कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कोरियामा साकेला

गोकुल थोकर

सोल — हृवासाङ फोर्टरेस कुनै बेला कोरियाली राजा र सैनिक परेड खेल्ने ठाउँ थियो । अहिले पनि मान्छेहरु ऐतिहासिक ठाउँ भनेर घुम्न पुग्छन् । युनेस्को वर्ल्ड हेरिटेज साइटमा पर्ने यो ठाउँमा आइतबार भने कोरियामा रहेका नेपालीहरु जम्मा भएर यलेदोङ ५०५३ उभौली साकेला मनाए ।

कोरियामा साकेला

किरात राई यायोक्खा दक्षिण कोरियाले आयोजना गरेको कार्यक्रममा नेपालीसँगै कोरियालीहरु पनि रमाइरहेका थिए ।

राजधानी सोलदेखि ३५ किलोमिटर टाढाको सुवन सहरको फोर्टरेस चौरमा ढोल र झ्याम्टाको तालमा नाच्दै भेटिए सोलुखुम्बुका राजु राई । ‘व्यस्त दैनिकीमा एकैछिन गाउँघरको याद मेटाउने रमाइलो हो । हाम्रो संस्कृति र पराम्परालाई सम्झने तरिका पनि हो,’ राईले भने ।

उनी कार्यक्रमस्थल भन्दा ४० किलोमिटर टाढा आन्सानबाट आएका हुन् । ख्याङ्गीदो योङगीनबाट आएका रोहित क्षेत्रीले पनि बिदाको दिनमा साथीभाइसँग भेटेर रमाइलो गर्ने अवसर जुरेको बताए । ‘काम गर्ने दिनमा कि त मेसिन हुन्छ कि त किचकिच गरिरहने हाकिम । आज यता छौं, सबै दुःख भुलेका छौं । टाढा टाढाबाट पनि साथीभाइ आएका छन् ।’


कोरियाको मौसम गर्मी छ । आइतबार २८ डिग्री सेल्सियस थियो । ‘यस्तो गर्मीमा कति मान्छे आउलान् भन्ने हामीलाई पनि लागेका थियो । कार्यक्रम धेरै जना आउनु भयो । परेदशको व्यस्त जिन्दगीबाट समय निकालेर आउनु भयो,’ कार्यक्रमको आयोजक किरात राई यायोक्खाका अध्यक्ष पदम राईले भने ।

‘विदेशमै भए पनि मनमा त गाउँघर हुन्छ नि । आज यहाँ आउनेले ढोल झ्याम्टामा नाचेर मनको तिर्सना मेट्नु भयो,’ उनले थपे । उभौलीमा नाच मात्र थिएन ।

उभौलीमा राई गाउँ नै सम्झाउने गरी खानाका परिकार पनि थिए । सेल रोटी, पिरो अचार थियो । बंगुरको मासु । राई समुदायको प्रमुख परिकार वाचिपा(तिते) थियो । कोरियामा रहेका लिम्बूहरुले बंगुरको मासुबाट बनाउने याङबेन बनाएर कोसेली ल्याएका थिए । नेपालको जाँड जस्तै हुने कोरियाली जाँड ‘माकली’ पनि यहाँको आकर्षण थियो । फोर्टरेस घुम्न आएका कोरियालीहरुले पनि राई परिकारको मज्जा लिँदै खाएको देखिन्थ्यो ।


प्रकाशित : जेष्ठ १, २०८० १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×