कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महामारीका बीच धमाधम फिल्म सुटिङ

रीना मोक्तान

काठमाडौँ — निर्देशक सुरेन्द्र पौडेलको टिम यतिखेर पूर्वको मोरङको लेटाङमा फिल्म 'बाबरी क्याफे'को छायांकनमा व्यस्त छ । धिरज मगर र अदिती बुढाथोकीको साथमा टिमले छायांकन थालेको एक हप्ता बढी भयो । ४५ दिनको छायांकन सेड्युल बोकेर लेटाङ पुगेका उनको टिम अब फिल्मको छायांकन सकेरै काठमाडौं फर्कने तयारीमा छ । 

महामारीका बीच धमाधम फिल्म सुटिङ

त्यस्तै, छायांकनमा रहेको अर्को फिल्म हो 'प्रेमगञ्ज' । परिच्छेद सेनको निर्देशनमा काभ्रेको देउरालीमा यो फिल्मको छायांकन भइरहेको छ । फिल्मको छायांकन थालिएको एक हप्ता भयो । कलाकार र प्राविधिकसहित टिममा ३० जना छन् । निर्माण टिम फिल्मको छायांकन सकेरै फर्कने तयारीमा रहेको बताउँछिन् अभिनेत्री बेनिशा हमाल ।

०००

कोरोना महामारीका कारण करिब १० महिना फिल्म क्षेत्र थलियो । फिल्म हल बन्द भए । फिल्मको काम ठप्प हुँदा प्राविधिकहरु भोकै भए । तर, यसबीच अवस्था सामान्य बन्दै जाँदा यो क्षेत्र चलमलाउन थाल्यो । हल खुले । फिल्मको कामहरु फेरि सुचारु भए । तर, कोरोनाको दोस्रो लहरले फिल्म क्षेत्र बौरिन पाएन । फेरि फिल्म हल बन्द भएका छन् । यसअघिको महामारीमा करोडौंको घाटा व्यहोरेका हल सञ्चालकहरु तनावमा छन् । फिल्म क्षेत्रका अधिकांस काम ठप्प देखिए पनि फिल्म छायांकनको काम भने रोकिएको छैन ।

निर्देशक दिनेश राउत यतिखेर अभिनेता प्रदीप खड्कासँग जुम्लामा छन् । ५० जनाको टिममा उनले त्यहाँ फिल्म 'प्रकाश'को छायांकन सके । जुम्ला पुगेको ४२ औं दिनमा फिल्मको छायांकन सकिएको छ । बुधबार फिल्मको छायांकन सकेर निर्माण टिम फर्कने तयारीमा छ । 'फिल्मको सुटिङ गाउँमै भयो । यहाँ कोरोनाको खासै डर छैन । खासमा यहाँका मानिसलाई कोरोना भन्ने नै थाहा पनि छैन । गाउँमा त्यति धेरै मानिस थिएनन् । हामी यहाँ त क्वारेन्टाइनमा बसेझैं भयो । अहिले छायांकन सकेर फर्कने तयारीमा छौं,' निर्देशक राउतले भने ।


सरकारले वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी गरेसँगै छायांकनमा जाने फिल्महरु भने अलमलमा परेका छन् । निर्देशक रामबाबु गुरुङ फिल्म 'कब्बडी ४' को छायांकनमा जाने सोच्दै थिए । 'हामीले हालै फिल्मको शुभ-मुहुर्त गर्‍यौं । छायांकनमा नगए पनि त्यही दिन क्यामेरा पूजा गरिराख्ने अनि अवस्था हेरेर छायांकनमा जाने सोचेको थियौं । अब त पर्ख र हेरको अवस्था छ,' रामबाबुले भने ।

लेटाङमा छायांकनरत 'बाबरी क्याफे'को टिमले सुरक्षाको मापदण्ड अपनाएरै फिल्मको छायांकन गरिरहेको छ । 'स-साना टिम बनाएर हामी काम गरिरहेका छौं । हामी सेटमा मास्क नलगाई काम गर्दैनौं । सेटमा स्यानिटाइजरको व्यवस्था छ । कलाकारले पनि टेकबाहेक अरु समयमा मास्क लगाउँछन्,' निर्देशक पौडेलले भने, 'यता कोभिडको खासै डर देखिन्न । यहाँका मानिसहरु मास्क लगाएको देख्दिनँ । हामी त सबै टिमको पीसीआर परीक्षण गराएर आएका हौं । कतिञ्जेल डराएर बस्ने १ वर्ष उस्तै भयो । सरकारले हाम्रो क्षेत्रलाई हेर्दैन । फिल्म रोकिएको १५ महिना भइसकेको थियो । अब छायांकन रोक्ने सोच छैन ।' १९ जनाको टिममा फिल्मको छायांकन भइरहेको उनले बताए । 'अब हामीले छायांकनको काम रोक्न मिल्दैन । फिल्ममा आश्रित प्राविधिकहरुका लागि भए पनि सुरक्षित भएर काम गर्नुपर्छ फिल्मकर्मीले,' पौडेलले भने ।

'प्रेमगञ्ज' को टिम पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काम गरिरहेको छ । 'छायांकन भइरहेको ठाउँ गाउँ नै हो, त्यसैले यता कोरोनाको त्रास त्यस्तो छैन । सामान लिन जाँदा सुरक्षित भएर जान्छन् सबै । हामी टिममा सबैजनाले मास्क लगाएर नै प्रयोग गरिरहेका छौं । स्यानिटाइजर पनि लगाइरहेका छौं,' अभिनेत्री हमालले भनिन्,' यो गाउँ बजारबाट नजिकै छ । तर पनि यता नयाँ मानिसहरु आउजाउ गरेको देख्दिन । अहिलेसम्म त फिल्मको छायांकन सकेरै फर्कने कुरा छ ।'

महामारीको समयमा फिल्मको छायांकन गर्नु उचित ठान्दैनन् निर्देशक विनोद पौडेल । 'मेरो विचारमा त अहिले महामारीलाई नै प्राथमिकतामा राख्नुपर्छ जस्तो लाग्छ । निर्माताले जुन पैसा लगानी गरेको हुन्छ फिल्ममा । अहिले त्यो पैसा उठ्ने अवस्था देखिँदैन । हल बन्द छन् । विदेशको बजार बन्द छ,' उनले भने, 'त्यसैले यस्तो अवस्थामा लगानीकर्तालाई निराश बनाउने तरिकाले छायांकनमा जाने कताकता व्यवहारिक लाग्दैन मलाई ।'

टिम सदस्यको स्वास्थ्यका लागि पनि छायांकन जोखिमपूर्ण हुने उनको भनाइ छ । 'अटेर गरेर सुटिङमा जानु त टिम सदस्य र समाजका लागि सुरक्षित भएन । अहिले कुनै पनि हालतमा छायांकनमा जानु त्यति व्यवहारिक हुँदैन । समाजमा पनि राम्रो सन्देश जाँदैन जस्तो लाग्छ । हामी फिल्मकर्मी त उत्तरदायी भएर देखाउनुपर्‍यो नि,' उनले भने ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर फिल्मको छायांकन गर्न सकिने उनी बताउँछन् । विनोदले भने, 'अवस्था खुकुलो भएपछि छायांकन सुरु भएको फिल्मकर्मीलाई फिल्म सक्नु नै पर्ने बाध्यता होला । ती फिल्मले मापदण्ड अपनाएर काम गर्नुपर्छ ।'

चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणा पनि सुरक्षा अपनाएर छायांकन गर्नुपर्ने बताउँछिन् । 'सबैले काम गर्न पाउनुपर्छ । हामीले नगर भन्न मिल्दैन। अब छायांकनमा गइसकेको फिल्मले सरकारले तोकेको मापदण्ड अनुसार काम गर्नुपर्छ,' उनले भनिन् ।

प्रकाशित : वैशाख १५, २०७८ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?