कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपिनको तिर्खा मेट्ने ‘विवेक’

शंकर आचार्य

पर्सा — ‘सेल्फी किङ’ पछि विपिन कार्कीको नयाँ फिल्म आएको छैन । उनी यतिबेला मधेस घुमघाममा छन् । यात्रा समय बिताउनका लागि आगामी चलचित्र ‘विवेक’ को तयारीका लागि मधेसको रहनसहन नजिकबाट नियाल्न हो । दुई वर्षको ब्रेकपछि अब ‘विवेक’ बाट आफ्नो अभिनयको तिर्खा मेटिने उनी बताउँछन् । 

विपिनको तिर्खा मेट्ने ‘विवेक’

‘सेल्फी किङ पछि लकडाउन सुरु भयो, त्यसयता प्रस्तावहरू त आए तर ‘विवेक’ को कथावस्तु चित्त बुझेकाले यो स्विकारेको हुँ,’ उनले भने, ‘यसको कथाले मलाई लोभ्यायो । सेल्फी किङपछि अभिनयका लागि मेरो आत्मा तिर्खाएको छ ।’ ‘विवेक’ को छायांकन जनकपुर र वीरगन्जको सेरोफेरोमा हुने भएकाले आफू यहाँका परिवेश र फरक समुदायमा भिज्नका लागि सक्दो मिहिनेत गरिरहेको उनले बताए । ‘परिवेश र भाषागत कुरा फरक छन् तैपनि मलाई समस्या छैन,’ उनले भने, ‘गुरुकुलमा अभिनय सिक्दा कुन चरित्रमा कसरी देखा पर्नुपर्छ भन्ने सिकेको छु । मिहिनेत पनि गरिरहेको छु ।’

‘विवेक’ तराई–मधेसको कथा भए पनि आफू यसलाई मूलधारकै नेपाली चलचित्र भन्न रुचाउने कार्की बताउँछन् । ‘यो नेपाली चलचित्र हो, जसमा आवश्यकताअनुसार मैथिली र भोजपुरी संवाद पनि प्रयोग गरिएको हुनेछ,’ उनले भने, ‘राजधानीबाहेकलाई मोफसल भन्ने कुरो मलाई चित्त बुझ्दैन । वीरगन्ज, धनगढी, विराटनगर पनि नेपालै हो, जहाँबाट पनि चलचित्र बनाउन सकिन्छ र त्यो मूलधारकै हुन्छ ।’

अभिनयको मामिलामा पात्रका लागि ‘चुजी’ विपिनले ‘विवेक’ आफ्नो १५ औं चलचित्र हुने बताए । ‘छड्के’ बाट थालेको चलचित्रमा अभिनय यात्रामा उनी दर्शक माझ आफूलाई ‘पशुपति प्रसाद’ को ‘भस्मे डन’ ले नै चिनाएको बताउँछन् । ‘छड्के मेरो इन्ट्री गेट हो,’ उनले भने, ‘तर मेरो करिअरको टर्निङ प्वाइन्ट भने पशुपति प्रसादको भस्मे डन चरित्र नै हो ।’

यद्यपि भस्मे डनभन्दा आफूलाई ‘हरि’, ‘जात्रा’, ‘प्रसाद’, ‘नाका’ आदिको आफ्ना चरित्रहरू बढी मन परेको उनले बताए । प्रिन्सेस मुभिज निर्माता रहेको ‘विवेक’ को निर्देशन माधव वाग्लेले गर्न लागेका छन् । ‘लुट’ का निर्माता उनी अब निर्देशनका लागि तयार रहेको बताउँछन् ।

‘विवेक’ का लागि कलाकारहरूको अडिसन र लोकेसनको छनोटका लागि प्रदेश २ का सहरहरूमा आफू मुख्य कलाकार विपिन कार्की र लेखक लोकनाथ कोइरालासहित व्यस्त रहेको उनले बताए । ‘विवेक’ मा झन्डै ५१ कलाकार हुने र तीमध्ये विपिन कार्कीको मात्र भूमिका टुंगो भएको छ । अन्य कलाकारको छनोट अडिसनबाटै गर्ने उनले सुनाए । ४ करोड रुपैयाँ लागत रहने यो चलचित्रको छायांकन जेठबाट सुरु गर्ने योजना छ ।

प्रकाशित : वैशाख २, २०७८ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?