कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लन्डन लेस्टरस्क्वायर आइम्याक्समा पहिलोपटक नेपाली फिल्म

नवीन पोखरेल

लन्डन — हलिउड र बलिउड सिनेमा प्रिमियर गरिरहने लन्डनको केन्द्र लेस्टरस्क्वायरस्थित आइम्याक्स सिने वर्ल्डजति प्रतिष्ठित छ, महँगो पनि त्यतिकै । उक्त मल्टिप्लेक्स सिनेमा चेनले अन्तर्राष्ट्रिय ब्लकबस्टर सिनेमाहरूलाई टु र थ्रीडी फर्म्याटमा देखाउने गर्छ ।

लन्डन लेस्टरस्क्वायर आइम्याक्समा पहिलोपटक नेपाली फिल्म

हलिउड-बलिउड सिनेमासँग मात्र परिचित आइम्याक्समा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पनि गरिन्छ । आउँदो डिसेम्बर दोस्रो साता ब्रिटिस फिल्म फेस्टिबल यहीँ हुँदै छ ।

७२१ सिट क्षमताको अत्याधुनिक सिनेम्याटिक प्रविधियुक्त आइम्याक्स सिने वर्ल्ड आइतबार भने भिन्न दर्शक र फिल्म स्वागत गर्न व्यस्त रह्यो । ‘गोर्खा वारियर’ हेर्न उक्त सिनेमा हलमा करिब साढे ७ सय नेपाली दर्शक जम्मा भएका थिए ।


पूर्वगोर्खा मिलन चाम्सको निर्देशन र पूर्वगोर्खा रितेश चाम्सको लिड रोल रहेको ‘गोर्खा वारियर’ को अन्तर्राष्ट्रिय प्रिमियर सोले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार सम्भावनालाई थप उजागर गरेको छ ।

आइम्याक्समा फिल्म देखाउने आफ्नो २० वर्षअघिदेखिको सपना पूरा भएको भन्दै निर्देशक मिलन चाम्स दंग देखिन्थे । 'दर्शकहरूको उत्साहजनक उपस्थिति देखेर म निकै खुसी छु,' उनले कान्तिपुरसित भने, 'हामीले फिल्म बनाउन पनि कत्ति सम्झौता गरेका थिएनौं, अहिले प्रिमियरमा पनि गरेनौं । यसले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजारको ढोका खोलेको छ ।'


उनले प्रिमियर सोको खर्चमात्र करिब डेढ करोड रुपैयाँ भएको दाबी गरे । मलेसियाको जंगलमै छायांकन गरिएको फिल्म निर्माणमा करिब १४ करोड रुपैयाँ खर्च भएको दाबी निर्माण पक्षको छ । यसमा नेपाल र भारतका प्राविधिकले काम गरेका छन् ।

'ब्रान्डिङ' महत्त्वपूर्ण भएको जनाउँदै मिलनले अरु नेपाली फिल्म पनि आइम्याक्समा आऊन् भन्ने आफ्नो चाहना रहेको सुनाए । ‘मलाया इमर्जेन्सी’ पनि भनिने ब्रिटिस शासनविरुद्धको स्वतन्त्रता युद्धमा ब्रिटिस सेनासँगै गोर्खाले कम्युनिस्ट लडाकुविरुद्ध लडेका थिए ।

तत्कालीन मलायाका घना जंगलभित्र महिनौंसम्म कम्युनिस्ट समर्थक लडाकुहरूलाई खोज्ने र उनीहरूलाई सफाया गर्ने काममा गोर्खाली सैनिकहरू सहभागी भए । गोर्खालीहरूकै सहयोगले उक्त लडाइँमा ब्रिटिसको जित भयो ।

सन् १९४८ देखि सन् १९६० सम्म चलेको उक्त युद्धमा सुरुमा ४८ औं गोर्खा ब्रिगेड तथा पछि १७औं गोर्खा डिभिजनलाई परिचालन गरिएको थियो ।


त्यही वीरताको कथा अनि मलाया युद्धमा गोर्खाका दुःख‚ व्यथा, पारिवारिक सम्पर्क विच्छेद हुँदाको पीडा आदिमा आधारित फिल्म ‘गोर्खा वारियर’ को अन्तर्राष्ट्रिय प्रिमियरमा बेलायती राजनीतिज्ञ र सेनाका उच्च अधिकृत, नेपाली राजदूत, कलाकार, निर्देशकसहित दर्शकहरू सहभागी भए ।

फिल्म प्रिमियरअघि गोर्खा वारियर टिमले विभिन्न कीर्तिमान राखेका व्यक्तित्वलाई सम्मान गरेको थियो । अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएर पनि कृत्रिम खुट्टाले सगरमाथा चढेर विश्व कीर्तिमान बनाएका हरिबुढामगर, सगरमाथा चढ्ने गोर्खा परिवारबाट पहिलो नायिका दिया पुन, राष्ट्र राई, प्यारा एथलेट कुशल लिम्बु, बेलायतका लागि पहिलो नेपाली काउन्सिलर धन गुरुङलगायत बेलायती सञ्चारकर्मीलाई सम्मान गरिएको हो ।

गोर्खा वारियरका निर्माता हुन् सुमन राई र सुस्मिता वाइबा । सह-निर्मातामा सुरेश राई र कार्यकारी निर्माता प्रशान्त थापा छन् भने रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, कविता आलेलगायत कलाकारको अभिनय छ । उक्त फिल्म आउँदो फागुन/चैततिर नेपालसहित विश्वभर प्रदर्शन गर्ने योजना रहेको मिडिया कोअर्डिनेटर आकाश सुनुवारले बताए ।

प्रकाशित : भाद्र २५, २०८० ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×