हलमा अझै ५० प्रतिशतमात्र अकुपेन्सी नियम, फिल्म रिलिज गर्न हच्किए निर्माता - मनोरञ्जन - कान्तिपुर समाचार

हलमा अझै ५० प्रतिशतमात्र अकुपेन्सी नियम, फिल्म रिलिज गर्न हच्किए निर्माता 

रीना मोक्तान

काठमाडौँ — ठूला ब्यानरका हिन्दी फिल्मको प्रदर्शनसँगै नेपाली फिल्म हलमा दर्शकको चहलपहल बढेको छ । कोरोना महामारीले बन्द हल गत पुस १० देखि खुले पनि दर्शकको उपस्थिति खासै थिएन । सरकारको निर्देशनबिना नेपाल चलचित्र संघले हल खोल्ने स्वघोषणा गरेसँगै हलमा पूरानो नेपाली फिल्म प्रदर्शन गरिएका थिए । तर, यी फिल्मले दर्शकलाई हलसम्म तान्न सकेका थिएनन् । 

यसबीच नयाँ नेपाली फिल्म 'एउटा यस्तो प्रेम कहानी' र 'गोर्खे' प्रदर्शनमा आए । यी दुवै फिल्मले उत्साहजनक व्यापार गर्न नसकेको हलवाला बताउँछन् । अहिले बलिउड फिल्महरुले हल लक्षित गरेर धमाधम प्रदर्शन मिति तोक्न थालेसँगै हल सञ्चालक उत्साहित बनेका छन् । यसअघि अधिकांश फिल्म कोभिडका कारण पछाडि धकेलिए थिए भने कतिले डिजिटल प्लेटफर्म रोजे ।

पछिल्लो समय हलमा प्रदर्शनमा आएको 'रुही'ले दर्शकको उपस्थिति बढाएको बताउँछन् क्युएफएक्सका कार्यकारी निर्देशक रोशन अडिगा । 'गएको शिवरात्रीदेखि दर्शकको उपस्थिति बढेको छ । रुहीले राम्रो गरिरहेको छ अहिले । अरु फिल्मको औसत नै छ,'अडिगाले भने ।

वान सिनेमाजका म्यानेजर उमेशराज गिरी भन्छन्, 'रुहीले दर्शक तानेको छ । त्योभन्दा अगाडि त ठप्प नै थियो । त्यसअघि त दिनमै १०/१२ जना हुन्थे । अहिले एउटा सोमा ३०/४० जना हुन थालेको छ ।'

राजकुमार राव र जाहन्वी कपुरले अभिनय गरेको 'रुही'को ओपनिङ व्यापारले बलिउडलाई सामान्य अवस्थामा डोर्याेएको भन्दै विश्लेषण पनि भएको थियो ।'रुही' पछि जोन अब्राहमको 'मुम्बई सागा' हलमा प्रदर्शनमा आयो । बलिउडले हल लक्षित गरेर लगातार फिल्महरुको प्रदर्शन मिति सार्वजनिक गरे पनि नेपालमा अझै त्यस्तो अवस्था सिर्जना हुन सकेको देखिँदैन।

हलमा अझै ५० प्रतिशत दर्शक अकुपेन्सी राख्ने मापदण्ड कायम रहेका कारण निर्माताहरुले फिल्म प्रदर्शन गर्न नचाहकेको हल संचालक बताउँछन् । 'सरकारले हलको ५० प्रतिशत अकुपेन्सीलाई लिएर केही गरेकै छैन । भारतमा त सय प्रतिशत नै बनाइसकेको छ । नेपालमा त्यो कायम भएकाले पनि वितरकले फिल्म दिइरहनु भएको छैन,' क्यूएफएक्सका अडिगा भन्छन्, 'सय प्रतिशत बनाइसकेपछि त फिल्म आइहाल्छन् नि ।'

उनी सरकारले हलमा तोकेको यो मापदण्ड हटाउनु पर्ने बताउँछन् । वान सिनेमाजका उमेशको माग पनि उस्तै छ । 'नेपाली फिल्मका निर्मातामा हलमा अझै दर्शक आउनुहुन्न भन्ने विश्वास छ । त्यसैले पनि फिल्म हलमा लगाइरहनु भएको छैन। त्यहीमाथि ५० प्रतिशत अकुपेन्सी छ । सायद नेपाली फिल्महरु ठूलो फिल्मको व्यापार हेरेरै मात्र आफ्नो फिल्म लगाउनु हुन्छ होला,'उमेशले भने, 'अब हाम्रो हलमा पनि सय प्रतिशत दर्शक अकुपेन्सी बनाउन दिनु पर्यो ।'

नेपाल चलचित्र संघका अध्यक्ष मदुसुधन प्रधान यातायात, रेष्टूरेन्टमा यस किसिमको अकुपेन्सी नतोकिए पनि हलमा अझै ५० कायमै रहेको गुनासो सुनाउँछन् । 'खासमा अहिले नयाँ नेपाली फिल्म हलमा नचलाउनुको खास कारण ५० प्रतिशत अकुपेन्सी नै हो । हुन पनि लगानीको सुरक्षाको हिसाबले त निर्माता जोखिम मोल्न कसरी तयार हुनु, 'उनले भने, 'यस्तो अकुपेन्सीको कुरा कुनै पनि होटल रेष्टुरेन्ट, पर्यटन र विद्यालयमा छैन । गाडी खचाखच छ । हामीकहाँ मात्र ५० प्रतिशतको कुरा छ । यो ५० प्रतिशत अकुपेन्सीको कुरा हट्नैपर्छ ।'

हालै आफूले विकास बोर्डमार्फत् हलको सय प्रतिशत अकुपेन्सी बनाउन पहल गरिसकेको बताउँछन् प्रधान । 'संघले मन्त्रालयमा पत्राचार पठाइसकेका छौं । आश्वासन पनि पाएका छौं । अब नतिजा चाँडै आउँछ,' उनले भने ।

५० प्रतिशत अकुपेन्सीबीच पनि केही नेपाली फिल्म हलमा प्रदर्शनमा आउने तयारीमा छन् । सौगात मल्ल अभिनित 'लप्पन छप्पन २' र पुष्प खड्काको 'कृष्ण लीला' आगामी चैत्र २७ मा प्रदर्शनमा आउने घोषणा भइसकेका छन् ।

'हुन त फेरि लकडाउन हुने हल्ला छ । तैपनि हामी ५० प्रतिशतमै फिल्म देखाउन तयार छौं । तर खोइ अब यस्तै हल्लाले अलमलमा पारेको छ । अहिलेसम्म त फिल्म प्रदर्शन गर्ने नै हाम्रो जमर्को हो,' कृष्णलीलाका निर्देशक दीपक ओलीले बताए ।

कोभिडअघि नै प्रदर्शनमा आउनुपर्ने फिल्मका निर्माताहरु अझै फिल्म रिलिज गर्न तयार छैनन् । हलमा दर्शक नभएकै कारण 'चपली हाइट ३'को प्रदर्शन तोक्न सकिरहेका छैनन् निर्माता अर्जुन कुमार । 'खोइ त दर्शक । हलमा दर्शक नै छैनन् । हलमा दर्शक आउन थालेपछि मात्र फिल्म प्रदर्शन गर्नेबारे सोचौंला,' उनले भने ।

निर्माता सन्तोष सेनको ध्यान भने प्रदर्शनतिर गइसकेको छैन । स्वर्गीय निर्देशक छेतेन गुरुङसँग मिलेर सेनले निर्देशन गरेको फिल्म 'प्रेमगीत ३'को प्रदर्शन कोभिडकै कारण पछाडि धकेलिएको थियो । 'अहिले म फिल्मको पोस्ट प्रोडक्सनको काम सक्न मुम्बई आएको छु । फिल्मको काम लगभग दुई हप्तामा सकिन्छ । सायद दसैं नजिकतिर फिल्म प्रदर्शन गर्छु होला,' सेनले भने ।

प्रकाशित : चैत्र ११, २०७७ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्

नारायणहिटीभित्रको हलमा सर्वसाधारणले डकुमेन्ट्री हेर्न पाउने

उक्त हलमा पूर्वराजा ज्ञानेन्द्रले 'स्पाइडरम्यान' र 'देवदास' हेरेका थिए
रीना मोक्तान

काठमाडौँ — हलभित्र फिल्म चलिरहेको थियो । अगाडिको पंक्तिमा थिए रानीका धाई, सुसारे, राजाका अर्दली । अर्को पंक्तिमा अटाएका थिए राजारानीका निजी कर्मचारी । बीचको आरामदायी सोफामा राजारानी, राजपरिवार । पछाडिका पंक्तिमा एडीसी(अंगरक्षक) ।

पर्दा छेउको सानो कोठा(टि-रुम) मा चियाको थर्मस राखेर कुर्सी छामछुम गर्दै वैदार बुद्धिबहादुर गुरुङ पछाडिको पंक्तितिर लागे । अँध्यारोमा कुर्सी खोज्दै जाँदा हातले 'सिनियर एडिसी'को तिघ्रा थपथपाउँदा बेस्सरी गाली सुन्नु परेको त्यो क्षण अझै सम्झन्छन् बुद्धिबहादुर ।

नारायणहिटी दरबारभित्रको हलमा पहिलो पटक सेवा पुर्‍याउँदा उनी १८ वर्षका थिए । २०४४ मा राजपरिवारको सेवामा खटिएका उनीसँग हलसँग जोडिएका थुप्रै यादहरु छन् । कुन फिल्म चलिरहेको थियो, खासै सम्झना छैन । अहिले त सम्झँदा हासो लाग्छ । 'तर त्यो बेला त एकदमै डर लागेको थियो,' बुद्धि हलभित्रको अनुभव सुनाउँछन् ।

२०४४ मा आईए उत्तिर्ण हुनासाथ दरबारमा नियुक्ती भएपछि बुद्धिले राजपरिवारको निकटमा रहेर सेवा पुर्‍याए । वैदार भएर दरबार प्रवेश गरेका बुद्धि अहिले नारायणहिटी दरबार संग्रालयका शाखा अधिकृत/सूचना अधिकृत हुन् । नारायणहिटी दरबार संग्रालयका शाखा अधिकृत बुद्धि गुरुङ । तस्बिरः दीपेन्द्र रोका/कान्तिपुर

दरबारको डिजाइन हुँदै यो हलको खाका कोरिएको थियो । 'प्यूठान' कोठामा पर्ने यो हल २०२६ देखि सञ्चालनमा आएको बताइन्छ । दरबार प्रवेश गरेको केही समय पश्चात नै बुद्धिले हलभित्र चिया, सिगार, तातो पानी दिने जिम्मेवारी पाए । उनका अनुसार महिनाको अन्तिम शुक्रबार राजपरिवारले फिल्म हेर्ने गर्थ्यो । 'काठमाडौं उपत्यकामा चलिरहेको चर्चित हिन्दी/नेपाली/अंग्रेजी फिल्म शुक्रबार बेलुकी यहाँ हेरिन्थ्यो,' धुलाम्मे हल देखाउँदै बुद्धिले भने ।

राजाले 'फिल्म हेरौं न' भनिसकेपछि शुक्रबार बिहानै कर्मचारीहरु 'प्यूठान' कोठा पुग्थे । प्रोजेक्सन कोठामा मेसिन जाँच गर्थे । रिलको जाँचदेखि जेनेरेटर व्यवस्थापन गरिदिएर फिल्म प्रदर्शनको लागि तयारी अवस्थामा बस्थे ।

त्यतिबेला जय नेपाल, कुमारी, विश्वज्योति, अशोक सिनेमा हल, भक्तपुरमा नवदुर्गा हल मात्र थियो । फिल्म हलमा देखाइसकेको पहिलो रिल प्यूठानमा प्रदर्शन हुँदा हलमा दोस्रो चलिरहेको हुन्थ्यो । पहिलो भाग सकिने बित्तिकै कर्मचारी दोस्रो रिल ल्याउन दौडधुप गर्थे । '९ बजेको सो ६ बजे सुरु भइसकेको हुन्थ्यो । त्यही ६ देखि ७ बजेको रिल कर्मचारीले ल्याएपछि यहाँ राजपरिवारले फिल्म हेर्थे,' बुद्धि सम्झिन्छन्,'त्यसपछि त्यो पुर्‍याएर उता प्रदर्शन भइसकेको दोस्रो रिल लिन कर्मचारी भागिहाल्थे ।'

एक सय १६ दर्शक क्षमता भएको हल तीनताका हाउसफूल नै हुने गर्थ्यो । राजपरिवारले नेपाली जुनसुकै फिल्म हेरे पनि बलिउड र हलिउड भने बजारमा चलेकै हेर्ने गरेको उनी सुनाउँछन् । राजा वीरेन्द्रले २०५८ सालअघि प्रदर्शनमा आएका अधिकांश नेपाली फिल्म हेरेको उनी बताउँछन् । 'फिल्म हेर्ने भनेपछि राजपरिवारका अन्य सदस्यलाई पनि बोलाइन्थ्यो, सोफामा नअटेका भतिज, भतिजीहरु पछिल्लो पंक्तिमा बस्थे,' उनले भने,'मैले उहाँकै समयमा धेरै सेवा गर्ने मौका पाएँ। त्यसैले उहाँले नेपाली फिल्महरु हेर्नुभएको मलाई थाहा छ ।'

फिल्मको मध्यान्तरमा चियाको समय हुन्थ्यो । फिल्म हेरिसकेपछि सबैजना त्रिभुवन सदनमा राजपरिवारको पारिवारिक भेटघाट हुन्थ्यो । उनीहरुले त्यहीँ डिनर(ककटेल पार्टी) गर्थे । सुरुवातका दिनमा हलभित्र राजपरिवारसँग फिल्म हेर्दै दंग परेका गुरुङलाई पछिदेखि भने त्यहाँ सेवा पुर्‍याउन दिक्क लाग्न थालेछ । डिनर कार्यक्रममा वैदारले अबेररातसम्म सेवा पुर्‍याउनु पर्थ्यो ।

राजा वीरेन्द्रसँग २०५७ मा 'भानुभक्त' फिल्म हेरेका उनले अन्तिमपटक राजा ज्ञानेन्द्रसँग 'स्पाइडरम्यान' र 'देवदास' हेरेका थिए । टेलिभिजनको विकाससँगै विस्तारै यो हलको महत्व घटेको उनको भनाइ छ । यो हल दरबार हत्याकाण्डपछि बन्द भयो । त्यसयता २०५९ मा सचिवहरुले दीपेन्द्र, श्रुति र निराजनको अन्नप्राशनको डकुमेन्ट्री हेरेका थिए । २०६२ देखि २०६५ को बीचमा ज्ञानेन्द्रले दुई फिल्म हेरेका थिए । 'उहाँहरुले ह्रदयन्द्रको अन्नप्राशनका विधि हेर्न एकपटक डकुमेन्ट्री हेरेका थिएँ,' उनले बताए । पूर्वयुवराज पारसले २०६२ मा हलको डकुमेन्ट्री जाँच गरेको रेकर्ड संग्रहालयमा छ । त्यसयता यो हल पूर्ण रुपले बन्द अवस्थामा छ ।

१६ वर्षपछि ब्युतिँदै हल

राजपरिवारले मात्र हेर्न पाउने यो हल अब सर्वासाधरणका लागि खुला हुँदैछ । दर्शकलाई राजपरिवारसँग सम्बन्धित विविध डकुमेन्ट्री देखाउने उद्देश्यले यो हल खोल्ने तयारी सुरु भएको हो । 'संरक्षणको हिसाबले खोल्ने निर्णय गरेका हौं । यहाँ भएका कुराहरु दर्शकलाई देखाउने संग्रहालयको दायित्व र कर्तव्य हो । अतिआवश्यक भएरै खोल्ने तयारीमा लागेका हौं,' संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाल बताउँछन् । यसअघि हलमा अनावश्यक सामग्री राखिँदै थन्काइँदै आएको थियो । हल खोल्ने निर्णयसँगै हलको मर्मत सम्भार कार्य सुरु भइसकेको छ ।

भरतप्रसाद नेपाल

१६ वर्षदेखि बन्द यो हल पुग्दा प्रोजेक्सन कोठामा भरतप्रसाद नेपाल रिलको प्रोसेसिङमा व्यस्त देखिन्थे । कोठाका भित्तामा खिया लागेका, चुँडिएका पुराना रिलका क्यान भरिभराउ थिए । सिनकियो नामक पुरानो जापानिज प्रोजेक्टर एक्लै उभिएको थियो । हलभित्रका कुर्सी धुलाम्मे थिए । तत्कालीन महाराजधिराज, बडामहारानी, अधिराजकुमार, युवराजहरु बस्ने सोफालाई सेतो कपडाले छोपिएको थियो । सोफाका बीच-बीचमा स्ट्रे । सिगार बक्समा चुरोटका ठुट्टा । छेउको टि-रुमा कुर्सीहरु यत्रतत्र छरिएका अवस्थामा थिए । सेतो रङ्गको पर्दा धूलोले पहेँलै देखिन्थ्यो ।

हलको यस्तो अवस्था देख्दा गुरङको मन दुख्छ । ३४ वर्षदेखि दरबारसँग जोडिएका उनलाई हल मात्र होइन नष्ट हुन लागेका धेरै कुराले निमोठ्छ । सरसफाईको काम सुरु हुनअघि प्रोजेक्सन कोठामा केमिकल पोखिएर पाइला टेक्ने ठाउँ नै थिएन । अहिले नै मर्मत सभ्मार नगरिएको भए हल पूर्णरुपले नष्ट हुन्थ्यो भन्ने शंका थियो उनलाई । 'भेषनारायण सरले ठिक समयमा यसको संरक्षण गर्ने पहल गर्नुभयो,' उनले भने, 'उहाँ आउनु भएपछि श्री सदन खोल्ने मिसन सुरु गर्‍यौं । नष्ट हुन लागेका कुराहरुको संरक्षण गर्ने क्रममा नै हल खोल्ने निर्णय भएको हो ।'

नारयणहिटी दरबार संग्रहालयका प्रमुख दाहालका अनुसार हलमा राजाको राज्यरोहण, राज्यभिषेक, छोराछोरीहरुका अन्न प्रासन, व्रतबन्ध, विवाह र राजाको स्वदेश तथा विदेश भ्रमणका डकुमेन्ट्री छन् । रिलको प्रोसेसिङ सकिएपछि संग्रहालय अवलोकन गर्न आएका दर्शकलाई हलमा डकुमेन्ट्री देखाउने उद्देश्य रहेको उनले बताए ।

तर त्यतिबेलाको प्रविधि जान्ने प्राविधिक नभेटिदा हल खुल्‍न अझै केही समय लाग्‍ने देखिन्छ । उक्त प्रविधि चलाउन जान्ने प्राविधिकको खोजीका क्रममा नै भरतप्रसाद उनीहरुको सम्पर्कमा आए । लामो समय चलचित्र संस्थानमा काम गरेका उनी अहिले यी नै डकुमेन्ट्री रिलको प्रोसेसिङ गर्दैछन् । 'अहिले रिलको सरसफाई गर्दैछु । ढुसी परेका रिलको सफाई सकिएपछि कुन-कुन चल्ने अवस्थामा छन् यकिन हुन्छ,' उनले भने, 'अहिले नै कुन चल्छ चल्दैन भन्ने थाहा हुँदैन ।'

भेषनारायण 'किटान गरेरै यही डकुमेन्ट्री देखाउँछौं' भन्न सक्ने अवस्था नरहेको बताउँछन् । भरतप्रसादका अनुसार प्रोजेक्टर भने बिग्रिएको छैन । 'जापानिज मेसिन त्यति बिग्रेको हुँदैन । ट्रान्सफर्मर ल्याएपछि प्रोजेक्टर चल्छ, ' उनले सुनाए । हाल उनी रिल, क्यान सफा गर्ने काममा व्यस्त छन् । त्यहाँ भएका सय भन्दा बढी रिललाई हावामा निकाल्ने र सफा गरेपछि चल्ने अवस्थामा छन् कि छैनन् भन्ने हेर्नेछन् । 'हामीले त सकेसम्म चलाउन मिल्ने अवस्थामा ल्याउने प्रयास मात्र गर्न सक्ने हो,' उनले भने । उनका अनुसार अहिलेसम्म सफा गरेका १६ वटा रिलमध्ये सबै प्रयोगमा आउने अवस्थामा छन् ।

रिल, मेसिन, हलभित्रको बिजुलीको काम सकेसम्म चाँडो सकेर हल खोल्ने तयारी छ । 'प्रोसेसिङको काम सम्पन्न भएपछि चाँडै नै त्यो डकुमेन्ट्री देखाउँछौं । अहिले त रिलको ढुसी सफा गर्ने काम भइरहेको छ,' दाहालले भने,'प्रोसेसिङ काम सकियो भने हल चाँडै नै खुल्छ । प्रोसेसिङको प्रविधि नेपालमा भेटिएन भने अलिकति समय लाग्न सक्छ । तर हामी उक्त हलमा अवश्य नै डकुमेन्ट्री देखाउँछौं ।'

मिलेसम्म रिलको डिजिटाइजेसन गरेर डकुमेन्ट्रीमा देखाउने सोच छ उनको । पूरानो प्रविधि हेर्नकै लागि पनि दर्शकहरु हलसम्म आउनेमा उनी आशावादी छन् । 'रिल राखेर फिल्म हेर्न दर्शक पक्कै आउनुहुन्छ,' उनले भने ।

उनी २०७८ भित्रमा दर्शकले यो हलभित्र डकुमेन्ट्री हेर्न पाउने बताउँछन् । 'हामी दैनिक एउटा डकुमेन्ट्री देखाउनेछौं,' उनले भने, 'अहिले नै हल खोल्ने मिति तोकिहाल्दैनौं तर २०७८ भित्र संग्रहालय अवलोकन गर्न आउने दर्शकहरुले यहाँ डकुमेन्ट्री फिल्म अवश्य हेर्न पाउनुहुन्छ ।'

संग्रहालय हेर्ने टिकटमै डकुमेन्ट्री हेर्न मिल्ने व्यवस्था मिलाउने तयारी रहेको उनले बताए । बुद्धिलाई पनि हल खोल्ने हतारो रहेछ । वैदार भएर हलभित्र प्रवेश गर्दा र अहिले शाखा अधिकृत भएर डकुमेन्ट्री हेर्नुको मज्जाले उनलाई काउकुती लगाउँछ । 'त्यतिबेला अनुशासनमा बस्नुपर्थ्यो । सानो आवाजमा खोक्नु पर्थ्यो । सासले बोल्नु पर्‍यो,' बुद्धि भन्छन्,'कामको चिन्ताले फिल्मको कथा पनि बुझिँदैन थियो । तर अब त संग्रहालयको शाखा अधिकृत भएर छिर्दा त छुट्टै अनुभव भइहाल्ला नि !'

प्रकाशित : चैत्र ९, २०७७ १६:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×