कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लन्डनमा प्रतिभा नक्षत्र कार्यक्रममा बालबालिकाले देखाए कला

लन्डन — उनीहरु बेलायतमै जन्मिए-हुर्किए । नेपाली लेख्न जान्दैनन् तर तोते बोलीको लवज निकै मीठो लाग्छ । नेपालप्रति हुरुक्कै हुन्छन् ।

लन्डनमा प्रतिभा नक्षत्र कार्यक्रममा बालबालिकाले देखाए कला

तिनै नेपालीमूलका बालबालिकाले बेलायतमा मौलिक नेपाली कला, संस्कृति प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने मूल लक्ष्यसहित गरिएको चौंथो प्रतिभा नक्षत्र कार्यक्रममा आफ्नो प्रतिभा देखाएर सबैलाई चकित पारे ।

प्रतिभा नक्षत्र युवातर्फ भएको स्पर्धामा इशानी बराइली प्रथम, रिया गिरी द्वितीय र सुनिता लामिछाने तृतीय भए भने बाल स्पर्धातर्फ गृष्मा खड्का प्रथम, आभा अधिकारी द्वितीय र आश्रिया सुवेदी तृतीय भए ।

६ देखि १४ वर्षका बालबालिका सहभागी प्रतियोगितामा २२ जना बालबालिकाले नेपाली भाषामा बोलेर आफ्नो देशको कला र संस्कृतिबारे प्रस्तुत गरेका थिए । बालबालिकाले नेपाल र नेपाली संस्कृति झल्काउने विभिन्न प्रस्तुति दिएका थिए ।

कार्यक्रममा बेलायतबाहेक जर्मनी, अष्ट्रियालगायतबाट आएका नेपाली बालबालिकाले भाग लिएका थिए । प्रतिभा नक्षत्र नामक संस्थाद्वारा लन्डनमा आयोजित कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रतिभा नक्षत्रजस्ता कार्यक्रमले बेलायतमै जन्मिएका स-साना बालबालिकालाई नेपाली भाषा, संस्कृति र कला बुझ्न अनि आफ्नो देशप्रतिको माया जगाउन सकिने बताए ।

सञ्चारकर्मी टीकाराम यात्रीले देशबाट टाढा जाँदैमा आफ्नो कला, संस्कृति टाढा नहुने भएकाले यस्ता कार्यक्रमले देशप्रतिको माया र सद्भावलाई बढवा दिने उल्लेख गरे ।

प्रतिभा नक्षत्रका संरक्षक मनिष श्रेष्ठले प्रतिभा नक्षत्रलाई अन्य देशमा पनि विस्तार गर्न सके टाढा रहेर पनि आफ्नो देशलाई सदैव माया गर्न सकिने धारणा राखे ।

प्रतिभा नक्षत्रकी अध्यक्ष सिम्मी पुन, प्रतिभा नक्षत्रका परिकल्पनाकार राजेन्द्र खसलगायतले यस्ता कार्यक्रम बेलायतमा भिन्न संस्कृति र परिवेशमा हुर्किरहेका नेपाली बालबालिकाका लागि केन्द्रित गरिएको बताए ।

प्रकाशित : भाद्र १४, २०८० १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×