बाटोमा 'ओई ! भिलेन' भनेर बोलाउँछन् : प्रमोद अग्रहरि- मनोरञ्जन - कान्तिपुर समाचार

बाटोमा 'ओई ! भिलेन' भनेर बोलाउँछन् : प्रमोद अग्रहरि

'समाजमा जताततै नकारात्मकता देखिन्छ । आफ्नै घरमा हामी देख्छौं । त्यही कुरालाई फिल्ममा 'भिलेन'मार्फत देखाइन्छ । त्यसैले त फिल्मलाई समाजको ऐना र राजनीतिक वक्तव्य भन्ने गरिन्छ । '
रीना मोक्तान

काठमाडौँ — अभिनेता प्रमोद अग्रहरिले हालै १० औं नेफ्टा अवार्डको 'उत्कृष्ट नेगिटिभ' विधामा सफल्ता चुमे । यसअघि कामना अवार्डमा 'कथा काठमाडौं' बाट 'उत्कृष्ट भिलेन'को अवार्ड पनि उनले नै पाएका थिए । एउटै फिल्मबाट दुईवटा अवार्डमा प्रमोद उत्कृष्ट 'भिलेन' ठहरिए ।

तस्बिर : फेसबुकबाट

म्युजिक भिडियो हुँदै एनएसडी (नेसनल स्कुल अफ ड्रामा) सम्म पुगेका प्रमोदले १२ वटा फिल्ममा भिलेनको भूमिका निभाइसकेका छन् । 'भिलेन' चरित्रकै विषय वरपर रहेर प्रमोद अग्रहरिसँग रीना मोक्तानले गरेको कुराकानी :

तपाईंलाई 'भिलेन' बनेकै रुचाउँदा रहेछन् है ?

मेरा लागि त 'भिलेन' पनि एउटा चरित्र नै हो । मेरो काम त्यो चरित्रलाई बाँच्ने हो । मेरो लागि 'हिरो' पनि चरित्र नै हो । अफर आएको कामलाई कसरी राम्रो गरौं भन्ने हुन्छ मलाई । यो 'हिरो' हो, यसको चरित्र यस्तो हो भन्नेतिर मेरो ध्यान जाँदैन । कसरी हुन्छ आफूले पाएको चरित्रमा 'बेस्ट' दिउँ भन्ने हुन्छ । आखिरमा हरेक चरित्रबाट आफूले सिक्ने र भोग्ने त हो ।

निर्माता/निर्देशक तपाईंलाई किन भिलेनकै लागि छान्छन् ?

सायद उहाँहरुले त्यसरी नै देख्नभयो होला मलाई । कास्टिङ गर्नेहरुले पनि 'भिलेन'मै कास्ट गरिदिनुहुन्छ । सायद त्यसलाई ब्रेक गर्न नखोज्नु भएको पनि हुन सक्छ । मेरो लुक्सले गर्दा पनि मलाई यस्तो चरित्रमा लिन्छन् जस्तो लाग्छ । हेर्दा कालो छु । दाह्री, ठूल्ठूला आँखा भएकोले पनि उहाँहरू मलाई 'भिलेन'जस्तो देख्नुहुन्छ होला ।

१२ वटा फिल्ममा भिलेनकै भूमिका निभाउनुभयो । 'भिलेन'को ट्याग बोकिरहन दिक्क लाग्दैन ?

भिलेनको चरित्र एउटै भए पनि मैले हरेक फिल्ममा फरक-फरक भिलेनको भूमिका निभाएको छु । त्यसले गर्दा आफूलाई भाग्यमानी ठान्छु । भिलेन मात्रै बनेर पनि यति धेरै फरकफरक चरित्रमा भूमिका निर्वाह गर्न पाएको छु । खुसी छु । ट्याग बोक्न पनि दिक्क लाग्दैन । म एउटा कलाकार हुँ । मेरो अभिनयकै कारण मायाले ती ट्याग दिने न हुन् ।

'कथा काठमाडौं'को बेलामा कतिले इमरान हासमी भने । बाटोमा हिँड्दा कतिले 'छक्का पञ्जा'को 'बाबा मस्तमौला' भनिरहेका हुन्छन् । मलाई त्यसले खासै फरक परेन । म प्रमोद अग्रहरि हुँ र मलाई प्रमोद भएरै काम गर्न मनपर्छ । ट्याग भन्ने कुरा दर्शक र फ्यानहरुले दिने कुरा हुन् । यसको अर्थ त दर्शकले नेपाली फिल्म हेर्नुहुन्छ भन्ने कुरा पनि हो । नेपाली दर्शकले नेपाली फिल्मलाई मन पराइदिनु खुसीको कुरा हो ।

'भिलेन' बनेका मध्ये कुन भूमिका तपाईंलाई मनपर्छ ?

'जाइरा' प्रदर्शनपछि कतिले मलाई 'राजा' भनेर बोलाए । कलाकारलाई आफ्नो कामबाट सन्तुष्टि कहिल्यै हुँदैन । सन्तुष्टि भयो भने उसको अर्को यात्रा नै हुँदैन । दर्शकले मेरो कामलाई मनपराइदिनु भएको छ, म खुसी छु । मेरो काम मन नपराइदिनु भएको भए म इन्डस्ट्रीमै टिक्दिन थिएँ होला । आफूले गरिसकेको भूमिकामा अझ राम्रो गरेको भए हुने भन्ने खालको अनुभव हुन्छ सधैं । त्यो किसिमको असन्तुष्टि हुँदो रहेछ कलाकारमा ।

२ दिन अगाडि पिपुल्स प्लाजामा पुगेको थिएँ । मास्क लगाएर एलिभेटर चढेर माथि उक्लँदै गर्दा कसैले 'ओई ! भिलेन' भनेर ठूलो आवाजमा बोलायो । मलाई होइन होला भन्ने लाग्यो त्यसैले सरासर अघि बढेँ । माथिल्लो तल्ला पुगेपछि अर्को कुनाबाट 'ओई ! भिलेन' भनेर आवाज आयो । पछि फर्कँदा आवाज दिनेहरुसँग बसेर गफ पनि गरेँ । म आफूलाई लुकाएर हिँड्ने मान्छे, कसैले नचिनोस्‌जस्तो लाग्छ ।

कलाकार भएपछि त चिनिहाल्छन् नि होइन, र ?

मेरो कामबाट मलाई चिनोस् भन्ने लाग्छ ।आफ्नो अनुहार चिनाउँदै हिँड्न मन लाग्दैन । अस्ति भर्खर पेप्सीकोलाबाट फर्कँदै गर्दा रातो बत्तीमा रोकिएको थिएँ । मेरो अगाडिबाट एकजना पानी बेच्ने बालक छेउतिर गयो । पछि फेरि म नजिक आएर 'सर नमस्ते अस्ति तपाईंले अवार्ड पाउनु भयो है' भन्यो । मलाई एकदम अचम्म लाग्यो । अरे यो बालकले मैले अवार्ड पाएको कुरा कसरी थाहा पायो भन्ने लाग्यो । मनमनै खुसी थिएँ । मैले भाइसँग पानी पनि किनें । उसले मेरा सबै फिल्म हेर्ने गरेको सुनायो । मलाई मेरो कामले यसरी चिनोस् भन्ने लाग्छ ।

पर्दामा देखिरहेको भिलेनलाई वास्तविक जीवनमा भेट्दा दर्शक डराउँदैनन् ?

त्यतिसारो डराउँदैनन् । बाटोमा चिनिहाले पनि कति त बोल्न डराइरहेका हुन्छन् । फिल्ममा जस्तै डरलाग्दो नै छन् कि भन्ने सोच्दा हुन् कि । मलाई भेटेर कुरा गरेपछि पर्दामा भन्दा फरक पाउनु हुन्छ सबैले ।

अफर आएका सबै भिलेन चरित्रमा भूमिका निभाउनु भएको छ ?

छैन । कति त कथा मन नपरेर गरिनँ । म मेरो पात्रले समाजमा पार्ने प्रभाव के हो ? त्यसले दर्शकमा दिने सन्देश बुझेर मात्र फिल्म गर्न तयार हुन्छु । मैले गर्ने भिलेनको चरित्र समाजमा पनि छन् कि छैनन् ? छन् भने त्यस्ता व्यक्तिबाट सतर्क बनाउन मैले त्यो भूमिका निभाइरहेको हुन्छु । 'कथा काठमाडौं' को 'स्वरूप' र 'जाइरा'को 'राजा'को चरित्र समाजमा पनि छन् । समाजका यस्ता वास्तविक पात्रबाट बच्नुपर्छ भन्ने सन्देश दिनका लागि मैले ती भूमिका निर्वाह गरेको हुँ ।

फिल्ममा भिलेन चाहिने नै हो र ?

जहाँ राम हुन्छन् त्यहाँ रावण त हुन्छन् नै । बाँकी तपाईंले त्यसलाई कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने हो । स्वयं हामीमा पनि राक्षसी प्रवृत्ति लुकेको हुन्छ । त्यो कतिबेला कसरी निस्कन्छ भन्ने मात्र हो । सकारात्मक र नकारात्मक कुरा जहाँ पनि हुन्छ, फिल्मको कथामा पनि त्यो त आइहाल्छ नि ।

जुनसुकै क्षेत्रमा जसले नराम्रो काम गर्छ त्यो भिलेन हो । त्यो पुजारी पनि हुनसक्छ, आफ्नै बाउ हुनसक्छ । आमा पनि हुन सक्छ । तपाईंलाई भात मनपर्छ । मलाई मनपर्दैन । त्यो मेरा लागि त नकारात्मक कुरा हो । समाजमा हेर्ने हो भने त जताततै देखिन्छ नकारात्मकता । आफ्नै घरमा हामी देख्छौं । त्यही कुरालाई फिल्ममा 'भिलेन'मार्फत देखाइन्छ । त्यसैले त फिल्मलाई समाजको ऐना र राजनीतिक वक्तव्य भन्ने गरिन्छ ।

समाजका भिलेन को हुन् त ?

समाजको भिलेन सायद हामी नै हौं । हामीले हाम्रो समाज कस्तो निर्माण गर्‍यौं । हामीले हाम्रो समाज कस्तो देख्छौं भन्ने कुरा न हो । कतै बम पड्कियो भन्ने सुनिन्छ, कतै बलात्कृत भयो भन्ने सुनिन्छ । यी कुराहरु आखिर के हुन् त ? हामीभित्र नै यो स्वभाव छ नि होइन । मैले पाँच दिनदेखि खाना आएको छैन रे । एकदमै भोकाएको छु । मसँग पैसा छैन । मैले कसैको खाना चोरेर खाएँ । मैले जसको खानेकुरा चोरेर खाएँ त्यो व्यक्तिका लागि म 'भिलेन' भएँ नि त । त्यसैले हामी मानव नै समाजका भिलेन हौं ।

इन्डस्ट्रीका भिलेन नि ?

मेरा लागि इन्डस्ट्रीमा 'भिलेन' छैनन् । हामी त कसरी हुन्छ इन्डस्ट्रीलाई राम्रो बनाऔँ भन्ने हिसाबले मिलेर अघि बढ्ने हो । जहाँ १० ओटा भाँडा हुन्छ, भाँडा ठोक्किन्छ नै । इन्डस्ट्रीमा फरक सोच र विचार बोकेका मानिसहरु छन् ।

किन कलाकारलाई कलाकारको रुपमा लिइँदैन् ।'भिलेन','हिरो'को ट्याग दिनैपर्छ ?

ठीक छ । भाषा र बुझाइको कुरा हो । 'भिलेन' एउटा शीर्षक न हो ।

'भिलेन'को टाइटल कहिलेसम्म बोकी हिँड्ने हो ?

काम त बाँचुञ्जेलसम्म गर्ने हो । जो जसले जुन-जुन चरित्र दिनुहुन्छ, तबसम्म म गरिहरन्छु ।

हिरोको भूमिकामा देखिन मन लाग्दैन ?

लाग्छ नि । सायद जति पनि मेकर हुनुहुन्छ त्यसरी मलाई नदेख्नु भएको हो कि । प्रयोग गर्नै नखोज्नु भएको पनि हुनसक्छ । मलाई थाहा छ, त्यस्तो हिरोको भूमिका पनि आउँछ मलाई एकदिन ।

दयाहाङ राई र विपिन कार्कीले इन्डस्ट्रीमा लामो समयदेखि रहेको 'हिरो'को मापदण्ड तोडिदिए । तर तपाईंलाई किन अझै 'हिरो'को रुपमा लिन सकिरहेका छैनन् ?

थाहा छैन फिल्ममेकर्सले किन मलाई हिरोको रुपमा हेरिरहनु भएको छैन। सायद म तराईको भएर हो कि । या तराईको कथा नआएर हो कि ? मलाई थाहा छ दर्शकले मलाई कथित हिरो भूमिकामा देख्न पाउनुहुन्छ ।

तराईंले प्रसंग जोडिहाल्नुभयो । तराईका कलाकारलाई हाँसो र भिलेनको चरित्रमा किन देखाउँछन् ?

त्यो कथा लेख्ने लेखकको बुझाइको कुरा हो जस्तो लाग्छ । जबसम्म तपाईं समाज बुझ्नुहुन्न, तबसम्म लेखकले लेखेको कुरामा यी कुराहरु आइरहनेछन् । हाम्रा कथाहरुमा अध्ययन अनुसन्धान पुग्दैन । मलाई लाग्छ तराईको पात्रलाई हिरो बनाएको पहिलो फिल्म नै 'उमा'हो । त्यो भन्दा अगाडिको फिल्ममा तराईको पात्रलाई मजाक पात्रको रुपमा देखाइन्थ्यो ।

फिल्मले तराईका पात्रलाई भिलेन देखाउँदा त्यताका मानिस भिलेन नै हुन्छ भन्ने सन्देश जाँदैन ?

त्यस्तो कहिल्यै पनि हुँदैन । व्यक्ति राम्रो र नराम्रो त जहाँ पनि हुन्छन् नि । राम्रो व्यक्ति र नराम्रो तराईमा पनि छन्, हिमाल र पहाडमा पनि छन् । तराईका व्यक्तिलाई त्यस्तो चरित्रमा देखाउनु कथा लेख्नेको व्यक्तिगत दृष्टिकोणको कुरा हो । तराईका व्यक्तिलाई मजाक गर्नु, उडानु अधिकार कसैसँग हुँदैन । तर अहिले पनि त्यसरी नै प्रस्तुत गरिरहेको छ । सायद कमर्सियल हिसाबले हामीलाई यस्तो चरित्रमा देखाइरहनु भएको छ । फिल्म लेखकले कुनै ठाउँको कथा लेख्दैछ भने त्यहाँको माटोको सुगन्ध ल्याउन सक्नुपर्‍यो ।

छातीसम्म पुगेको दाह्री, नाकमा बुलाकी । के यो तपाईंको आगामी फिल्म 'ए फर एप्पल'को भिलेन लुक्स हो ?

फिल्मको छायांकन सकिएको छैन । मैले अहिले नै मेरो चरित्रको विषयमा खुलाउन मिल्दैन । बाँकी त तपाईंहरुको सोचाइ हो। (हाँस्दै)

प्रकाशित : चैत्र १८, २०७७ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्

'बम्बे बेगम्स' समीक्षा : बलिउडलाई एक महिला निर्देशकको पत्र

रीना मोक्तान

'संसारका लाखौं महिलाले झैं मैले पनि यौन दुर्व्यवहारको सामना गरेकी छु । मेरो गुरु प्रद्यूमन जाम्वालले धेरैपटक मेरो यौन शोषण गरे । तर म चुप बसें । त्यतिबेला मैले त्यही जानेकी थिएँ । अब हामी महिलाहरु मिलेर एकसाथ यौन दुर्व्यवहारविरुद्ध आवाज उठाउनुपर्छ । र यौन दुर्व्यवारलाई 'नो' भन्नुपर्छ ।' 

नेटफ्लिक्सले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मार्च ८ मा रिलिज गरेको ६ भागको सिरिज 'बम्बे बेगम्स'को अन्त्यतिरको दृश्य हो यो । तर, कथा र विषयको हिसाबले सुरुवात ।

कथावाचन गर्ने माध्यममा वाचकको प्राय: ध्येय आफ्नो कुरा सावित गर्नु वा स्रोता/दर्शकलाई आफ्नो कथामा विश्वस्त बनाउने हुन्छ । त्यही एक लाइनको कुरा भन्नका लागि कथा र पटकथाको सम्पूर्ण संरचना तयार पारिएको हुन्छ । बम्बे बेगम्सको त्यो एक लाइन हो- 'यौन हिंसा र कार्यस्थलमा हुने यौन हिंसाविरुद्ध जसले जतिखेर जहाँ जसरी बोले पनि हुन्छ, त्यसका लागि हरेक समय उपयुक्त समय हो । अहिले हिंसामा परेकाले अहिल्यै बोल, पहिले भोगेकाले पनि अब बोल । यस विषयमा मौन बस्नु भनेको पीडककै मनोबल बढाउनु हो ।'

यो कुरा भन्नका लागि निर्देशक अलंकृता श्रीवास्तवले ५ जना महिलाको कथा बुनेकी छन् । यी भिन्न उमेर र सम्बन्धमा रहेका महिला छन् । यिनको उमेर र सोच फरक छ । समाजमा यिनको ओहदा र दर्जा फरक छ । तर, यी सबैले भोगेको र देखेको समाज भने एउटै छ । प्रगति पथमा लम्किन खोज्न यी महिलाले भोग्ने बाधाहरु एउटै किसिमका छन्, खालि बाधा खडा गर्ने पात्रको वर्ग फरक छ ।

माथि उल्लेख गरिएको संवाद रोयल बैंककी सिइओ रानीले बोलेकी हुन् । मुम्बई सहरको एक कमर्सियल बैंककी प्रमुख कार्यकारी अधिकृत भनेको हालको पुँजी र शक्ति संरचनामा उपल्लो स्तरमा पर्ने पद हो । यो धेरै अर्थमा शक्तिशाली पद हो । जति धेरै शक्तिशाली पद, त्यति धेरै आकर्षण । चुम्बकले फलाम तान्छ । तर यसले सधैं सिक्का मात्रै तान्छ भन्ने ग्यारेन्टी छैन, तिखा काटी र किला पनि यसले तान्छ । कर्पोरेट दुनियाँमा शक्तिशाली पदले त्यस्तै चुम्बकीय शक्ति बोकेको हुन्छ । रानीको वरिपरिमात्रै किला र काँटी छैनन् उनले त्यस्ता किला ठोकिएको लामो बाटोमा यात्रा गरेर आएकी छन् । त्यसैले उनी भित्र जत्रोसुकै आँधी चले पनि बाहिर शान्त देखिन्छिन् ।

रानी बैंककी सिइओमात्र होइनन् । उनका अन्य परिचय र नाता पनि छन्- उनी साई र जुराभरकी कान्छी आमा हुन् । नौसादकी पत्नी पनि हुन् । अन्य सिइओलाई जस्तो बैंकमा सफल भएर मात्र उनको जीवन सफल हुँदैन । उनी पूर्णरुपमा सफल हुनलाई पत्नी र आमाका रुपमा पनि सफल हुनुपर्ने मान्यता समाजले बोकेको छ । यो सिरिजले यही मान्यतामाथि प्रश्न उठाउँछ । तर, अन्तिमतिर रानीलाई आमा र पत्नीका रुपमा सफल भएको देखाएर फेरि त्यही मान्यताको समर्थन पनि गर्छ । रानीको परपुरुषसँग सम्बन्ध छ, त्यो पनि कमर्सियल बैंकलाई नियमन गर्ने सरकारी बैंकको गभर्नरसँग । रानीको पतिले यसमा आपत्ति त जनाउँदैन तर रानीलाई आफ्नी पत्नीको रुपमा पनि भावनात्मक रुपमा स्वीकार गर्दैन । उसका सन्तानले पनि रानीलाई आमाका रुपमा स्वीकार गर्दैनन् । अन्त्यसम्ममा केके घटनाक्रमको विकास हुन्छ र त्यो तिरस्कार स्वीकार्यतामा बदलिन्छ भन्ने 'बम्बे बेगम्स'को एउटा कथा हो ।

पाँचजना पात्रका पाँच फरक कथा यसमा छन् । तर, ती सबैलाई आपसमा जोडिएको छ । केही पात्र छन् जसको कहिल्यै भेट हुँदैन तर भावनात्मक रुपमा तिनको सम्बन्ध स्थापित हुन्छ ।

रानीकै बैंकमा काम गर्ने अर्की पात्र छ- फातिमा । फातिमा र उसको पति अरिजय सन्तान जन्माउने योजनामा छन् । सन्तान जन्माउने योजनाबीच नै फातिमाले नसोचेको पद पाउँछे । अब उसका अघिल्तिर सन्तान कि करिअर भन्ने प्रश्न आइपुग्छ, जो सामान्यत र मध्यम र निम्न मध्यम वर्गका सबैजसो कामकाजी महिलाले भोग्ने गरेका छन् । यो प्रमोसन लिँदा उसको दर्जा त्यही बैंकमा काम गर्ने आफ्नो पतिभन्दा उच्च हुनेछ । यसले पतिको 'मेल इगो' जगाउने पक्का छ । यो असमञ्जसबाट सुरु हुने परिवारको तनाव कुन हदसम्म बढ्छ र यसको निकास के निस्किन्छ त्यो सिरिजको अर्को कथा हो ।

बैंकमा काम गर्ने अर्की पात्र छिन्- आइसा । ईन्दोरबाट मुम्बई आएर संघर्षरत आइसा रानीजस्तै एक दिन बैंकको सिइओ हुने सपना बुन्छिन् । एक्लै भएकै कारण घरबेटीले उनलाई कोठामा बस्न दिँदैन । उनी बास खोज्दै कहिले आफ्नो पूर्वप्रेमी त कहिले बैंककै सहकर्मीको घरमा भौंतारिन्छिन् । आइसाको यो विवशताको फाइदा ककसले उठाउन खोज्छन् र उनलाई कसरी हिंसाको सिकार बनाउँछन् त्यो अर्को कथा हो । साथमा आइसाको समस्या के छ भने यो पात्र आफ्नो यौनिकतालाई लिएर पनि संशयमा छ । सिरिजको अर्को कथा हो रानीकी सौतेनी छोरी साइको, जो किशोरावस्था र विपरीत लिंगीप्रतिको आकर्षणको पहिलो तरंगमा तैरिइरहेकी छन् ।

सिरिजको अर्को मुख्य कथा छ- लीलीको । लीलीको कथा महत्वपूर्ण किन पनि छ भने प्राय: सबै पात्रलाई जोड्ने काम लीलीले नै गर्छिन् । कुनैबेला डान्सबारका अँध्यारोमा काम गरेकी (देह व्यापारसमेत) लीली आफ्नो छोराका लागि उज्ज्वल भविष्यको खोजीमा छन् ।

सिरिजका केही पात्र र घटना अर्कै समाजका जस्ता लाग्छन्, खासगरी कर्पोरेट दुनियाँको खुला र उदार यौन सम्बन्धका प्रसंगहरु । कतिपय प्रसंगहरु हाम्रै वरिपरिका जस्ता छन् । आफ्नो शरीरमाथिको नियन्त्रण र निर्णयहरुमा अधिकारका लागि महिलाहरुले संघर्ष गर्दै आइरहेका छन् । पितृसत्ताले गाँजेको समाजमा महिलालाई एक स्वतन्त्र अस्तित्व र व्यक्तिका रुपमा लिइएको पाइँदैन । महिलाहरुले यही मान्यताका विरुद्ध आन्दोलन गरिररहेका छन् । 'बम्बे बेगम्स'ले एक हदसम्म यो आन्दोलनको सान्दर्भिकता झन् प्रष्ट्याउँछ ।

यसका साथै दुर्व्यवहार र शोषणमा परेका महिलाले यौन दुर्व्यवहारकै कारण कति शारीरिक र मानसिक पीडा भोग्छन् भन्ने पनि देखाउँछ । यो कुरा आइसामार्फत् निर्देशकले देखाएकी छन् । एक दिन घर पुर्‌याइदिने क्रममा आइसालाई सिनियरले यौन शोषण गर्छ । जसकारण उर्जाशील आइसा कसरी विस्तारै ओइलाउँदै जान्छिन्, त्यो पनि सिरिजले देखाउँछ ।

आइसा दुर्व्यवहारबारे तत्कालै बोल्न सक्दिनन् । अधिकांश यौन दुर्व्यवहारबारे बोल्ने महिलाहरुमाथि उठ्ने प्रश्न नै यही हुन्छ- किन त्यही बेला बोलेनौ ? भर्खरै करियरको सुरुवात गरेकी एक महिलाले दुर्व्यवहारबारे बोल्दा आफ्नो काम नै गुमाउने अवस्था हुन्छ । यौन दुर्व्यवहारको पीडाले पनि कतिजना बोल्न सकिरहेका हुँदैनन् । र, शक्तिशालीहरुले बोल्नेलाई झन् दुख दिने, उजुरी नै दबाइदिने पनि गर्छन् भन्ने पनि सिरिजले देखाउँछ ।

दुर्व्यवहारबारे महिलाले आफ्नो प्रतिष्ठा, करियर नै दाउमा राखेर बोल्दासमेत उनीमाथि प्रश्नहरु उठाइन्छ । उनीहरुलाई गलत देखाइन्छ । आइसाले आफूमाथि भएको दुर्व्यवहारबारे बोल्दा फातिमाले उल्टै विवाहेत्तर सम्बन्धको दृष्टिकोणले हेर्छिन् । रानी आफैं महिला भएर पनि उक्त विषयलाई भित्र-भित्रै मिलाउन खोज्छिन् । रानी र फातिमा 'मिटू' अभियान चर्किँदा पीडितहरुका आवाजलाई नसुदिने समाजकै पात्र हुन् । यौन दुर्व्यवहारबारे आवाज उठाउँदा धेरैले पीडितको आवाज बन्द गरिदिने प्रयास गर्छन् । केही समयअगाडि नेपालमा पनि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीले शाहले आफूमाथि यौन दुर्व्यवहार भएको आवाज उठाउँदा धेरैले उनलाई 'चरित्रहीन' सावित गर्न खोजे । लामो समयपछि दुर्व्यवहारबारे बोल्दा उनको आवाजलाई कमजोर बनाउने प्रयास भए । समाजमा स्थापित व्यक्तिलाई त यो मुद्दा स्थापित गर्न यति गाह्रो छ भने संघर्षरतलाई कति गाह्रो होला ?

'बम्बे बेगम्स'ले यौन दुर्व्यवहारमा परेका महिलालाई बोल्न प्रेरित गर्छ । यसअघि 'लिपिस्टिक अन्डर माइ बुर्खा' बनाएर प्रशंसा कमाएकी अलंकृताले यसमा पनि उम्दा काम गरेकी छन् । यो सिरिजको अर्को विशेषता कलाकार र उनीहरुको अभिनय हो । यसमा खासगरि तीनजना कलाकारको अभिनय तारिफयोग्य छ । रानीको भूमिकामा पूजा भट्ट, फातिमाको भूमिकामा देखिएकी सहाना गोस्वामी र लीलीको भूमिकामा देखिएकी अम्रुता सुवास । यी तीन अभिनेत्रीले अन्य कलाकारसँग मिलेर यो सिरिजलाई महत्वपूर्ण बनाइदिएका छन् ।

सिरिजको अर्को विशेषता के हो भने यसले सावित गरेको छ एउटा राम्रो र प्रभावकारी फिल्म बनाउनका लागि ठूला स्टार चाहिँदैन । हिरोको भरमा फिल्म चल्छ भन्ने उद्योगमा अलंकृताले बताएकी छन्- महिलाका कथामा पुरुष सहायक हुँदा पनि कथाको स्वाद खराब हुँदैन । र, कमसेकम उनले आफूले सृजना गरेको फिल्मको संसारमा चाहिँ महिलालाई मूख्य भूमिकामा राखेकी छन् । यो पनि बलिउडजस्तो उद्योगका लागि एउटा शिक्षा हो, उनको सन्देश हो- फिल्मलाई मानिसका भोगाइका कथा र तिनलाई व्यक्त गर्ने कलाले सुन्दर बनाउँछ, न कि कुनै खान वा कपुर हिरोको उपस्थितिले । यसलाई एक महिला निर्देशकको बलिउडलाई पत्र पनि भन्न सकिन्छ, जसले समाजमा महिलाको अवस्थामात्र भन्दैन महिलालाई 'सो पिस' ठान्ने बलिउडलाई महिला पात्र कसरी निर्माण गर्नुपर्छ र तीनलाई कसरी प्रस्तुत गर्नुपर्छ भन्नेमा पनि एउटा सानो शिक्षा दिन्छ !

प्रकाशित : चैत्र १३, २०७७ १९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×