अमेरिकामा नेपाली खेल, ५९ टिमबाट झन्डै हजार खेलाडी सहभागी

न्यूयोर्क — अमेरिकामा बस्ने नेपाली समुदायबीच बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबल खेल न्यूयोर्कको रचेष्टर सहरमा असोज ६ गतेदेखि सुरु भएको छ ।

अमेरिकाको छिमेकी मुलुक क्यानडाबाट समेत केही टिम सहभागी भएको अमेरिका बस्ने नेपालीभाषीहरुको खेलको महाकुम्भमा भलिबलतर्फ पुरुषका २४ टिम सहभागी छन् भने फुटबलमा युवाहरुतर्फ १६ र ३५ वर्षमाथिका भेट्रानतर्फ ८ टिम गरी २४ टिम नै सहभागी छन् । महिलातर्फ भलिबलमा ८ वटा टिम प्रतिस्पर्धामा छन् भने फुटबलमा ३ वटा टिम मैदानमा छन् ।
इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा सुरु भएको तेस्रो इन्ट्रा कप फुटबल तथ भलिबल खेलको उद्घाटन फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले गरे । दुई रियालिटी शोहरु मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्स गत महिनामात्र नेपालमा समापन गरेको फाउन्डेसनले अमेरिकाबासी नेपाली खेलप्रेमीहरुका लागि बृहत् खेलकुदको आयोजना गरेको हो ।
आयोजक समितिका निर्देशक अरुण गुरुङले दिएको जानकारीअनुसार कोच र टिम म्यानेजरसहित लगभग हजार खेलाडी सामेल छन् । फाउन्डेसनले युवातर्फको फुटबल विजेतालाई १५ हजार अमेरिकी डलर, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ६ हजार डलर पुरस्कारको व्यवस्था गरेको छ । भलिबलमा पुरुष विजेताले १० हजार, दोस्रोलाई ६ हजार र तेस्रोलाई ४ हजार अमेरिकी डलर पुरस्कारको व्यवस्था गरेको छ । भेट्रानतर्फ फुटबल विजेतालाई १० हजार, दोस्रोलाई ६ हजार र तेस्रो हुनेलाई ३ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रकाशित : आश्विन ७, २०८० १२:२७