कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भारतमा अब नेपालीले सिम कार्ड लिन पाउने 

राजेश मिश्र

नयाँ दिल्ली — भारतमा नेपाली नागरिकले मोबाइल सिम कार्ड पाउने भएका छन् । केही वर्षयता नेपाली पासपोर्ट वा नागरिकतामा सिम कार्डको वितरण रोकिएको थियो । सिम कार्ड नपाउँदा भारत आउने नेपाली नागरिकले सञ्चार सम्पर्कबाटै टाडा रहनुपर्ने स्थिति थियो । 

भारतमा अब नेपालीले सिम कार्ड लिन पाउने 

भारतको टेलिकम्युनिकेसन विभागले सोमबार गरेको निर्णयअनुसार नेपाली नागरिकले पासपोर्ट वा त्यसको विकल्पमा नागरिकता, मतदाता परिचय पत्र वा दिल्लीस्थित नेपाली दूवातासले फोटोसहित प्रमाणित गरेको पत्रका आधारमा सिम कार्ड पाउनेछन् । सञ्चार मन्त्रालय मातहतको उक्त विभागले टेलकम अथोरिटीहरुलाई नेपाली र भुटानी नागरिकको हकमा उक्त कागजातालाई ‘केवाइसी’ डुकुमेन्टका रुपमा हेर्न भनेको छ ।

पछिल्लो समय सिम कार्ड नपाउने विषय मुद्दाको रुपमा उठ्न थालेको थियो । हरेक जसो सरकारी भ्रमण र डेलिगेसनमा नेपाली पक्षले भारतमा नेपाली नागरिकले सिम कार्ड नपाएको औपचारिक/अनौपचारिक ढंगले भातीय पक्षसँग उठाउँदै आएका थिए । दिल्लीस्थित नेपाली दूतावासले करिब दुई महिना अगाडि भारतको विदेश मन्त्रालयलाई औपचारिक पत्राचार गरेरै भारत आएका नेपाली नागरिकले सिम कार्ड नपाउने गरेको बारे जानकारी गराउँदै त्यसको समस्या समधानका लागि आग्रह गरेको थियो ।

भारतको सरकारले २०१२ मा विदेशी नागरिकलाई सिम कार्ड दिनुपर्दा उसको यात्रा अनुममति अवधि(भिसा) का आधारमा मात्रै सिम कार्ड दिनुपर्ने प्रवाधान गरेको छ । तर, तीन वर्ष अगाडिसम्म नेपाली नागरिकको हकमा उक्त प्रवाधानमा कडाइ थिएन । विमानस्थल वा अन्यत्रका सिम वितरण स्टलबाट नेपालीले पासपोर्टका आधारमा सिम कार्ड पाउँदै आएका थिए । तर, २०२१ म भारत सरकारले सिम कार्ड वितरणलाई पूर्ण रुपमा डिजिटलाइज्ड गरेपछि भिसाबिना विदेशी नागरिकले सिम कार्ड पाउने स्थिति रोकियो । विदेशीले सिम कार्ड लिन चाहिने डकुमेन्टमा भिसा प्रमुख बन्यो । त्यो नाराखिकन सिस्टमले स्वीकृति नै दिन छाड्यो । नेपाल र भुटानका नागरिकले भारत प्रवेशका लागि कुनै प्रकारको यात्रा अनुमति(भिसा) लिनु पर्दैन । त्यसको प्रभाव दुई देशका नागरिकले सिम कार्ड पाउनबाट बञ्चित भए ।

दिल्लीस्थित भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले दूतावासाले भारत सरकारलाई औपचारिक रुपमा अनुरोध गरेको केही हप्ता भित्रै सिम कार्ड सम्बन्धमा देखिएको समस्याको समाधान भएको बताए । उनले अब नेपाली नागरिकले सहजै सिम कार्ड पाउनेमा आफू विश्वस्त रहेको बताए । भारतीय पक्षले सिम कार्डका सन्दर्भमा भएको निर्णयबारे दूतावासलाई जानकारी दिएको छ ।

टेलिकम्युनिकेसन विभागले विदेशी नागरिकलाई सिम कार्ड वितरण गर्दा हाल विद्यमान रहेको २०१२ को केवाईसी नियममा नेपाली र भुटानी नागरिकको सन्दर्भमा संशोधन गरिएको पत्राचार सबै टेलिकम कम्पनीहरुलाई गरेको छ । नेपाल र भुटानका नागरिक अन्य देशबाट भारतमा यात्रा अनुमति लिएर आउँदा भने तीन महिना अवधिका लागि मात्रै सिम कार्ड पाउने छन् । चीन र पाकिस्तान हुँदै भारत आउने नेपाली नागरिकले पनि भिसा लिनुपर्ने प्रावधान छ । नयाँ निर्णयमा त्यस्तो देशको नाम उल्लेख छैन । तर, तेस्रो मुलुकबाट भिसा लगाएर आउनेको हकमा त्यो भनिएको छ ।

भरतमा अध्ययन, स्वास्थ्य उपचार र रोजगारीका लागि ठूलो संख्यामा नेपालीहरु आउँछन् । उनीहरुले सिम कार्ड पाइरहेका थिएनन् । त्यति मात्र होइन, द्विपक्षीय भ्रमणमा आउने उच्चस्तरीय टोलीका लागि पनि सिम कार्ड जुटाउन धौ धौ हुन्थ्यो । दूतावासमा रहेका भारतीय कर्मचारीका नाममा सिम कार्ड निकालेर भ्रमण टोलीलाई दूतावासले सिम कार्ड दिदैं आएको थियो ।

प्रकाशित : फाल्गुन ८, २०८० १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×