कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निफमा तीन नेपाली फिल्मको प्रतिस्पर्धा

काठमाडौँ — नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ २०२१ ) मा यो वर्ष  तीन नेपाली फिल्मले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा भाग लिने भएका छन् । 'लाटोकोसेरो' , 'सरिता ११ वर्ष' र 'आमा खान्डो'ले यो प्रतिस्पर्धा गर्ने भएका हुन् ।

निफमा तीन नेपाली फिल्मको प्रतिस्पर्धा

वैशाख २३ देखि २७ सम्म आयोजना हुने महोत्सवका लागि विश्वका ५२ देशबाट ४ सय ५० फिल्म प्राप्त भएको आयोजकनेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जनाए । आन्तरिक छनोट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने फिल्महरुमध्येबाट ३१ देशका ६३ लाई महोत्सवमा प्रस्तिस्पर्धाको लागि पहिले नै छनोट गरिएको थियो ।

नेपाली प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म छनोट गर्न भने बाँकी थियो । अब निफमा ६६ फिल्म देखाइने भएको छ । प्रतिस्पर्धाका लागि छनोट भएका तीन नेपाली फिल्मबाट एकले उक्त विधाअन्तर्गत उत्कृष्ट फिल्मतर्फ एक लाख नगद पुरस्कारसहितको ट्रफी, उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीले पाउनेछन् ।

‘विश्वका कथाहरुको उत्सव’भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु हुने महोत्सवमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै विधामा प्रतिस्पर्धा गराई अवार्ड पनि वितरण गरिनेछ । यो प्रतिस्पर्धा जित्ने फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ ।

यसैगरी, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउण्ट एभरेस्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु फिल्मलाई ५ सय डलर राशिको वाग्मती अवार्ड प्रदान गरिनेछ ।

प्रकाशित : वैशाख १, २०७८ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?