा । अहिले त हँसिया पसल उजाडिएको छ । हेपिङ खोला दोभानदेखि सडक सुकौराको कुनाकुनै उत्तरतिर गएको छ ।

गन्तव्य स्पष्ट नभएको यात्रीलाई त्यस दिन आरूघाट पुग्नु थियो । बीचमा सल्यानटार पर्छ । सानो छँदा नानीबा दिदीको घर बुङ्कोट जाँदा सल्यानटारबाट पालुङ्टार झरेर बुढीगण्डकीमा डुङ्गा तरेको याद आयो । त्यो बाटो क्यामुनटार हुँदै बुङ्कोट गएको छु । बोर्लाङ उक्लेर अश्राङ पनि पुगेको छु । जब म त्यहाँ पुग्छु अनि सम्झन्छु—प्रेमध्वज प्रधानको स्वरः ‘यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो मगमग चल्यो वासना, ...पालुङ्टारको गोरूले सल्यान गाउँको बीऊ खायो, कान्छी ल्याउँदा जेठी जिल खायो ।’

सल्यानटार नेपालकै सम्भवतः सबैभन्दा ठूलो टार । पानीको एकदमै अभाव । लहरै आँपका पंक्ति मिलेका बगैंचा । रातो माटो । मासका लागि प्रसिद्ध । अहिले त्यहाँ सडक बनेको छ । गाडी गुड्छन् । तर मलाई भने त्यतिबेलै सल्यानटारमा साइकल चलाउने धोको थियो । सल्यानटारको आँपघारी भित्रभित्र साइकल कुदाउने चाहना आज पनि पूरा भएको छैन । सल्यानटारलाई ‘साइकलटार’ बनाउन पाएको भए यसको अर्को पहिचान पनि थपिने थियो कि ? जे होस् त्यस दिन म सल्यानटारको लमतन्न र फराकिलो बाटो पार गरेर सम्साँझै आरूघाटबजार पुगें । एकैछिन गणेशमान साहुको पसलमा बसेँ । निकै चल्तीको पसल । पठित, निकै मिजासिला गणेशमानसित एकछिन कुराकानी गरेर बूढीगण्डकीको पुल तरें ।

पाँचौ बास–आरूघाट

पाँचौँ बास, जङ्गबहादुरको बाटाको तेरिजअनुसार भने २५ कोस दूरीमा पर्ने गोरखाआश्रममा बस्नुपर्ने हुन्छ । तर म आरूघाटमा बसेँ । बिहान बुढीगण्डकीको आसपास कुहिरो लागेकोले डम्मै थियो । बाटामा बटुवाहरू सल्याङबल्याङ गरेको मात्र सुनिन्थ्यो । नजिकै पुगेपछिमात्र देखिन्थ्यो । आरूघाटबजारबाट अघि बढ्दै गर्दा मेरो सामुन्ने एउटा चुनौती आइपर्‍यो–मजिन्थोकको उकालो लाग्ने कि मोती खोलाखोलै ? त्यसअघि पनि हिँडिसकेको बाटो भएकाले मोतीखोलाको अन्दरोबन्दरो बाटोभन्दा मजिन्थोककै उकालो लागें ।

डान्डाडै चौतरामञ्जङ, ताराखसे (तारा खसेको ठाउँमा गहिरो गर्‍हो छ), कयापानी हुँदै अबेर खान्चोक भञ्ज्याङ पुगेर खाना खाए । एकछिन आराम गरें । त्यहाँबाट पनि दुइटा बाटा फाटिएका छन्–बगुवा, फिनाम हुँदै गोरखाबजार निस्कने कि मसेल, चोरकाटे, छेबेटार, नयाँसाँघु हुँदै गोरखाबजार पुग्ने ? बगुवातिरकै बाटो लागें । त्यो रात गोरखामै बसेँ । जबकि जङ्गबहादुरको तेरिजअनुसारको छैटौं बास काठमाडौंदेखि ३१ कोस पश्चिमको लुइँटेलमा हुनुपर्थ्यो । म भने त्यता नलागी पुस १८ गते गोरखाबजारबाट बस चढेर काठमाडौं फर्के ।

..............................................................................................................................

यसपालि राजेन्द्र दाहालद्वारा सम्पादित कमल दीक्षितको ‘जङ्गबहादुरको बेलाइती कापी’ पढ्ने मेसो मिल्यो । निकै चाख लाग्दा ऐतिहासिक र रणनीतिक महत्वका विषय समेटिएको यस किताबमा जङ्गबहादुरले नेपाल (अहिलेको काठमाडौं) बाट पूर्व, पश्चिम र उत्तर (भोट) जान कुनकुन र कस्ताकस्ता बाटो हिंड्नु पर्छ ? कहाँकहाँ बास बस्नु पर्छ भनेर विस्तृत बयान गरेको तेरिज छ । ल्हासा जाने अनि पूर्व र पश्चिम जाने तीनवटा रणनीतिक बाटाहरूको यथार्थ विवरण छ, यसमा ।

किताबको पहिलो पाठ ‘चतुराले हुँदै बद्री–केदारतिर’ पढ्दा मैले हिँडेकै बाटोबारे उल्लेख गरेको पाएँ । यसले मनमा झनै कौतूहल जाग्यो । किताब पढिसक्नासाथ ३० वर्षअघि आफूले हिँडेको स्मरणसहित जङ्गबहादुरले बताएको नेपालदेखि श्रीबद्री–केदारसम्मपुग्ने बाटोबारे पाठकलाई बताउन मनासिव ठानेर यो यात्रा विवरण लेखेको हुँ ।

जङ्गबहादुरकालीन यो ‘लिटरेचर रिभ्यू’ चन्द्रशमशेरबाट उनकै कान्छा सुपुत्र मदनशमशेरकहाँ आइपुगेको र कमलमणिले बुइँगलमा भेट्टाएको दस्तावेजको जगेर्ना पो रहेछ ।

नुवाकोट, चतुरालेको पौवादेखि भारत, श्रीकेदारसम्म ६७ बास बसेर ३५६ कोस पार गर्नुपर्ने यात्रा विवरण जङ्गबहादुरको बेलाइती कापीमा उल्लेख छ । यो चाहिँ बद्री–केदारसम्म जाने बासको तेरिज भयो ।

बैतडीको झुलाघाटसम्म पुग्ने दुइटा बाटाहरूको वर्णन दिइएको छ । घुमाउरो बाटो गए ४२ स्थानमा बास बस्नुपर्ने र २०४ कोस पार गर्नुपर्दो रहेछ भने अलि सिधै बाटो गए १९४ कोस हिँड्नुपर्दो रहेछ । अहिले बस चढेर काठमाडौंदेखि बैतडीसम्म पुग्न करिब १ हजार किलोमिटर पार गर्नुपर्छ ।

पछिल्लो समय नुवाकोट, धादिङ र गोरखाका विभिन्न स्थानमा पुग्दा ३० वर्षअघि हिाडेको त्यो बाटो पूरै हराइसकेको छ । यसो कतै पाटी–पौवाका खण्डहरहरू देखिए पनि आ.वा. को कुनै पोल भेटिँदैन ।

हिजोका बजारहरू सुनसान भएका छन् । मध्यपहाडी लोकमार्गको निर्माणसँगै नयाँबस्ती र बजारहरू गुल्जार भएका छन् । उकाली र ओरालीहरू कतै वनमा परिणत भएका छन्, कतै डोजरले सम्याइएका छन् । चौतारी र भञ्ज्याङहरू खारेर बस बिसौनी बनाइएका छन् । बाटाका चीसोपानीका कुवा र धाराहरू पुरिएका छन् ।

प्रकृतिको चरम दोहनले मानवीय सङ्कट बढ्दो छ । पूर्वी ओलाङ्चुङ्गोलादेखि पश्चिमको कालापानीसम्म बाढीपहिराको चपेटमा छ । गाउँबस्तीहरू बगेका छन् । मधेस जलमग्न हुने भयले आक्रान्त छ ।

लापरवाहीपूर्ण योजनाका कारण हाम्रा पहाड र गाउाबस्तीहरू बाढीपहिरोको चपेटामा परेका छन् । योजना बनाउने ठाउामा पुगेका नयाा जमानाका नयाा अनुहारहरूले यसबारे सोच्लान् कि ?

नेपालबाट पश्चिम जाने पृथ्वीनारायण शाहकालीन, जङ्गबहादुरले विस्तृत सर्भे गरेको यो बाटोलाई बचाएर ‘ट्रेल रूट’ को रूपमा चलाउन सकेको भए सायद् विदेशी पर्यटकहरूले लामो पैदलयात्रा गर्न नेपाल सम्झन्थे कि ?

यहाँबाट गोरखा, बन्दीपुर, पोखरा, पाल्पा, जुम्ला, दुल्लु, सल्यान, रूकुम, बझाङ, झुलाघाट (नेपाल–भारत) सीमासम्म र त्यसपारि श्रीबद्री–केदारसम्मको ६७ बासको खण्डेयात्रा वा सम्पूर्णयात्रा पनि गराउन सकिन्थ्यो पर्यटकहरूलाई ।

पूर्व र उत्तर (भोट/ल्हासा/तिब्बत) जान चाहनेलाई अलगअलग ‘ट्रेल ट्रेक’ गराउन सक्नेथियौं । आज हराएका यी ऐतिहासिक र रणनीतिक बाटाहरू आम्दानीका स्रोत बन्न सक्थे ।

सयौँ वर्षमा आवश्यकताले जन्माएका यस्ता गौरवका बाटा हामीले ४ दशकमै तहसनहस पार्‍यौं । आफ्नो खुट्टामा आाफैले बञ्चरो हान्यौं । पछुताउनुबाहेक केही छैन । अब हामीसित आधुनिक चिल्ला मार्ग र राजमार्गहरू छन् । गन्तव्यमा पुग्न सहज भएको छ । तर मौलिकता नामेट भएको छ ।

विकसित भनाउादाहरू रैथाने चिजबिजको खोजीमा छन् । रैथाने/अर्ग्यानिक कृषि, खाना, बाटो खोज्दै हिाडेका छन् । हामी भने आाफैसित भएका अर्ग्यानिक कृषि, खानपान, बाटाघाटा मासेर गेडै नलाग्ने मोन्सान्टो मकै, ताकतै नदिने चाउचाउ, प्रकृति नासक डोजरे सडकको पछि लागेका छौं । अनि हामीलाई नपरे विपद् कसलाई पर्छ ? बाटो हराइसक्यो । बाटै हराएको देशको विकास कसरी होला ? हामी ‘राडरलेस’ जहाजजस्तो भएका छौं । सबैले सोच्ने कि ?

प्रकाशित : आश्विन २८, २०७८ १३:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×