चर्चित र विवादित दसैं गीत, जुन बज्‍नासाथ रुन्छ स्रष्टाको मन- मनोरञ्जन - कान्तिपुर समाचार

चर्चित र विवादित दसैं गीत, जुन बज्‍नासाथ रुन्छ स्रष्टाको मन

रचनाकार भन्छन् : रोयल्टी पाइनँ
रीना मोक्तान

काठमाडौँ — 'वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो, नेपालीजनको महान पर्व आँगनमा आइपुग्यो...' 'मुगलान' फिल्मको यो गीत बज्न थालेपछि धेरैलाई दसैं आएको आभास हुन्छ । दसैंमा बज्ने धेरै गीतहरुमध्ये यो अग्रपंक्तिमै पर्छ । त्यसैले पनि दसैंमा यो गीत नसुन्ने कमै हुन्छन् । दसैंसँगै यो गीतले पनि दर्शकलाई छुट्टै उमंग दिन्छ । उत्साह थपिदिन्छ ।

तर, आफूलाई यो गीतको रचनाकार दाबी गर्ने लोकनाथ सापकोटालाई भने गीत बजेको सुन्नासाथ मन दुख्छ । यो गीत सुन्नै नपरोस् भन्ने लाग्छ उनलाई । 'हरेक दसैंमा यो गीत बज्छ । तर यो गीत सुन्दा मलाई धेरै दु:ख लाग्छ । जब-जब यो गीत बज्छ मलाई भित्रैदेखि रुन मन लाग्छ । त्यो गीतले मलाई धेरै मारमा पारेको छ । मलाई यो गीत नबजाए हुन्थ्यो भन्ने लाग्छ,' रचनाकार लोकनाथ भावुक सुनिए ।

खासमा संगीत क्षेत्रमा बामे सर्दै गर्दा उनले यो गीत रेकर्ड गराएको दाबी गर्छन् । ०५७/५८ तिरै रेकर्ड गरिएको यस गीतलाई रेडियो नेपाल क्षेत्रीय प्रशारण पोखराबाट बजाएका पनि थिए । गीतमा तेजेन्द्र गुरुङ, कृष्ण परियार र रचानाकार लोकनाथकै स्वर थियो । गीतमा उनकै संगीत थियो । त्यतिबेला लोकनाथ पोखरा क्याम्पस पढ्थे ।

०५८/५९ तिर लोकनाथ बिन्दबासिनी चलचित्र मन्दिरमा लेखापालको काम गर्थे । त्यही क्रममा 'पाहुना' फिल्मको सुटिङका लागि पोखरामा आएका निर्देशक शिव रेग्मीसँग उनको भेट भयो । उनले शिवलाई यो गीत सुनाए । शिवले फिल्ममा गीत राख्ने कुरा गरेपछि लोकनाथ उत्साहित भए । निर्देशक रेग्मीले उनलाई फिल्मको परिवेश अनुसार गीतमा केही शब्दहरु थपघट गर्न लगाए । उनका अनुसार रेग्मीले 'कुनै घरमा दसैं राम्रोसँग मनाइन्छ, कुनै घर पैसा हुँदैन, दु:ख हुन्छ' भन्ने सन्दर्भ जोड्न लगाएका थिए । उनले त्यसै गरिदिए । अनि मेलोडी र शब्द लेखेर दिए । त्यसपछि बम्बईमा गीतको रेकर्डिङ भयो, उदित नारायण झा र दीपा झाको आवाजमा ।

२०६० मा फिल्म प्रदर्शनमा आयो । 'दसैं आयो'बोलको यो गीत दर्शकको मुखैमा झुण्डियो । अत्याधीकले गीतलाई मन पराए । तर फिल्ममा आफ्नो नाम नदेखेपछि लोकनाथ छटपटिए । न रचनामा न त संगीतमा, कतै नाम राखिएको भेटेनन् । उनले निर्देशक रेग्मीलाई आफ्नो नाम फिल्ममा नरहेको जानकारी गराएपछि रचनामा उनको नाम राखेर गीत बजारमा पठाइयो । निर्देशक कुमार बस्नेत, नारायण रायमाझीको उपस्थितिमा निर्देशक रेग्मीसँग सम्झौता भएपछि उनको नाम राखिएको लोकनाथ दाबी गर्छन् । संगीतमा आफ्नो नाम नरहेकाले यो गीत बज्नथालेसँगै आफ्नो मन दुख्ने गरेको उनको भनाइ छ ।

'पछिल्लो क्रममा सरेश अधिकारीले गीतमा आफ्नो संगीत रहेको दाबी गर्नुभएको छ । उहाँ रोयल्टी संकलन समाजको अध्यक्ष पनि हुनुहुन्छ । अहिलेसम्म मैले त्यो गीतबाट रोयल्टी पाएको छैन । न संगीतमा मेरो नामै छ,'आक्रोशित हुँदै उनले भने, 'पहुँचमा भएको व्यक्तिले स्रष्टालाई यसरी मार्ने हो भने कला जगत कसरी माथि उठ्न सक्छ र ? यो गीतको संगीत मेरै हो । सुरेश अधिकारीले एरेन्ज मात्र गर्नुभएको हो । सुरेशजीसँग कुरा गर्दा 'मैले ट्र्याक बनाएको हो त्यसमा तिम्रो संगीत नभनिदेऊ न' भन्नुहुन्छ । पहुँचमा जो छ उसैको मात्रै सुनुवाई हुन्छ ।'

पछिल्लो क्रममा बूढासुब्बाले लोकनाथकै रचना र संगीत भनेर गीत सार्वजनिक गरेपछि अधिकारीले आफ्नो नाम राख्न लगाएको लोकनाथको दाबी छ । 'सुरेश अधिकारीले झुट्टा भ्रम फेलाउँदै आफैंले संगीत भरेको सत्यता खडा गर्न चाहनुभएको छ । मैले त्यो गीतको अधिकार नपाउँला ठीक छ । तर भोलिको पुस्ताका स्रष्टा मारमा पर्नुहुन्न । यस्तै कुराले गीत/संगीतको क्षेत्रबाट मलाई विरक्त लागेको छ । यस्तो अनुभव कुनै कलाकार गर्नु नपरोस्,' उनी भन्छन्, 'रेडियो नेपालमा मेरो र साथीहरुको आवाजमा गीत रेकर्ड गरेको प्रमाण छ मसँग ।'

'अनि गजलकार भएँ म', 'म तिम्रै राजेश हमाल, म तिम्रै निरुता सिंह', 'झ्याईं पारौं निरुता सिंह'लगायतका सय भन्दा बढी गीतका रचनाकार हुन् लोकनाथ । 'दसैं आयो' बोलको गीतलाई उनले दसैंको माहोलमा लेखेको बताउँछन् । धानले बाला झुलेको, बिहानीको शीत । कुहिरो अनि घाम नलाग्ने समय । कसैको घरमा लाहुरे फर्केको परिवेशलाई समातेर घरभन्दा अगाडि देउरालीको ठूलो ढुंगामा बसेर आफूले उक्त गीत लेखेको लोकनाथ बताउँछन् ।

रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी भने गीतमा आफैंले संगीत भरेको दाबी गर्छन् । 'गीतमा मेरै संगीत छ त अरु कसले दाबी गर्न सक्छ र । फिल्मको निर्देशक, निर्माताबीच छलफल गरेर गायक, संगीतकार छान्ने गरिन्छ । खासमा भन्नुपर्दा त त्यो गीतमा शब्द पनि शिव रेग्मी आफैंले लेख्नुभएको हो । लोकनाथले लेखेकै होइन,' अधिकारी भन्छन्, 'पछि गीतमा रचनाकारको नाममा उनको नाम राखिदिएको हो । यो गीत कम्पोज हुँदा फिल्म प्रदर्शन भइसकेपछि दाबी गरेको भए यो गीतमा विवाद छ कि ! भन्ने हुन्थ्यो । तर फिल्म प्रदर्शन भएको १५ वर्षपछि आएर यसरी दाबी गरेर हुन्छ त ?'

१२ मिलियन भ्युज प्राप्त यो गीतबाट आफूले पनि रोयल्टी नपाएको अधिकारीको भनाइ छ । 'रोयल्टीको सवालमा मलाई पनि दु:ख लाग्छ । म आफैंले त्यो गीतको रोयल्टी पाएको छैन । बूढासुब्बा प्रालीसँग रोयल्टी संकलन समाजको मुद्दा चलिरहेको छ । त्यो मुद्दा छिनोफानो नभएसम्म त्यहाँको रोयल्टी होल्डिङमा छ । त्यसैमा यो गीतको पैसा पनि हुनसक्छ । त्यो गीत बूढासुब्बाबाट नै सार्वजनिक भएको हो,' उनले भने ।

'रोयल्टी संकलन समाजकै अध्यक्ष भएर पनि यो गीतको रोयल्टी पाउन पहल गर्नुभएन ?' भन्ने प्रश्न भुँईमा खस्न नपाउँदै उनले भने, 'पहल नगरेको होइन । पहल नगरेको भए मुद्दा विशेष अदालतसम्म पुग्दैन थियो । फिल्म सम्बन्धी सामग्रीको रोयल्टी नदिने सम्झौता भएको दाबी गर्छ बूढासब्बा । यो गीत फिल्मको भएकाले रोयल्टी नदिने पक्ष लिन्छन् उनीहरु ।'

रोयल्टी संकलन समाज आर्थिक(मेकानिकल) अधिकार बेचिए पनि क्रियटिभ अधिकार अर्थात् रोयल्टीको अधिकार स्रष्टाले पाउनुपर्ने दाबी गर्छ । 'रोयल्टी त हामीले बेचेको हुँदैनौं । त्यसैले यो गीतको रोयल्टी पाउनुपर्छ भन्ने हाम्रो कुरा हो । तर उक्त गीत फिल्मको भएकाले रोयल्टी तिर्नुपर्दैन भन्छ बूढासुब्बा,' उनले भने ।


प्रकाशित : आश्विन २१, २०७८ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्

न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं

कान्तिपुर संवाददाता

काठमाडौँ — कुनै बेला ‘न्याय नपाए गोरखा जानु’ भन्ने उक्ति प्रचलनमा थियो । बाँकेका ११ महिलासहित १४ जना भने न्यायको खोजीमा नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आइपुगेका छन् । कलंकीमा बुधबार साँझ भेटिँदा उनीहरू सबैका खुट्टामा फोका उठेका थिए ।

थकित र गलित अवस्थामा भेटिएका उनीहरू सिंहदरबारले न्याय देला र सबै दुःख भुलेर गाउँ फर्किन सकिएला भन्ने आशामा थिए । उनीहरूले दुईवटा घटनालाई मुख्य रूपमा उठाएका छन् । बाँकेको नेवाजी गाउँकी नकुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा राम्ररी खोजीनीति नभएको । यही दुईवटा विषय सुनाउन उनीहरू केन्द्र सरकारको दैलो ताकेर नेपालगन्जबाट हिँडेका हुन् ।

पैदल यात्राको २० दिन उनीहरूले मुख्य राजमार्ग छेउछाउका टहरा, गोठ र सामुदायिक भवनमा गोडा बिसाए । यात्रामा सामेल राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य रुबी खानले धेरैजसो रात आफूहरूले हिँडेरै बिताएको बताइन् ।

उनले भनिन्, ‘बरु दिउँसो र साँझ हामी बस्यौं, रातको शीतलमा भने हिँडिरह्यौं ।’ महिला दिनदिनै हिंसामा परिरहेको तर उनीहरूको मृत्यु र हिंसाको घटनामा प्रहरीले राम्ररी अनुसन्धान नगरेको सुनाउँदै उनले नकुन्नी धोबी र निर्मला कुर्मीको निम्ति न्याय माग्न आफूहरू काठमाडौं आउनुपरेको बताइन् ।

भनिन्, ‘सबैले यो कुरा थाहा पाऊन् र न्यायका निम्ति हामी कतिसम्म गर्न तयार छौं भन्ने बुझुन् भनेर हिँडेरै आएका हौं ।’न्यायका निम्ति हिँडेकामध्ये नकुन्नीका भाइ माताप्रसाद, बैनी शीला र परिवारका अन्य सदस्यसहित अधिकारको निम्ति नबोली हुन्न भन्ने स्थानीय छन् ।

उनीहरूमध्ये मुस्किलले एक–दुई जना मात्रै नेपालीमा बोल्छन् । अवधी भाषी उनीहरूमध्येकी आवादा दर्जीले आफ्नै लवजमा भनिन्, ‘बहुतै दिक्कत होईगा । तभीनय न्याय मागेक लिए चला आवागवा ।’

गत साउन ५ मा नकुन्नी आफ्नै घरभित्र मृत फेला परेकी थिइन् । उनका भाइ माताप्रसादका अनुसार विवाहको झन्डै सात वर्ष भएपछि पनि दिदीभिनाजुको सन्तान भएको थिएन । माताले सुनाए, ‘छोराछोरी नभएपछि भिनाजुले दाइको छोरालाई गोद लिन खोजेका थिए तर दिदी त्यो पक्षमा थिइनन् ।’

उनका अनुसार भिनाजु रामकुमारको पहिलो श्रीमतीबाट एक छोरी थिइन् । पहिलो श्रीमती बितेपछि उनले दोस्रो विवाह गरेका थिए । दोस्रोबाट पनि सन्तान नभएपछि नकुन्नीसँग तेस्रो विवाह गरेका थिए । ‘सौताको छोरीले पनि आफूहरूलाई पालिहाल्छ भनेर दिदीले गोद लिन मानेकी थिइनन्,’ उनले भने ।

घटनाबारे जानकार स्थानीय सतिना तेलीका अनुसार यही विषयलाई लिएर नकुन्नी र रामकुमारबीच खटपट भएको थियो । खटपट समयक्रममा हिंसामा बदलिएको थियो । श्रीमानबाट कुटपिट भएपछि दिदी निलडामसहित एक साता आफ्नो घरमा आएर बसेको बैनी शिलाले बताइन् । दिदीको न्यायको निम्ति काठमाडौंसम्म पैदलै आएकी शिलाले भनिन्, ‘दिदीको मृत्युबारे हामीले न्याय पाएनौं ।’

सतिनाका अनुसार नकुन्नी घरेलु हिंसामा परेको बारे स्थानीय प्रहरी घटनाको केही दिन अघिबाटै जानकार थियो । घटनाको करिब एक महिनाअघि असार ५ मा नकुन्नीले आफूमाथि हिंसा भएको भन्दै स्थानीय महिला अधिकार मञ्चमा निवेदन दिएकी थिइन् । संस्थाले त्यसबारे बेलभार प्रहरी चौकी र जोगगाउँ प्रहरी चौकीमा जानकारी गराएको थियो । सतिनाले भनिन्, ‘तर प्रहरीले समयमै यसबारे गम्भीरता देखाएन ।’

प्रहरीले चासो नदेखाएको अर्को महिनामै नकुन्नीले संसार छोडिन् । न्याय माग्न काठमाडौं आएकी रुबीका अनुसार उनीहरूले घटनाबारे निष्पक्ष छानबिन गर्न १९ दिनसम्म जिल्ला प्रहरी कार्यालयअगाडि धर्ना पनि दिएका थिए ।

जिल्ला प्रहरीले नकुन्नीको मृत्यु आत्महत्याबाट भएको मेडिकल रिपोर्टले प्रमाणित गरेको बताउँदै आए पनि उनीहरूको चित्त बुझेको छैन ।उनीहरूले गत वर्षको मंसिरदेखि बेपत्ता भएकी निर्मला कुर्मीका निम्ति पनि न्याय मागिरहेका छन् ।

दुई छोरीकी आमा निर्मलालाई किन र कसले बेपत्ता पार्‍यो ? त्यसका पछाडि के–कस्ता कारण जिम्मेवार छन् भन्नेबारे पनि उनीहरू जान्न चाहन्छन् । कुर्मी हराएपछि उनका परिवारले गत मंसिर १६ मै स्थानीय प्रहरीमा किटानी जाहेरी दिए पनि प्रहरीले गरेको अनुसन्धानप्रति उनीहरू सन्तुष्ट छैनन् ।

नौ दिन हिँडेर प्रदेश राजधानी बुटवल आएपछि उनीहरूले मुख्यमन्त्री कुलप्रसाद केसीलाई पनि भेटेका थिए । रुबीका अनुसार मुख्यमन्त्रीले प्रहरी र सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको दुई फरक–फरक छानबिन टोली गठन गर्ने र २० दिनभित्र टोलीले प्रतिवेदन बुझाउने आश्वासन दिएका थिए तर मुख्यमन्त्रीको आश्वासनले पनि उनीहरूको न्याय–यात्रा रोकिएन ।

रुबीले भनिन्, ‘हामी आश्वस्त हुन सकेनौं । पहिले पनि निर्मला पन्तको बलात्कार र हत्या घटनामा थुप्रै छानबिन समिति बने पनि न्याय मिलेन । त्यही भएर हामी हाम्रो कुरा सुनाउन काठमाडौं हिँडिराख्यौं ।’

२०६१ सालमा स्थापना भएको महिला अधिकार मञ्च अहिले ४४ जिल्लामा विस्तार भएको छ । मञ्चकी केन्द्रीय अध्यक्ष रेणुका मल्लले आफूहरू कुनै गैरसरकारी संस्था नभएर गाउँबाट उठेर फैलिएको ‘लुज नेटवर्क’ मात्रै भएको बताइन् ।

यही संस्थाले अहिले नकुन्नी र निर्मलाको निम्ति न्याय खोज्न काठमाडौंसम्मको पैदल यात्राको चाँजोपाँजो मिलाएको हो । जसमा १८ वर्षकी बब्ली धोबीदेखि झन्डै ५० वर्ष पुग्न आँटेकी आवाजा दर्जीसम्म सामेल छन् ।

रुबीका अनुसार यो लामो पैदल यात्रामा उनीहरूलाई महिला अधिकार मञ्चको सचिवालय संस्था नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रले सुरुमा २५ हजार रुपैयाँ दिएको थियो । त्यसपछि यात्राका क्रममा खान र सामान्य भइपरी उपचारका निम्ति अन्य संस्था र व्यक्तिले केही रकम जुटाइदिएका थिए ।

उनीहरूले काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई भेटने योजना बनाएका छन् । रुबीले खुट्टाभरि उठेका फोकाको दुखाइ सहँदै भनिन्, ‘उहाँहरूलाई हामी घटनाको सबै कुरा बताउँछौं र न्याय कसरी पाएनौं भनेर भन्छौं ।’

प्रकाशित : आश्विन २१, २०७८ १५:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×