कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अस्ट्रेलियामा मनाइयो तिहार,संसद् भवन अगाडि देउसीभैलो

कान्तिपुर संवाददाता

अस्ट्रेलिया — अस्ट्रेलियामा तिहार धुमधामका साथ मनाइएको छ । क्यानबेरास्थित संघीय संसद् भवनमा देउसीभैलो कार्यक्रम सहित तिहार मनाइएको हो ।

अस्ट्रेलियामा मनाइयो तिहार,संसद् भवन अगाडि देउसीभैलो

विभिन्न राज्यका प्रिमियरले संसद भवनमा शुभकामना कार्यक्रम आयोजना गरेर दीपावाली तथा दीपावलीको शुभकामना बाँडेका छन् ।

अस्ट्रेलियाका सबै सहर तथा ग्रामिण भेगमा रहेका नेपालीले पाँचदिनसम्म तिहार मनाए । यसवर्ष तिथीका कारण लक्ष्मीपूजा दुईदिन परेकाले आइतबार र सोमबार लक्ष्मीपूजा मनाइएको थियो भने हरेक राज्यको साईत अनुसार बुधबार भाइटीका लगाइयो।

यसवर्ष नेपालीको पर्व तिहारकै उपलक्ष्यमा क्यानबेरास्थित संसद् भवनमा एक भव्य कार्यक्रमको आयोजना गरिएको थियो भने भिक्टोरिया, दक्षिण अस्ट्रेलिया लगायतका प्रिमियरले कार्यक्रमको आयोजना गरेरै दीपावली तथा दीपावालीको शुभकामना साटेका थिए । नेपालीको जनसंख्या बढिरहेसँगै नेपाली कलासंस्कृति तथा पहिचानले यहाँको केन्द्रीय र स्थानीय राजनीतिमा महत्वपूर्ण स्थान बनाउन थालेको छ ।

क्यानबेरामा अस्ट्रेलिया नेप्लिज फ्रेण्डसिप सोसाईटीको आयोजनामा संसद् भवनमा देउसीभैलोको कार्यक्रम आयोजना गरिएको थियो । नेपाली कलासंस्कृतिलाई अझ पहिचान दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न मन्त्री, सहायक मन्त्रीमात्र नभएर विपक्षी दलका नेता पिटर डट्टन स्वयं उपस्थित थिए ।

उनले सामािजक सञ्जालमा फोटो सेयर गर्दै सबै नेपालीलाई तिहारको शुभकामना दिएका छन् । यसैगरी विभिन्न राज्यका संसद भवनमा राज्यका प्रिमियरद्धारा आयोजित शुभकामना कार्यक्रममा राज्यका विभिन्न मन्त्री, अन्य बिभिन्न नेताहरुको साथै दीपावली मनाउने अन्य समुदायको समेत उपस्थिति थियो ।

यसवर्ष विगतको तुलनामा दोस्रो पुस्ताका बालबालिकाले तिहारलाई अझ उत्साहका साथ मनाए । दाजुभाई नभएका चेलीले आफ्नै दिदीबहिनीलाई टीका लगाईदिए भने आफ्नै माइती नहुनेले आफ्ना नजिकका नातेदार वा साथीका छोराछोरीबाट टीका थापेर तिहार मनाएका थिए । यसैगरि यहाँस्थित सामाजिक संघसंस्था तथा क्लबले सामूहिक रुपमा देउसीभैलो खेलेर तिहारलाई अझ मौलिक र रोमाञ्चक बनाएका थिए ।

नेपाली परम्परागत पोशाकमा सजिएका नेपालीले सामुहिक स्थानमा गएर देउसीभैलो खेल्दा स्थानीयबासीले समेत ताली बजाएर भट्टयाउन सघाएका थिए । सिड्नी, मेलबर्न, ब्रिसबन, दक्षिण अस्ट्रेलिया लगायतका राज्यमा रहेका नेपाली सामाजिक संस्थाले सामूहिक देउसी भैलो आयोजना गरेका थिए ।

प्रकाशित : कार्तिक २९, २०८० २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×