एनआरएनए केन्द्रीय उपाध्यक्षमा रेग्मीको उम्मेदवारी घोषणा


लन्डन — खाडीमा रहेका नेपालीको समस्या सम्बोधन गर्ने अठोटसहित कतारका युवा व्यवसायी राज रेग्मीले एनआरएनए केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने महाधिवेशनका लागि कतारबाट वर्तमान युवा उपाध्यक्ष रेग्मीले आईसीसी उपाध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् ।


समर्थन जुटाउन केही अघि लन्डन आएका बेला उनले एनआरएनएमा युवापुस्ताका मुद्दा स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न र खासगरी खाडीमा रहेका श्रमिकहरूको आवाज बुलन्द बनाउन आईसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताए ।
सामूहिक लगानीमा युवा सहभागिता, उद्यमशीलता, युवा स्वरोजगार, सीप र पुँजीको व्यवस्थापन, सुरक्षित अनि मर्यादित वैदेशिक रोजगारी, राहत कोष स्थापना, नेपाली कला संस्कृतिको जगेर्ना, मतदानका लागि पहल, स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउनेलगायत प्रतिबद्धता रेग्मीले गरेका छन् ।
'एनआरएन अभियानमा प्राप्त अनुभव र अग्रजहरूको सुझावले अगाडि बढ्ने निर्णय गरेको हुँ,' उनले भने । उनी अहिले विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्हरूमा पुगेर समर्थन जुटाउन व्यस्त छन् ।
प्रकाशित : भाद्र २०, २०८० १५:३८