कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रवण मुकारुङलाई लेख्न कठिन भएको गीत, 'रातैले बुन्छ आकाशमा रुमाल...'

काठमाडौँ — २०७२ सालको भूकम्पअघिको कुरा हो । फिल्म 'दोख'का लागि गीत लेख्ने प्रस्तावसहित निर्देशक अनुप बरालले कवि श्रवण मुकारुङलाई सम्पर्क गरे । उनी किराँत क्षेत्रलाई सम्बोधन गर्ने गीतको खोजीमा थिए । मुकारुङले फिल्मको कथा सुने । एक महिला पात्रको मनोभाव पोख्ने पार्श्व गीत रच्नु थियो ।

श्रवण मुकारुङलाई लेख्न कठिन भएको गीत, 'रातैले बुन्छ आकाशमा रुमाल...'

किराँती समुदाय भनेपछि गीत लोक शैलीमा हुनैपर्‍यो । उनले 'हियारी' लयमा गीत लेखे । मुकारुङलाई लेख्न कठिन भएको त्यो गीत हो, 'रातैले बुन्छ आकाशमा रुमाल ।'

'अनुपले हामी नेपाली गीत बनाउनुपर्छ है भन्नु भएको थियो । अब हाम्रा फिल्महरुका गीतका शब्द परिवर्तन गरिदयो भने हिन्दी हो कि अंग्रेजी पत्तो हुँदैन । त्यसैले नेपाली गीत बनाउने भनिसकेपछि त हाम्रो सौन्दर्यको खोजी गर्नुपर्ने हुन्छ । हाम्रो सौन्दर्यको खोजी गर्दा हामी रैथाने संगीतमा पुग्छौं। आदिवासी जनजातिको संगीतमा पुग्छौं, नेपाली लोक संगीतमा पुग्छौं,' मुकारुङले गीत लेखनको क्षण सम्झे, 'यो गीतलाई हियारी लयमा असाध्यै थोरै इम्प्रोभाइज गरेर बनायौं ।'

स्वतन्त्र ढंगले ‍नयाँ प्रयोग गर्दै गीत लेख्न सक्थे उनी । तर यस किसिमको गीत लेख्न कठिन भएको उनी सुनाउँछन् । गीत लेख्न उनलाई १२ दिन लागेको थियो । 'हेर्दा त सामान्य सुनिन्छ । तर लेख्न कठिन अनुभव गरें । सबै कुरालाई संकेतमा भन्नु थियो । थोरै शब्दमा मानिसको मन छुने गीत लेख्न सारा कुरा मिल्नु पर्‍यो,' उनले भने, 'ठ्याक्कै लोकले नै बनाएको गीतजस्तो सुनिनु पर्‍यो । त्यहाँ फेरि श्रवण मुकारुङ भन्ने गीतकारको परिचय पनि देखिनु पर्‍यो ।'

'रातैले बुन्छ' कि गायिका झुमा लिम्बु र गीतकार श्रवण मुकारुङ

हालै निर्माण टिमले 'रातैले बुन्छ' बोलको ओएसटी (ओरिजिनल साउन्ड ट्रयाक) सार्वजनिक गरेको छ । गीतको भिडियो अन्तर्राष्ट्रियस्तरको बनेको मुकारुङ बताउँछन् । भन्छन्, 'मैले यो गीत भिडियोमा यति सुन्दर बनेर आउँछ होला भनेर सोचेको थिइनँ । तर, अहिले गीतको एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ । यो भिडियोले फिल्म धेरै राम्रो बनेको हुनुपर्छ भन्ने लाग्यो ।'

गीतको भिडियोमा माओवादी द्वन्द्वकालको समयलाई चित्रण गरिएको छ । गीतका शब्दहरूमा दृश्य बोलिरहेझैं लाग्छ । 'धान खाने चरी, वन खाने आगो, मन खाने सम्झना,' मुकारुङले गीतमा मन छुने शब्दहरु खेलाएका छन् । भिडियोमा चार लाइनको गीत समेटिएको छ । फिल्ममा भने आठ लाइनकै गीत पार्श्व संगीत बनेर गुञ्जनेछ ।

गायिका झुमा लिम्बुले गीतलाई न्याय दिएको बताउँछन् मुकारुङ ।

गीतको भिडियो हेरिसकेपछि झुमालाई भने आफ्नो कामले कदर पाएझैं लागेको छ । 'नेपालको रैथाने संगीतमा काम गर्न पाउँदाको जस्तो आनन्द केहीमा हुँदैन । नेपाली संगीतमा मैले जुन किसिमको संगीत अगाडि बढाउँ भन्दै छु त्यसैलाई फिल्मकर्मीले रोजिदिनु भनेको त गजब्ब कुरा भइहाल्यो । मलाई गीतको शब्द ‍पनि मनपरेको थियो,' झुमा सुनाउँछिन्, 'यो स्वाद धेरैले सुन्न खोजेका रहेछन् ।'

अधिकांश गीतहरुमा ट्रयाक बनिसकेपछि गायक/गायिकाले स्वर दिन्छन् । तर, झुमाका अनुसार यो गीत फरक तरिकाले बनेको छ । 'हामीले शब्द लेखिसकेपछि एक महिना ट्युनमा मिहेनत गर्‍यौं । यो शैलीमा गाउने फिक्स भएपछि मैले संगीत बिना आवाज दिएँ । शब्द र ट्युन हेरेर त्यो आवाजमा संगीत भरे पुष्पा र संगमले,' झुमा सुनाउँछिन् ।

पुष्पा र संगम दम्पतिले यो गीतमा पार्श्व संगीत भरेका छन् । 'दोख'मा यी दुवैको संगीत छ । 'रातैले बुन्छ'मा वाद्ययन्त्रको निकै कम प्रयोग गरिएको पुष्पा सुनाउँछिन् । 'खासमा यो लोक मेलोडीमा बनेको गीत हो । विशेष गरी राई समुदायमा महिलाहरुले आफ्नो वेदना गाउने गीत हो यो । यो गीत हामीसम्म आइपुग्दा एउटा तहमा काम भइसकेको थियो । तर, त्यो लोक मेलोडीलाई कसरी प्रस्तुत गर्ने भन्नेखालको दोधार भइसकेपछि अनुप सरले हामीकहाँ कुरा राख्नु भयो,' पुष्पा सम्झिन्छिन् ।

लोक मेलोडीलाई अलिकति 'अपलिफ्ट' गर्ने हिसाबले यसमा आफूहरुले काम गरेको उनी सुनाउँछिन् । 'धेरै बुट्टाहरु नभेरेर कसरी त्यो लोक शैलीको स्वादलाई जस्ताको त्यस्तै प्रस्तुत गर्न सकिन्छ भनेर तयार पारेका छौं,' उनले भनिन्,' गीतमा बाँसुरीको संयोजन हामीले गरेको हो । यो गीत बनाउँदा हामीले धेरै नै प्रयोग गर्दैगएका हौं । धेरै बसाईपछि यो गीत तयार पारिएको हो ।'

धेरै वाद्ययन्त्र मिसाउँदा 'यारी'को मर्म हराउन सक्थ्यो । पुष्पाका अनुसार यारी अरु कुनैबाजामा बज्दैन । यसको मुख्य कुरा भनेको गायन हो । त्यसैले 'रातैले बुन्छ'मा झुमाको आवाजले सबै कुरालाई लिड गरिरहेको सुनिन्छ ।

रेकर्ड भएको झन्डै २ वर्षपछि यो गीत सुन्दा निकै खुसी लागेको छ पुष्पालाई । 'यसको मेलोडी एकदमै मिठो छ । धेरैपछि गीत सुन्दा आफूले गरेको काम कुनै न कुनै समयमा दर्शकसम्म पुग्छ भन्ने आश्वासन मिलेको छ । यो गीत बनाउन धेरै मिहेनत भएको छ,' पुष्पा सुनाउँछिन्, 'अहिले बजारमा फिल्मको संगीत छोटो समयमै सक्ने गर्छन् । तर, हामीले यो गीतका लागि स्टूडियोमा वर्ष दिन बितायौं । यो गीत सबैको सहकार्यमा बनेको हो ।'

प्रकाशित : वैशाख १७, २०७८ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?