कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लन्डनमा किताब जात्रा : 'सामाजिक सञ्जालको लतले पुस्तक किनेर पढ्ने अभिरुचि घट्यो'

नवीन पोखरेल

लन्डन — प्रवासमा क्रियाशील नेपाली साहित्यकारहरुले सामाजिक सञ्जालको विकास र त्यसको प्रयोग गर्ने लतका कारण पाठकहरुमा पुस्तक किनेर पढ्ने अभिरुचि घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

लन्डनमा किताब जात्रा : 'सामाजिक सञ्जालको लतले पुस्तक किनेर पढ्ने अभिरुचि घट्यो'

दक्षिण पूर्वी लन्डनमा किताब जात्रा फेस्टिभलको अवसरमा आयोजित एक अन्तरक्रियामा बोल्दै बेलायतमा बसोबास गर्ने साहित्यकार बाशु शर्माले प्रवासमा रहेका साहित्यकारहरुले प्रकाशन, वितरण र पाठकको समस्या रहेको बताए । उनले बेलायतमा मात्रै १५ ओटा साहित्यिक संघसंस्था क्रियाशील रहेको र तिनले विभिन्न कार्यक्रम गरेर नेपाली साहित्यमा योगदान पुर्‍याइरहेको जनाए।

बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीले आफूले प्रकाशन गरेका अडियो बुकहरु लोकप्रिय रहेको भएपनि प्रवासमा हुर्कंदै गरेको नयाँ पुस्तासम्म नेपाली साहित्य कसरी पुर्‍याउने भन्ने मुख्य चुनौती रहेको बताए।

त्यस्तै यति नेपाली एसोसिएशनका पूर्व अध्यक्ष ध्रुव केसीले भाषा र साहित्यको संरक्षण घरबाटै सुरु गर्नुपर्ने बताउँदै विदेशमा जन्मेर हुर्की रहेका नातीनातिनालाई नेपाली बोल्न र लेख्न सिकाउन अलि गार्‍हो भईरहेको अनुभव सुनाए ।

अंग्रेजी तथा नेपालीमा गरी हाल सम्म १० ओटा पुस्तक प्रकाशन गरिसकेका युवा साहित्यकार गोपी सापकोटाले देश छाडेर विदेशमा बस्दाको पीडा डायस्पोरा साहित्यमा झल्कने गरेको धारणा राखे ।

त्यस्तै नेपाली साहित्य विकास परिषद्की सह-अध्यक्ष सुधा शर्माले प्रवासमा बसेर अझ बढी नेपाली साहित्यको सेवा र न्याय गर्न सकिने बताइन् । उनले नेपालीसँगै अन्य भाषाहरुको उत्थानमा पनि ध्यान दिन आग्रह गरिन् ।

त्यस्तै 'प्रवासमा उद्यमशीलता' शिर्षकको सत्रको सञ्चालन किताब जात्रा फेस्टिभलका निर्देशक ऋषिराम अधिकारीले गरेका थिए । उक्त सत्रमा बोल्दै काठमाडौंस्थित द ब्रिटिश कलेजका निर्देशक राजेन कँडेलले नेपालमा गैर आवासीय नेपालीहरुका लागि लगानीका थुप्रै संभावना रहेको बताए ।

उनले पढाइसँगै काम गर्ने अवसर र पीआर पाउने आशामा ठूलो संख्यामा नेपाली युवा विदेश गईरहेको भन्दै नेपालको शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने बताए ।

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कृष्णप्रसाद दाहालले बेलायतमा तीन घण्टामा अनलाइनबाटै कम्पनी दर्ता गर्न सकिने बताउँदै नेपालमा कम्पनी दर्ता गर्ने प्रक्रिया लामो र खर्चिलो भएको बताए । कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले हाम्रो पहिचान भनेकै आफ्नो भाषा, संस्कृति र कला भएको बताए । उनले नेपाली साहित्य अत्यन्तै धनी रहेको र विश्व साहित्यका विभिन्न विधामा पनि योगदान दिइरहेको बताउँदै प्रवासी नेपाली साहित्य र नेपाल भित्रको साहित्यलाई कसरी अन्तरघुलन गराउन सकिन्छ, त्यस तर्फ प्रयास गर्न आग्रह गरे।

बेक्स्ली नेपाली कम्यूनिटीका अध्यक्ष हरिश ज्ञवालीको अध्यक्षतामा आयोजित कार्यकमा रोयल बरो अफ ग्रिनिचका उपमेयर जीत रानाभाटले नेपाली साहित्य विकास परिषदका अध्यक्ष कोमल प्रकाश मल्लले बोलेका थिए । विभिन्न संघसंस्थाका प्रतिनिधि तथा साहित्यकार समेत झन्डै २०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालबाट ल्याइएका विभिन्न पुस्तक पनि प्रदर्शन गरिएको थियो।

प्रकाशित : भाद्र १७, २०८० १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×