ओस्करमा 'नोम्याडल्यान्ड' ले जित्यो उत्कृष्ट चलचित्र, निर्देशक र अभिनेत्रीको अवार्ड- मनोरञ्जन - कान्तिपुर समाचार

ओस्करमा 'नोम्याडल्यान्ड' ले जित्यो उत्कृष्ट चलचित्र, निर्देशक र अभिनेत्रीको अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — क्लोई चाउ निर्देशित 'नोम्याडल्यान्ड' ९३ औं ओस्करमा उत्कृष्ट फिल्म घोषित भएको छ । चाउले निर्देशनतर्फ ओस्कर जित्ने दोस्रो महिलाको इतिहास बनाएकी छिन् ।

क्याथरिन बिगोलोपछि ओस्कार जित्ने उनी दोस्रो महिला निर्देशक हुन् । यही फिल्मबाटै फ्रान्सेस म्याकडोरमेन्डले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दा 'द फादर'बाट एन्थोनी होप्किन्सको अभिनेतातर्फको अवार्ड उचाले । यजङ उङले 'मिनारी'बाट उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड प्राप्त गरिन् भने डेनमार्कको 'एनोदर राउन्ड' अन्तर्राष्ट्रिय फिचर फिल्म घोषित भयो ।


यस्तो ओस्कर विजेताको सूची

उत्कृष्ट फिल्म

नोम्याडल्यान्ड

निर्देशक

क्लोई चाउ (नोम्याडल्यान्ड)

उत्कृष्ट अभिनेता

एन्थोनी होप्किन्स (द फादर)

उत्कृष्ट सह-अभिनेता

ड्यानियल कलुया (जुडस एण्ड दि ब्ल्याक मसाया)

उत्कृष्ट अभिनेत्री

फ्रान्सेस म्याकडोरमेन्ड (नोम्याडल्यान्ड)

उत्कृष्ट सह-अभिनेत्री

यजङ उङ (मिनारी)

एनिमेटेड फिचर फिल्म

सोल

सिनेम्याटोग्राफी

म्यांक

कस्ट्युम डिजाइन

मा रेनिज ब्ल्याक बटम

डकुमेन्ट्री फिचर

माई अक्टोपस टिचर

डकुमेन्ट्री सर्ट सब्जेक्ट

कलेट

फिल्म सम्पादन

साउन्ड अफ मेटल

अन्तर्राष्ट्रिय फिचर फिल्म

एनोदर राउन्ड (डेनमार्क)

मेकअप एण्ड हेयर स्टाइलिङ

मा रेनिज ब्ल्याक बटम

संगीत

सोल

गीत

फाइट फर यु (जुडस एन्ड द ब्ल्याक मसाया)

प्रोडक्सन डिजाइन

म्यांक

सर्ट फिल्म (एनिमेटेड)

इफ एनिथिङ ह्यापेन्स आइ लभ यु

सर्ट फिल्म (लाइभ एक्सन)

द टु डिस्टेन्ट स्ट्रेन्जर्स

ध्वनि

साउन्ड अफ मेटल

भिजुअल इफेक्ट्स

टेनेट

प्रकाशित : वैशाख १३, २०७८ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्

बेलामा खानै पाउँदैनन् स्वास्थ्यकर्मी

पीपीई लगाइरहँदा पसिनाले भित्री लुगा भिजेर निथ्रुक्कै हुन्छ । तिर्खाले ओठ–मुख सुक्छन्  ।
मधु शाही, सन्जु पौडेल

बाँके, रुपन्देही — ‘नाम नलेख्दिनुहोला है !’ उनले भनिन्, ‘छोराछोरीले थाहा पाए भने पीर मान्छन् ।’ शिरदेखि पाउसम्म ‘पर्सनल प्रोटेक्सन इक्विपमेन्ट’ (पीपीई) ले छोपिएकी उनले परिचय दिइनन् । मात्रै जन्मथलो प्यूठान रहेको सुनाइन् । यति भनेपछि काममा लागिन् ।

१६ लिटर अट्ने सेनिटाइजरको ट्यांकी बोकेर शववाहन, स्ट्रेचर र शव ल्याउने बाटो वरिपरि छर्किंदै गइन् । शनिबार उनलाई अन्य दिनभन्दा बढी धपेडी थियो । एकै दिन चारवटा शव व्यवस्थापन गर्ने जिम्मा थियो । बिहान ७ बजेदेखि शव निकाल्न पीपीई सेट लगाएर बसे पनि नेपाली सेनाको टोली ११ बजेमात्रै आइपुग्यो । ‘यति सकेर खाऊँला भनेको, फेरि अर्को बिरामी सिकिस्त छ रे,’ उनले थकित भावमा साथीसँग भनिन् ।

उनी भेरी अस्पतालको कोभिड वार्डमा हेल्परको काम गर्छिन् । चार महिनाअघि नेपालगन्ज आएकी हुन् । श्रीमान् बितेपछि छोराछोरी पाल्न रोजगारी अति जरुरी थियो । भेरी अस्पतालमा हेल्परको आवश्यकताबारे सुनिन् । उनले सुरुमा कोभिड सर्ने डरले मन खुम्च्याइन् । परिवारको भोको पेट र आर्थिक अभावले जागिरतिर धकेल्यो । जागिर पाएको दिन उनलाई खुसी र दुःख दुवै एकसाथ भयो । खुसी यस अर्थमा उनले घरखर्च पुर्‍याउने भइन् । दुःखचाहिँ कोरोना सर्ने डरले लागेको थियो । ‘घरमा छोराछोरीले के काम गर्नुहुन्छ ममी भनेर सोध्छन्,’ उनले भनिन्, ‘मैले अरू नै काम भनेर ढाँटेकी छु ।’ यसरी झूटो बोलेर जागिर गर्नुका पछाडि सन्तानकै मायाले बाध्य बनाएको उनको भनाइ छ । ‘परिस्थितिअनुसार झूटो पनि बोल्नु पर्दोरहेछ,’ उनले भनिन्, ‘थाहा पाए छोराछोरीले मन दुखाउँछन् ।’

शववाहन व्यवस्थापनमा उनकी साथी शोभा चौधरी पनि सँगसँगै खटिएकी थिइन् । राप्ती सोनारी गाउँपालिकाकी २८ वर्षीया शोभा संक्रमित शवको फोहोर उठाउने, डस्टबिनमा राख्ने काम गर्छिन् । धेरैजसो हात प्रयोग हुने भएकाले उनले दुईवटा ग्लोब्स लगाएकी थिइन् । ग्लोब्सबाट आउने पसिनाले हात खाएको छ । ‘ग्लोब्सभित्रबाट हात चिलाउँछ,’ उनले भनिन्, ‘पोल्छ ।’

नेपालगन्जको प्रचण्ड गर्मीमा आङको एकसरो लुगा थेग्न मुस्किल पर्छ । यहाँका स्वास्थ्यकर्मी भने चौबीसै घण्टा पीपीई लगाएर खटिएका छन् । आफ्नो शरीरभन्दा ठूलो प्लास्टिकले बेरिएको खुट्टा घिसार्दै स्टाफ नर्स प्रमिला अस्पतालको वल्लो र पल्लो वार्ड घुमिरहन्थिन् । एकैछिनमा उनी हातमा अक्सिजनका लामा लामा पाइप बोकेर दौडिएको अवस्थामा देखिन्थिन् । छिनमा अक्सिजनका सिलिन्डर तान्दै गरेको भेटिन्थिन् । थाकेर लखतरान भएकी उनी बोल्न सक्ने अवस्थामा थिइनन् । मुख सुकेर प्याक–प्याक भएको बताउँदै उनी अनवरत बिरामीको सेवामा खटिएकी थिइन् । ‘बिहान घरबाट कालो चिया खाएर अस्पताल आएकी थिएँ, बिरामीको चाप बढेर खाने फुर्सद पाएकी छैन,’ उनले भनिन्, ‘यहाँ पानी खाने फुर्सद त छैन ।’ अस्पतालले खाना उपलब्ध गराउँछ । तर, त्यही प्याकेटको खाना पनि तातो नखाएको थुप्रै दिन भइसक्यो । रातदिन खटिएकी प्रमिलालाई काम गर्ने ऊर्जा कहाँबाट मिल्छ ? उनले भावुक हुँदै भनिन्, ‘आमाबुबाले बहादुर छोरी भन्नुहुन्छ, त्यही हो, थप ऊर्जा ।’

पीपीईले निथ्रुक्कै भित्री पहिरन भिज्छन् । तिर्खाले ओठ सुक्खा हुन्छ । तिर्खाएका बेला बिरामी हेर्दाहेर्दै पानी खान डर लाग्छ । यस्तो बेला प्रमिला पसिनाले ओठ भिजाएर चित्त बुझाउँछिन् । उनीजस्तै संक्रमित बिरामीको हेरचार गर्दै थिइन्, स्टाफ नर्स कमला नेपाली । दैलेख घर भएकी उनी अस्पतालमा काम गर्दागर्दै संक्रमित भइन् । ज्वरो आएको, टाउको दुखेको थियो । आँखा थकित र त्रस्त देखिन्थे । तैपनि उनी संक्रमित बिरामीको हेरचाहमा लागेकी थिइन् । आफू संक्रमित भइसकेपछि पनि उनको मनले आराम पाउन चाहेन । ‘स्टाफ कम हुनुहुन्छ, गम्भीर अवस्थाका बिरामी थपिइरहेका छन्,’ उनले भनिन्, ‘बिरामीको मायाले बेड रेस्ट गर्न चाहिनँ ।’ कमलाका अनुसार धेरै संक्रमित स्वास्थ्यकर्मीले बिदा नबसेर बिरामीको सेवा गरिरहेका छन् । कोभिड वार्डमा खटिएकी डा. प्रतिज्ञा आचार्यको आवाज सुकेको थियो । उनी आफैंलाई ज्वरो आएको चार दिन भयो । पीसीआर जाँच गरे कोरोना हुन सक्छ । तर उनलाई आफ्नै शरीरको स्वास्थ्य जाँच गर्ने फुर्सद छैन । काठमाडौंबाट कोभिडकै लागि काम गर्न उनी स्वेच्छाले ७ महिनाअघि भेरी अस्पताल आएकी थिइन् । दिनानुदिन आईसीयूमा राख्नुपर्ने बिरामी थपिएपछि स्वास्थ्यकर्मीको जिम्मेवारी थप चुनौतीपूर्ण बन्दै गएको उनले सुनाइन् ।

स्वास्थ्यकर्मीमा निराशा

महामारी सुरु भएदेखि नै गत वर्ष कोरोना उपचारका लागि छुट्याइएका अस्पतालमा केही चिकित्सक तथा नर्सले निरन्तर काम गरिरहेका छन् । उनीहरू न आफ्नो परिवारसँग नजिक बस्न पाउँछन्, न त खुलेर हाँस्न र काम गर्न । कोरोना अस्पतालमा काम गर्दा सामाजिक रूपमा भएको हेलालाई मनमै राखेर काम गरिरहेका उनीहरू बिरामी बचाउन पाउँदा हुने खुसीमा अन्य सबै दुःख बिर्सेको बताउँछन् । खटिएकामध्ये कतिपय आफैं पनि संक्रमित भएका छन् ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा फोकल पर्सनका रूपमा कार्यरत छन् फिजिसियन डा. सुदर्शन थापा । पहिलेभन्दा अहिले काम गर्न साह्रै अप्ठ्यारो परिस्थिति रहेको उनले बताए । ‘गत वर्ष बिरामी अस्पतालमा सामान्य अवस्थामै आउने भएकाले धेरैलाई निको बनाएर घर पठाउन पाइन्थ्यो,’ उनले भने, ‘त्यही रोगका बिरामी अहिले गम्भीर अवस्थामा आउँछन्, बचाएर फर्काउन सकियोस् भन्ने मात्र मनस्थिति रहन्छ ।’ पेसादेखि भाग्न नमिल्ने भएकाले जसरी पनि उपचारको काममा खटिनुपर्ने मानसिकता बनाएर टिमले काम गरिरहेको थापाले सुनाए । अनेक उपाय लगाउँदा लगाउँदै पनि बेड अभाव, अक्सिजनको कमी, औषधिको समस्या आदिले निराशाजनक अवस्था आइरहेको उनले बताए । परिवारसँग टाढिएर काम गर्दाको भावनात्मक पीडा र बिरामीको दयनीय स्थिति दुवैले पिरोल्ने गरेको उनको भनाइ छ । उनले भने, ‘रोग रहुन्जेल समाजमा स्वास्थ्यकर्मीले बोल्न, हाँस्न र बस्न सहजै पाउने वातावरण छैन ।’ यसले मनोसामाजिक वितृष्णा बढाएको उनले बताए । मानिस तर्किने, आफन्त टाढिने र समस्या पर्दा आफूहरू नै चाहिने विषयले भने गर्व महसुस गराउने उनले बताए ।

भैरहवास्थित भीम अस्पतालमा फोकल पर्सन डा. आरिफ हुसैनले महामारीले स्वास्थ्यकर्मीका हकमा सरकारलाई गम्भीर बनाउन नसकेको बताए । बेड अभावमा कसरी उपचार गर्ने भन्ने तनावका बेला आफ्ना बिरामीलाई जसरी पनि बेड उपलब्ध गराउनूस् भनेर आउने फोनले सास्ती भइरहेको उनले सुनाए । ‘सरकारले खाजा, खाना र बास बस्ने व्यवस्था नगरिदिँदा परिवारसँग एक्सपोज हुनु परिरहेको छ,’ उनले भने, ‘यसरी जोखिममा काम गर्दासमेत सुविधा नपाएपछि मनोबल गिर्छ र मनभरि पीडा लिएर काम गर्नुपर्छ ।’ उनीसँगै ६ जना मेडिकल अधिकृत र १२ जना नर्सले काम गरिरहेका छन् । सबैको गुनासो सुन्ने गरी आफूले जिम्मेवारी लिएकाले उनीहरूकै लागि पनि आफू बलियो देखिने गरी काम गर्ने गरेको हुसैनले बताए ।

१० वर्षकी छोरीले घर कहिले आउनुहुन्छ भनेर सोध्दा के जवाफ दिने भन्ने कुरा नै मनमा खेलिरहेको कोरोना विशेष अस्पताल बुटवलकी स्टाफ नर्स इन्चार्ज शर्मिला ज्ञवालीले बताइन् । तिलोत्तमा–४ की उनी एक सातादेखि घर गएकी छैनन् । ‘बिरामी छाडेर जाने अवस्था छैन,’ उनले भनिन् । आईसीयूमा पस्नुअघि पीपीई लगाउने, साँझसम्म पानी, खाना नखाई शौचसमेत रोकेर काम गर्दा हुने समस्याको बयान शब्दमा गर्न नसकिने उनको भनाइ छ । ‘मुख सुक्दा पानी पिउन पाए हुन्थ्यो जस्तो लाग्छ,’ उनले भनिन्, ‘आँखाअगाडि ठीक देखिरहेका बिरामीको मृत्यु हुन्छ । उनीहरूको आवाज कानमा गुन्जिरहन्छ ।’

विभिन्न समस्या र जोखिमका बीच घर र अस्पताल गरिरहेका स्वास्थ्यकर्मीका लागि बस्ने र खाने व्यवस्थापन सरकारले गरिदिनुपर्ने उनले बताइन् । ‘महामारीमा काम गरिरहँदा स्वास्थ्यकर्मीलाई सबैभन्दा खट्किएको पाटो हो, भावनात्मक र सामाजिक सहयोग,’ ज्ञवालीले थपिन्, ‘३१ जना सहकर्मीलाई कोरोना कक्षमा काम गर्न हौसला प्रदान गर्न र बिरामीको ज्यान बचाउन पाएकामा खुसी बन्ने वातावरण बनाउन आफ्नो मनोभावना दबाउने गरेकी छु ।’

डा. प्रतिमा भण्डारीले एक वर्ष संक्रमितकै उपचारमा बिताइन् । त्यो क्रम अझै जारी छ । पढ्नका लागि जागिर छाड्ने तयारी थालेकी उनले बिरामी र आफन्तको आँसु देखेपछि रोकिएको सुनाइन् । ‘म र मजस्तै स्वास्थ्यकर्मीले गरेनौं भने कसले गर्ला भन्ने लागेर छाड्न सकिनँ,’ उनले भनिन्, ‘आफ्ना लागि कसैसँग गुनासो गर्ने वा सुविधा खोज्ने कुरालाई पाखा लगाएर बिरामीका लागि काम गरिरहेका छौं ।’ अहिले एक बिरामीको शव राख्न नपाउँदै अर्को खप्टाउनुपर्ने हालतले कोरोनालाई केही होइन भनेर सोच्नु ठूलो गल्ती हुने उनको भनाइ छ ।

प्रकाशित : वैशाख १३, २०७८ ०९:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×