२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

भरतपुरकी मेयर दाहालले भेटिन् बेलायती उपसभामुख र सांसद 

नवीन पोखरेल

लन्डन — एउटा अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गर्न लन्डन आइपुगेकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बेलायती उपसभामुख एवं सांसदहरूसँग भेट गरेकी छन् ।

भरतपुरकी मेयर दाहालले भेटिन् बेलायती उपसभामुख र सांसद 

मेयर दाहालले बेलायती संसद हाउस अफ कमन्सका उपसभामुख नाइजेल इभान्स् तथा सत्तारुढ कन्जरभेटिभ सांसद एवं पूर्वमन्त्री डिन रसेल र प्रमुख प्रतिपक्षी दल लेबरका सांसद वीरेन्द्र शर्मासँग संसद्‌मा भेटघाट गरेकी हुन् ।

मेयर दाहालका अनुसार भेटका क्रममा दुई देशबीच जनस्तरको सम्बन्ध, बेलायती सहयोग, द्विपक्षीय भ्रमण आदानप्रदान, भूतपूर्व गोर्खा मुद्दा लगायतका समसामयिक विषयमा छलफल भएको छ । उनले उपसभामुख इभान्ससहित सांसदहरूलाई भरतपुर घुम्न विशेष निम्तो समेत दिएकी छन् । भरतपुर महानगरले गत सातामात्रै ‘भरतपुर भ्रमण वर्ष २०२४’ उद्घाटन गरेको थियो ।

बेलायती उपसभामुख इभान्सले बेलायत नेपाल ऐतिहासिक सम्बन्धको चर्चा गर्दै गोर्खाको योगदानबारे स्मरण गरेका जनाइएको छ । भेटमा दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र दाहालका श्रीमान् अर्जुन पाठक पनि सहभागी थिए । भेटघाटपछि मेयर सहितको प्रतिनिधिमण्डलले संसद् भवन अवलोकन र संसदीय अभ्यासबारे जानकारी लिएको थियो ।

त्यस्तै, लन्डनस्थित नेपाली दूतावासले गरेको सम्मान कार्यक्रममा बोल्दै मेयर दाहालले देश विदेशबाट चितवन महागरपालिकाको काम सूक्ष्म ढंगले अध्ययन भएरै आफूले अन्तर्राष्ट्रिय अवार्ड पाउन लागेको बताइन् ।

प्राकृतिक सम्पदाले भरिपूर्ण भरतपुर महानगरलाई सही व्यवस्थापन गर्न सके आर्थिक गतिविधिको केन्द्रका रुपमा विकास गर्न सकिने दाहालको भनाइ छ । ‘भरतपुरको भविष्य छ, हामी यसको समृद्धि गर्न लागिरहेका छौं’, उनले भनिन् ।

दाहालले लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई पनि भरतपुर भ्रमणका लागि निमन्त्रणा दिइन् । राजदूत आचार्यले बेलायतवासी नेपालीले मातृभूमि र बेलायतमै पनि आफ्नो कला, संस्कृति र देशलाई प्रचार प्रसार गरिरहेको उल्लेख गरे । उनले भरतपुर भ्रमण वर्षले समग्र नेपाल भ्रमण वर्षलाई पनि फाइदा पुग्ने बताए । नियोग उपप्रमुख रोशन खनालले बेलायतको नेपाली समुदाय अत्यन्त क्रियाशील रहेको अवगत गराइन् ।

प्रकाशित : फाल्गुन २४, २०८० १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?