च्यारिटीका लागि पैदलयात्रा

लन्डन — ब्रिटिस गोर्खाहरूले नेपालका अभिभावक र घर नभएका बालबालिकाको सहयोगका लागि ६६ किलोमिटर पैदल यात्रा पूरा गरेका छन् । मन्जुश्री होम नेपाल र टेन क्विओजिएलआर लेडिज एसोसिएससनको सहयोगार्थ टेन क्विओजिएलआरमा कार्यरत गोर्खाहरुले बेलायतको अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा रहेको प्रथम भिक्टोरिया क्रस विजेता गोर्खा सैनिक कुलवीर थापाको सालिकबाट लन्डन ह्वाइट हलस्थित गोर्खा सालिकसम्म पैदल यात्रा गरेका हुन् ।

शुक्रबार दिउँसो एक बजे सुरु भएर शनिबार बिहान ८ बजे सम्पन्न भएको उक्त पैदल यात्राको दूरी ६६.५३ किमी रहेको थियो । १५ केजी सामान बोकेर उक्त यात्रा पूरा गर्न १८ घण्टा ४४ मिनेट लागेको यात्रा संयोजक ब्रिटिस गोर्खा अन्तिम गुरुङले जानकारी दिए ।
च्यारिटी पैदल यात्रामा अन्तिम गुरुङ, मिजास गुरुङ, राजु रेग्मी, अंकित श्रेष्ठ, प्रलान तमाङ, विशाल बाबु र सुमित गुरुङ सहभागी भएका थिए । यात्रा व्यवस्थापनका लागि आस्कृत गुरुङ (टिम मेडिक), नेत्र गुरुङ र अनिल नेपालीसमेत सँगै हिँडेका थिए । विज्ञान वाइबाले भने यात्राअघि प्रशिक्षण दिएका थिए ।
विगत ४ वर्षदेखि टेन क्विओजिएलआरमा कार्यरत अन्तिमले च्यारिटीबाट संकलित रकम नेपाल पठाइने जनाए । 'गो फन्डमी' मार्फत रकम संकलन भइरहेको उनले बताए । 'थकान महसुस भए पनि च्यारिटीका लागि भएकाले खुसी र सन्तुष्टि मिलेको छ,' यात्रा पूरा गरेपछि गुरुङले कान्तिपुरसित भने ।
पैदल यात्रा सुरु गर्नुअघि अल्डरसटमा उनीहरूलाई शुभकामना दिनका लागि औपचारिक कार्यक्रमसमेत गरिएको थियो ।
प्रकाशित : चैत्र ५, २०७९ १०:५७