नेपालको कार्यकाल अविस्मरणीय : यूएई पूर्वराजदूत


दुबइ (यूएई) — नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का पूर्वराजदूत साईद हम्दान अल नक्बीले नेपालको ६ वर्षे कार्यकाल अविस्मरणीय भएको बताएका छन् । अरब मुलुकबाट नेपालमा लामो समय राजदूत भएर बसेका साइद गत नोभेम्बरमा यूएई फर्केका हुन् । हाल उनी यूएईको परराष्ट्र मन्त्रालयमा कार्यरत छन् ।

'यूएई सदवै नेपाल र नेपालीको प्रगति चाहन्छ । नेपालीले यूएईमा पुर्याएको विकासका लागि हामी सम्मान व्यक्त गर्छौं,’ यूएईमा व्यवसाय गरिरहेका नेपाली व्यवसायीको संस्था नेपाली बिजनेस काउन्सिलले दुबइमा आयोजना गरेको कार्यक्रममा भने, 'मैले नेपालमा बसेर भुगोल र इतिहास नजिकबाट बुझन पाए । नेपालको सुन्दरलाई देख्न पाए । यो विश्वकै सुन्दर देश हो । यसमा काम गर्न जान पाएकोप्रति गौरवको महसुस गर्छु ।’
काउन्सिलका अध्यक्ष असिफ अली सिद्दिकीले नेपाली व्यवसायीहरु यूएईमा स्थापित हुने चरणमा प्रवेश गरेको बताए । 'यूएईमा दक्षिण एसियाका व्यवसायीहरु स्थापित छ । यसमा नेपालीहरु पनि थपिरहेको छ । यो हाम्रा र हाम्रा सन्ततीको लागि खुसीको कुरो हो’, उनले भने । कार्यक्रममा यूएईमा व्यवसाय गरिरहेका नेपाली व्यवसायी सहित भारत, श्रीलंका, बंगलादेश र फिलिपिन्सका बिजनेस काउन्सिलका प्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रममा यूएईस्थित नेपाली समाजका अध्यक्ष वेदप्रसाद अर्याल र नेपाल पत्रकार महासंघका अध्यक्ष मेघराज सापकोटालाई सम्मान गरिएको थियो ।
आयातको हिसाबले यूएई नेपालको चौथो ठूलो व्यापारिक साझेदार मुलुक हो । सन् २०२१ को तथ्यांकअनुसार यूएईबाट नेपालले ५५ अर्ब रुपैयाँको सामान आयात गरेको छ भने यही अवधिमा ४५ करोड रुपैयाँको सामान नेपालबाट यूएई निर्यात गरेको छ । तीन लाख नेपालीहरु कार्यरत रहेको यूएईमा झण्डै एक हजार नेपाली व्यवसायी छन् ।
प्रकाशित : माघ २०, २०७९ २२:१५