डिजिटल कन्टेन्टमा किन सेन्सरसिप ? - मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डिजिटल कन्टेन्टमा किन सेन्सरसिप ? 

निर्देशक मनोज पण्डित भन्छन्, 'सेन्सर भनेको सिर्जनाको वाधक हो । कलाको वाधक हो । फिल्मको विकास गर्न कुनै पनि प्रकारको सेन्सर नै हुनुहुँदैन ।'
रीना मोक्तान

काठमाडौँ — बुधबारबाट बलिउड स्टार सलमान खानको फिल्म 'राधे : योर मोस्ट वान्टेड भाइ' डिजिटल प्लेटफर्ममा प्रदर्शनमा आयो । नेपालमा पनि यो फिल्म डिजिटल प्लेटफर्म (नेट टिभी, डिस होम, म्याक्स टिभी)मा आयो । हलमा प्रदर्शन गर्ने तयारी रहेको यो फिल्मलाई कोरोना महामारीका कारण ओटीटी (ओभर दि टप) प्लेटफर्मबाट प्रदर्शन गरियो ।

नेपालमा यो फिल्मको प्रदर्शन भएसँगै सेन्सरसिप (फिल्मको जाँच)को विषय उठ्यो । नेपालमा यो फिल्म सेन्सरबिना प्रदर्शनमा आएको भन्ने समाचार पनि आए । सेन्सरसिपका विषय उठेपछि 'राधे'लाई नेपालमा वितरण गरेका गोपीकृष्ण मुभिजले बुधबार नै फिल्मको सेन्सर गरायो । 'डिजिटल कन्टेन्टका लागि सेन्सर गर्ने कुनै नियम/कानुन छैन । तर 'राधे'को सेन्सरसिपमाथि धेरै समाचार आए । त्यही दबाबले हामीले फिल्मको बुधबार बेलुकी नै सेन्सर गर्‍यौं,' गोपीकृष्णका निरज पौडेलले भने ।

नेपालमा चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मको जाँच गरेर इजाजत पत्र दिइसकेपछि मात्र फिल्म प्रदर्शन गर्ने चलन छ । यही चलनलाई पछ्याउने क्रममा निकै फिल्मकर्मीका सिर्जनाको चीरहरण भएको बताउने गरेका पनि छन् । निर्देशक प्रकाश आङदेम्बले 'देश खोज्दै जाँदा'मा होस् या निश्चल बस्नेतले 'लुट'मा, फिल्मकर्मीले आफ्नो सिर्जनामा सेन्सरको हस्तक्षेप सहनु परेको सार्वजनिक गरेका छन् ।

निर्देशक गणेशदेव पाण्डेले फिल्मको शीर्षक 'गाँजाबाजा' राखेकै कारण लामो समय चलचित्र विकास बोर्डविरुद्ध अदालतमा कानुनी लडाईं लडे । निर्देशक कुमार भट्टराईले बोर्डले इजाजत पत्र नदिँदा 'दासढुङ्गा २'को निर्माण नै रोकिदिए । यी दुई फिल्मले त बिकास वोर्डबाट 'प्रि-सेन्सरसिप'को समस्या झेल्नुपर्‍यो ।

त्यसैले यो झमेलामा परेका फिल्मकर्मी सेन्सरसिप खारेजको माग गर्छन् । 'दासढुङ्गा', 'वधशाला'मा सेन्सरको झमेला सहेका निर्देशक मनोज पण्डितलाई 'राधे' सेन्सरबिना प्रदर्शन भएको खबरले खुशी बनायो । उनी कुनै पनि रुपको सेन्सरसिप हट्नुपर्छ भन्ने मान्यता राख्छन् । डिजिटल कन्टेन्ट सेन्सरमा जानुलाई नेपाली फिल्मकर्मीका लागि दूर्भाग्य रहेको उनी विश्लेषण गर्छन् ।

'अहिले हामी नेटफ्लिक्समा फिल्म हेरिरहेका छौं । त्यहाँ प्रदर्शन हुने फिल्म सेन्सर भएर आउने होइन । त्यो त खुल्ला बजार हो,' पण्डित सुनाउँछन्,'अहिले खुल्ला बजारमा जानुपर्ने अवस्थामा नेपालका वितरक र डिजिटल प्लेटफर्म सेन्सरमा जान्छ भने त्यो भूल हुनेछ । राधे बिना सेन्सरसिप प्रदर्शनमा आएको सुन्दा म एकदम खुसी भएको थिएँ ।'

ओटीटी प्लेटफर्ममा प्रदर्शन हुने फिल्म सेन्सरसिपबिना (त्यसमा रेटिङ भने गरिएको हुन्छ) नै प्रदर्शनमा आउँछन् । त्यसैले त पछिल्लो समय भारतमा फिल्मकर्मीले स्वतन्त्र भएर विभिन्न मुद्दामा सिर्जनशील काम दिएका छन् । 'पाताललोक', 'ताण्डव', 'दिल्ली क्राइम', 'स्क्याम १९९२' यसका उदाहरण हुन् । यी मुद्दा हलमा प्रदर्शन हुने कन्टेन्टका रुपमा निर्माण गरिएको भए त्यसमा सेन्सरसिप लाग्ने पक्का थियो ।

डिजिटल प्लेटफर्म आफैमा 'सेन्सरलेस' अवधारणा रहेको बताउँने निर्देशक पण्डित ओटीटी सेन्सरसिपको परिधीबाट मुक्त हुनुपर्ने बताउँछन् । 'डिजिटलमा कुनै सीमा र परिधी हुँदैन । यस्तोमा नेपालका शासकले सेन्सरमा जोड दिनु भनेको नेपाली फिल्ममा उनीहरुले गर्ने ठूलो अपराध हो,' निर्देशक पण्डित भन्छन्, 'सेन्सर भनेको सिर्जनाको वाधक हो । कलाको वाधक हो । फिल्मको विकास गर्न कुनै पनि प्रकारको सेन्सर नै हुनुहुँदैन । फिल्म मेकर आफैले पनि सेल्फ सेन्सरसिपको परिधीबाट मुक्त हुनुपर्छ ।'

डिजिटल प्लेटफर्मको सेन्सरसिपले फिल्म क्षेत्रमा हुन लागेको एउटा विकासको सम्भावना रोकिने उनको भनाई छ । उनी सेन्सरसिपलाई महेन्द्रकालीन अवधारणा बताउँछन् । 'अब त फिल्म जानुपर्ने ठाउँ नै डिजिटल प्लेटफर्म हो । डिजिटल प्लेटफर्म त विज्ञानले दिएको उपहार हो । त्यसमाथि पनि सत्ताले हस्तक्षेप गर्नु त फिल्मका लागि घातक हुन्छ,' निर्देशक पण्डितले भने ।

निर्देशक तथा समीक्षक दीपेन्द्र लामा पनि डिजिटल प्लेटफर्ममा सेन्सरसिप नहुनुपर्ने धारणा राख्छन् । सेन्सरसिप हललक्षित गरेर बनाएको कानुन रहेको उनको तर्क छ । 'फिल्म हलमा त २ सयदेखि हजार दर्शक बसेर फिल्म हेर्छन् । त्यही भएर सेन्सरबोर्डले वर्गीकरण (यु, पिजी , ए, एस)को सर्टिफिकेट देखाइसकेपछि मात्र फिल्म प्रदर्शन गरिन्थ्यो । तर, ओटीटीका कन्टेन्ट त दर्शकले हात-हातमै हेर्न सक्ने भए । जसरी हामी युट्युबमा विभिन्न कन्टेन्ट हेरिरहेका हुन्छौं,' लामा सुनाउँछन्, 'त्यसैले ओटीटीको कन्टेन्टमा सेन्सर गर्न जरुरी छैन ।'

सरकारले फिल्म र ओटीटीको प्रकृति नबुझेका कारण डिजिटल कन्टेन्टमाथि सेन्सरसिपको विषय उठेको लामा बताउँछन् । 'हामीले युट्युब र टेलिभिजनका कन्टेन्टलाई विश्वास गरेका छौं । हेर्नै नमिल्ने, समाजले पचाउनै नसक्ने कन्टेन्ट त ती प्लेटफर्मले हाल्दैनन् नि । हामीले ओटीटीमा कुनै कन्टेन्ट दिँदा त्यो कन्टेन्टमाथि ती प्लेटफर्मका संचालकका स्वविवेक प्रयोग गरेर प्रदर्शन गर्न मिल्ने/नमिल्ने निर्णय लिन्छन् । हामीले उनीहरुको स्वविवेकमै विश्वास गर्नुपर्छ,' लामा भन्छन्, 'राधेको सेन्सर भएन भनेर उफ्रिनु वाहियात हो । ओटीटीमा हुने आम्दानी करको दायरामा कसरी ल्याउने भन्नेतर्फ कुरा उठ्नु ठिक हो । तर, डिजिटल कन्टेन्टलाई सेन्सरको दायरामा ल्याउने धारणा त गलत हो ।'

‍हलमा प्रदर्शन हुने फिल्मको सेन्सर भने गर्दै आएका छन् 'राधे'का नेपाल वितरक निरज । कोरोना महामारीबीच नै प्रदर्शनमा आएको 'मुम्बई सागा' र 'रुही'लाई सेन्सरसिपपछि नै हलमा प्रदर्शन गरेको उनको दाबी छ ।

डिजिटल कन्टेन्टमाथिको सेन्सरसिपलाई लिएर उनी पनि आपत्ति जनाउँछन् । 'नेटफ्लिक्स किन्नलाई सरकारले ५ सय डलरको सुविधा दिएको छ । त्यसमा कुनै फिल्मको सेन्सर हुँदैन । हामीले पब्लिक भ्यु (फिल्म हल) मा अनिवार्य सेन्सर गर्नुपर्छ । तर डिटिएच र ओटीटी भनेको त घरमा बसिने फिल्म (निजी फिल्म) हो । त्यसको लागि सरकारले सेन्सर हुनुपर्छ भनेर कुनै नियम छैन,' उनी भन्छन्, 'नेपालमा अनप्रोफेसनल व्यक्तिहरुले बिना सेन्सर 'राधे' प्रदर्शन गरेको भनेर कुरा उठाइदिए ।'

सूचना तथा संचार मन्त्रालयका सहसचिव तथा प्रवक्ता सोभाकान्त पौडेल भने सेन्सर बोर्डसम्बन्धी नियमावलीमै सबै फिल्मको सेन्सरसिप गर्नुपर्ने उल्लेख रहेको बताउँछन् । उनी नेपालभित्र प्रसारण हुने सबै फिल्मको सेन्सरसिप अनिवार्य हुनुपर्ने तर्क गर्छन् । 'नेपालको भूगोलभित्र प्रसारण गर्ने सबै फिल्ममाथि सेन्सर लागिहाल्छ । डिजिटल प्लेटफर्ममा सेन्सरसिप नगरी फिल्म प्रदर्शन गर्न पाइँदैन । एउटा सानो विज्ञापन त प्रसारण गर्न पाइँदैन भने फिल्ममा पाउने कुरै भएन,' पौडेलले भने, 'नेपालको राष्ट्रियता, संस्कृति बिगार्ने फिल्म हुनसक्छ त्यसैले सेन्सरसिप नभइ फिल्म चलाउन पाइँदैन ।'

हिन्दी फिल्मका वितरक निरज भने 'राधे' ठूलो बजेट फिल्म भएका कारण सबैको नजर पुगेको बताउँछन् । 'यो फिल्मको लागि ५० लाख भन्दाबढी कर तिरेको छु । अग्रिम कर तिरेको छु । भोली सानो फिल्म आयो भने कसैको नजरमा पुग्दैन,' उनी सुनाउँछन् ।

सुरुमा उनले 'राधे'मा सेन्सरसिपको आवश्यकता ठानेका थिएनन् । तर, संचार मन्त्रालय नै सेन्सरसिपलाई लिएर आफूलाई सम्पर्क गरेपछि उनी सेन्सरको प्रकृयामा लागे ।

'राधे'लाई नेट टिभीमा चलाएका नेटटिभीका कार्यकारी अधिकृत नीरन राजभण्डारी हलमा लक्षित फिल्ममा मात्रै सेन्सरसिपको अवधारणा लागु हुनुपर्ने धारणा राख्छन् । 'डिसहोमले पहिलादेखि नै सेन्सरबिना कन्टेन्टहरु प्रसारण गर्दै आएको छ । त्यसैले सानो पर्दामा आउने फिल्मका लागि सेन्सरसिप हुनुहुँदैन जस्तो लाग्छ मलाई,' उनी भन्छन्, 'फिल्म त समूहलाई देखाइन्छ । तर, डिजिटल प्लेटफर्म व्यक्तिगत हुन्छ । नेटफ्लिक्सका फिल्महरु सजिलै दर्शकले हेरिरहेका छन् । त्यसैले मलाई नेपाली प्लेटफर्महरुमा सेन्सरसिपको आवश्यकता छजस्तो लाग्दैन ।'

डिजिटल प्लेटफर्मले नै कन्टेन्टमाथि 'रेटिङ'(उमेर सिमा, विषयवस्तुबारे जानकारी) गर्ने हुँदा ओटीटीका कन्टेन्टमा सत्ताले सेन्सर गर्न साध्य नहुने उनको भनाई छ । 'व्यवहारिक रुपमा डिजिटल प्लेटफर्ममा सेन्सरसिप भएको देखिँदैन । अब फेरि ओटीटीमा यति धेरै कन्टेन छन् कि त्यस्तो सेन्सर गर्न साध्य हुँदैन,'उनले भने,'डिजिटल प्लेटफर्मका लागि सरकारले नीति बनाउनु पर्छ । हामी त प्लेटफर्म मात्र हौं । कन्टेन्टमा हिंसा छ कि, न्युडिटी भनेर छुट्याइदिने नीति भन्ने बन्नुपर्छजस्तो लाग्छ ।'

भारत सरकारले ओटीटीमा नियमन गर्ने !

पछिल्लो समय भारतमा पनि ओटीटी प्लेटफर्मको कन्टेन्टलाई नियमन गर्ने कुरा उठ्यो । २०२१ मा अमाजोन प्राइममा प्रदर्शनमा आएको 'तान्डव'लाई लिएर भारतमा डिजिटल कन्टेन्ट माथिको नियमनलाई लिएर प्रश्नहरु उठे । सिरिज ब्यान्ड गर्नुपर्ने भन्दै विरोधहरु भए । मध्यप्रदेश र महाराष्ट्रमा सिरिजमाथि मुद्दा दर्ता भए । विरोधीहरुले सिरिजमाथि सेन्सरसिप हुनुपर्ने कुरा उठाएसँगै भारतमा डिजिटल कन्टेन्टमाथि थुप्रै बहस भए । केही डिजिटल कन्टेन्टमा सेन्सरसिप हुनुपर्ने पक्षमा उभिए भने कति नहुनुपर्ने धारमा ।

गत फेब्रुअरीमा मोदी सरकारले ओटीटी कन्टेन्टमाथि नियमन गर्ने घोषणा गर्‍यो । जसअन्तर्गत डिजिटल प्लेटफर्मले कन्टेन्टमाथिको गुनासो सम्बोधन गर्ने 'निवारण प्रणाली'को विकास गर्नुपर्ने हुन्छ । २५ फ्रेबुअरीमा 'द प्रिन्ट'मा छापिएको समाचार अनुसार सूचना तथा संचार मन्त्रालयले अब डिजिटल कन्टेन्टलाई आपतकालीन अवस्थामा दर्शकको पहुँचबाट बञ्चितसमेत गर्न सक्ने उल्लेख गरिएको छ । डिजिटल प्लेटफर्मले उमेरका आधारमा पाँच वर्गीकरण (यु, यु/ए ७ वर्षमाथि, यु/ए १३ वर्षमाथि, यु/ए १६ वर्षमाथि, एडल्ट ) गर्नुपर्ने हुन्छ । डिजिटल प्लेटफर्मले 'रेटिङ' पनि गर्नुपर्ने नियम भारत सरकारले बनाएको छ ।

प्रकाशित : जेष्ठ २, २०७८ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्

महामारीले हल बन्द, फिल्म कहाँ देखाउने ? ओटिटीमा हुँदैन ?

'महामारीले देशभरि २२ वटा फिल्म हल बन्द भए'
रीना मोक्तान

काठमाडौँ — कोरोना महामारीबीच धेरै फिल्म उद्योगले डिजिटल प्लेटफर्मको बाटो रोज्यो । बलिउडका धेरै फिल्म डिजिटल प्लेटफर्मबाट दर्शकबीच पुगे । यसबीच नेपालले भने वैकल्पिक बाटो रोज्न सकेन । नेपालमा अझै भरपर्दा डिजिटल प्लेटफर्म नभएका कारण वैकल्पिक विकल्पतर्फ निर्माताहरुले कदम चाल्न नसकेको अर्जुन कुमार बताउँछन् । 

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) को चौथो दिन ‘कोभिडपछिको फिल्म बजार’ शीर्षकमा बोल्नेक्रममा निर्माता अर्जुनले भरपर्दो डिजिटल प्लेटफर्मकै अभावमा आफूले ‘चपली हाइट–३’ को प्रदर्शनका लागि सामान्य अवस्था पर्खेको बताए ।

‘अमेजन र नेटफ्लिक्समा नेपाली फिल्म जाने भनेको त दिवासपना हो । डिजिटल प्लेटफर्ममा फिल्म हेर्ने दर्शक निकै कम छन् नेपालमा । जबसम्म नेपालमै डिजिटल प्लेटफर्मको सजिलै पहुँच पुग्दैन तबसम्म यहाँ डिजिटल प्लेटफर्ममा फिल्म प्रदर्शन गर्छु र करोडौं रुपैयाँ उठाउँछु भन्ने सम्भावना छैन’, उनले भने, ‘नेपालमा कम रकममा सबैको पहुँचमा पुग्ने प्लेटफर्म हुनु पर्‍यो । स्मार्ट फोन चलाउने मानिस कति छन् ? २/४ जनाले नेटफ्लिक्समा फिल्म हेर्छन् भन्दैमा नेपाली फिल्म ओटीटी प्लेटफर्ममा प्रदर्शन गर्छु भन्ने कुरा आउँदैन ।’

‘चपली हाइट–३’ पोहोर चैत २८ मै प्रदर्शन गर्ने उनको तयारी थियो । तर त्यतिबेला फिल्म प्रदर्शनको एक हप्ताअघि सरकारले लकडाउन घोषणा गर्‍यो । उनले फिल्मको मिति अनिश्चितकालका लागि पछाडि सारे । बन्द भएको करिब १० महिनापछि फिल्मक्षेत्र बिस्तारै चलमलाउन थाल्यो । अर्जुनले यो वर्षको भदौ/असोजमा फिल्म हलमै प्रदर्शन गर्ने सोचेका थिए । तर कोरोनाको दोस्रो लहरले गर्दा फेरि यो क्षेत्र ठप्प भएका छन् । उनीसँग एउटै प्रश्न छ, ‘अब हलमा फिल्म लगाउन कतिञ्जेल कुर्ने ?’

उनी फिल्म प्रदर्शनलाई लिएर अझै अन्योलमा छन् । यसबीच भरपर्दो प्लेटफर्मको विकास हुन नसकेको यथार्थ सुनाउँछन् कुमार । ‘यदि नेपालमा ओटीटी प्लेटफर्ममा फिल्म प्रदर्शन गर्ने हो भने सहज पहुँच हुनु पर्‍यो । त्यस्तो भयो भने डिजिटल प्लेटफर्ममा आस गर्न सकिन्छ,’ उनले भने, ‘मेरो विचारमा फिल्म हलमै रिलिज हुनुपर्छ । ओटीटी भनेको वैकल्पिक बजार हो । त्यसमा प्रदर्शन भएको फिल्मले कति व्यापार गर्‍यो भन्ने पनि थाहा हुँदैन ।’

अभिनेत्री रेखा थापा पनि फिल्म हलमै प्रदर्शन गर्नुपर्ने धारणा राख्छिन् । हलमा फिल्म हेर्ने दर्शकसँग डिजिटल प्लेटफर्मको पहुँच नहुने उनको बुझाइ छ । ‘वैकल्पिक प्लेटफर्म हुनसक्छ तर सबैको पहुँचमा पुग्न सक्नु पर्‍यो नि । डिजिटल प्लेटफर्म प्रयोग गर्ने प्रयोगकर्ताका लागि त सहज होला,’ उनले भनिन्, ‘तर नेपाली फिल्मलाई वास्तवमै माया गर्ने दर्शक जो हलमा आउनुहुन्छ उहाँहरुको पहुँचमा डिजिटल प्लेटफर्म कस्तो छ त ? कतिपय दर्शकबीच डिजिटल प्लेटफर्मको पहुँच नपुगेको हुनसक्छ । धेरै ठाउँमा अहिले पनि डाटा प्रयोग गर्छन् मानिसहरु, त्यहाँ इन्टरनेट पुगेको छैन ।’

हलमा बसेर फिल्म हेर्ने माहोलको मज्जा लिन पनि हलमै फिल्म प्रदर्शन हुनुपर्ने रेखा बताउँछिन् । ‘यो कोभिड सँधैभरि नरहला । मेरो चाहना दर्शकले हलमै फिल्म हेर्ने वातावरण होस् । हलमा बसेर फिल्म हेर्नुको मज्जा अर्कै छ । डिजिटल प्लेटफर्ममा त्यो मज्जा हुन्न भन्न खोजेको होइन तर डिजिटल प्लेटफर्मको पहुँच सबैका लागि हुन्छ कि हुँदैन भन्ने प्रश्न हो ?’ उनले बताइन् ।

महामारीकै कारण यसबीच फिल्म निर्माण बन्द गरिन् । वैशाखमा छायांकनमा जाने तयारी रहेको प्रोजेक्टलाई उनी यो वैशाखमा बनाउने सोच्दै थिइन् । यसबीच फेरि सरकारले निषेधाज्ञा जारी गर्‍यो । अवस्था सामान्य नभएसम्म फिल्म निर्माण नगर्ने निर्णयमा उनी पुगेकी छन् । भन्छिन्, ‘जबसम्म दर्शकलाई सहज हुँदैन, जबसम्म तिनको प्राथमिकतामा मनोरञ्जन पर्दैन तबसम्म फिल्म बनाउँदिन ।’

निर्माता/निर्देशक अशोक शर्मा डिजिटल प्लेटफर्ममा फिल्मको भविष्य देख्दैनन् । ‘अहिले ओटीटी प्लेटफर्मको धेरै कुरा आइरहेको छ । ओटीटी प्लेटफर्म अतिरिक्त बजार (सेकेन्डरी) का लागि ठीक हुन्छ । डिजिटल प्लेटफर्ममा फिल्म प्रदर्शन भइसकेपछि फिल्म चल्यो भन्ने त होला । तर त्यो एउटा अतिरिक्त बजार हुन सक्छ । प्राथमिक बजार त हल नै हो,’ उनले भने, ‘हलमा फिल्म प्रदर्शन भइसकेपछि बक्स अफिस रिपोर्ट पनि आउँछ । ओटीटीमा फिल्म चल्यो चलेन भन्ने कुरा पत्तो पाइँदैन । ओटीटी प्लेटफर्ममा घरमै बसेर फिल्म हेर्न सकिन्छ । फिल्म भनेको त थियटर कल्चर नै हो ।’

‘थियटर कल्चर’ का लागि पनि फिल्महरु हलमा प्रदर्शन गर्नुपर्ने उनको तर्क छ । ‘जबसम्म फिल्म हलमा लाग्दैन तबसम्म त्यो फिल्मको माहोल सिर्जना नै हुँदैन । फिल्म हेर्दाको माहोल अर्कै हुन्छ । परिवारसहित दर्शक हलमा फिल्म हेर्न आउँछन् । पप कर्न खाँदै अन्य दर्शकसँग फिल्म हेर्ने जुन किसिमको माहोल हुन्छ’, अशोकले सुनाए, ‘त्यो माहोलले गर्दा नै दर्शक हलसम्म आएर फिल्म हेर्न मन पराउँछन् ।’

नेट टिभीका अध्यक्ष मनोज अग्रवालले भने नेपालमा डिजिटल प्लेटफर्मको भविष्य रहेको बताए । ‘यो महामारीमा हामीसँग चुनौती छ । त्यो चुनौतीलाई कसरी अवसरको रुपमा प्रयोग गर्न सक्छौं भन्नेतर्फ पनि हाम्रो ध्यान जानु पर्छ । ताकि नेपाली दर्शक मनोरञ्जनबाट बञ्चित नहोऊन्’ उनले भने, ‘हामीले बिजनेस मोडालिटीमा काम गर्नु पर्छ । हामीले फिल्म निर्माता र बितरकहरुसँग रेभेन्यु सेयरिङमा त्यो फिल्मलाई हाम्रो प्लेटफर्ममा प्रदर्शन गर्न सक्छौं । बनिसकेका फिल्महरु कुनै न कुनै प्लेटफर्मबाट दर्शकसम्म पुर्याउनु पर्यो । यो व्यवसायलाई निरन्तरता दिन पनि निर्माताले यस्तो वैकल्पिक बाटो रोज्नु पर्यो ।’

उनी डिजिटल प्लेटफर्मलाई अहिलेको अवसर रहेको बताउँछन् । पछिल्लो समय आफूहरुले प्रदर्शनमा ल्याएको नेपाली फिल्मले राम्रै व्यापार गरेको उनको भनाइ छ । उनी नेपालकै प्लेटफर्म प्रयोग गर्न सल्लाह दिन्छन् । ‘नेटफ्लिक्स र अमेजनलाई सन्दर्भको रुपमा लिन सक्छौं । तर आफ्नो देशमा नै ओटीटी प्लेटफर्म छ । त्यो प्लेटफर्मसम्म त हामी पुग्न सक्छौं नि’, उनले भने, ‘अहिलेको परिस्थितिमा डिजिटल प्लेटफर्म राम्रो हो । अब हामीले हाम्रो सोचाइमा परिवर्तन गर्नु पर्छ । मनोरञ्जनको आयाम नै अहिले फेरिसकेको छ । अहिले त कोठाबाट हातहातमा पुगिसकेको छ फिल्म । बरु त्यही अनुसारको कन्टेन्ट बनाउनु पर्यो ।’

छलफलका क्रममा अग्रवालले रेभेन्यु सेयरिङका आधारमा डिजिटल प्लेटफर्ममा फिल्म प्रदर्शन गर्न सकिने बताए । निर्माता कुमार र अभिनेत्री थापाले भने अग्रवालको कुरामा सहमति जनाएनन् । कुमारले प्रश्न गरे, ‘यो त परम्परागत कुरा नै गर्नु भयो । सेयरिङको आधारमा फिल्म प्रदर्शन गर्दा सबै जोखिम निर्मातामाथि थोपरिन्छ ?’

उनले करोडौं रकम खर्चेको फिल्मलाई सेयरिङको आधारमा डिजिटल प्लेटफर्ममा प्रदर्शन गर्न नसकिने बताए । निर्माता अर्जुनले एमजी (मिनिमम ग्यारेन्टी) को हकमा भने निर्माताले डिजिटल प्लेटफर्म रोज्न सक्ने भनाइ राखे । ‘न्यूनतम ग्यारेन्टी भयो भने डिजिटल प्लेटफर्म विकास हुन्छ । अनि मात्र तपाईंलाई निर्माताले नयाँनयाँ कन्टेन्ट दिन सक्छन्’ उनले भने ।

अग्रवालले एमजीको हकमा दुवै पक्षबीच छलफल गरेर अगाडि बढ्न सक्ने बताए । अभिनेत्री रेखा थापा र अशोकले पनि डिजिटल प्लेटफर्ममा फिल्म प्रदर्शन गर्न एमजीकै कुरामा जोड दिए । निर्देशक अशोक डिजिटल प्लेटफर्मले फिल्म प्रदर्शनको यकिन तथ्य दिन नसक्दा फिल्मकर्मीबाट विश्वास बटुल्न नसकेको बताए । ‘मैले मेरो २ फिल्म डिजिटल प्लेटफर्मलाई दिएँ । मैले उहाँहरुलाई ५० चोटी बिन्ती गरें, मेरो फिल्म कति शो चल्यो त्यो लग रिपोर्ट दिनु भन्दा दिनु भएन । तर अहिले डिजिटल प्लेटफर्मले एउटा कागजमा लेखेर रिपोर्ट दिन्छ,’ उनले भने, ‘त्यो रिपोर्टलाई हामीले कसरी विश्वास गर्ने ? तपाईंहरुले लग रिपोर्ट दियो भने पो यति दर्शकले फिल्म हेरेछन् भन्ने थाहा हुन्छ ।’

डिजिटल प्लेटफर्मले निर्मातालाई विश्वास दिलाउन सक्यो भने भविष्यमा सेयरिङको आधारमा पनि फिल्म प्रदर्शन गर्न सकिने उनी बताउँछन् । नेट टिभीका अध्यक्ष अग्रवालले भने डिजिटल प्लेटफर्मले पनि यी त्रुटीहरु सुधार्दै लानुपर्ने बताए । ‘हाम्रो चाहना त नेपाली दर्शकको माझमा फिल्महरु पुग्नु पर्यो । हाम्रो प्लेटफर्मबाट हामीले लग रिपोर्ट दिइरहेका छौं, उनले भने, ‘अहिलेको अवस्थामा दुवै पक्ष मिलेर काम गर्नु पर्छ । डिजिटल प्लेटफर्मलाई उचाइमा लानु पर्छ । अहिले हाम्रो पनि अनुभव नयाँ छ । हामी बिस्तारै त्यो बढाउँदै जान्छौं । त्रुटीहरु सुधार्दै जान्छौं । आगामी दिनमा सल्लाह र सुझाव लिएर अझ सुधार गर्ने प्रयास गर्छौं ।’

धमाधम बन्द हुँदै हलहरु

महामारीबीच देशभरका २२ वटा हल बन्द भएको दाबी गर्छन् अशोक शर्मा । यसबीच जय नेपाल सँधैका लागि बन्द भयो । कुमारी हल सँधैको लागि बन्द हुने अवस्थामा पुगेको अशोक सुनाउँछन् । ‘अहिलेसम्म नेपालभर २२ वटा हल सँधैभरिका लागि बन्द भइसकेका छन् । मल्टिप्लेक्स हल अहिले भाडामा चलिरहेका छन् । आफ्नै पुँजीमा बनेको मल्टिप्लेक्स कम छन्, उनले भने, ‘यो महामारीले गदौ धेरै मल्टिप्लेक्सहरु टिक्ने अवस्था छैन । यस्तै भइरहृयो भने प्रत्यक्ष रुपमा धेरै फिल्म हलहरु सँधैका लागि बन्द हुने अवस्थामा पुगेको हामीले सुन्न पाउँछौं ।’

महामारीले फिल्मक्षेत्रलाई १० वर्ष पछाडि धकेलिदिएको शर्माको दाबी छ । ‘अहिले फिल्म हेर्न हलसम्म आउने बानीमा ब्रेक लागिसकेको छ । एक समय हलमा दर्शक जानै कम भयो । व्यापार घटे । त्यही समयमा मल्टिप्लेक्स आए । र फिल्म पनि फरक तवरले फिल्म बने । त्यसरी फिल्मक्षेत्र उठ्यो,’ उनी भन्छन्, ‘अब कोरोनाले गर्दा डेढ वर्षदेखि फिल्म हेर्ने बानीमा ब्रेक लागिसकेको छ । अवस्था सामान्य भइसकेपछि पनि केही समय दर्शक हलमा आउँदैनन् । उनीहरुलाई हलमा ल्याउन एकदमै मिहिनेत गर्नु पर्छ ।’

महामारीले धरासायी बनाएको फिल्म क्षेत्रलाई सरकारले राहत दिनुपर्ने अशोकको माग छ । अभिनेत्री थापा भने राहतका लागि फिल्मकर्मीहरु एकजुट भएर सरकारलाई दबाब दिनुपर्ने धारणा राख्छिन् ।

प्रकाशित : वैशाख २६, २०७८ २०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×