कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निसानामा बेलायतका नेपाली सुनचाँदी व्यवसायी

लन्डन — डिसेम्बर दोश्रो साता बेलायत अल्डरसटस्थित नेपालीका दुई गहना पसलमा एकैपटक लुटपाट प्रयास भयो । लुटेराले राति ३ बजेतिर अनुग्रह ज्वेलर्स र न्यू लक्ष्मी ज्वेलर्सको सटरमा गाडी जोतेर लुटपाट प्रयास गरे ।

निसानामा बेलायतका नेपाली सुनचाँदी व्यवसायी

गहना पसलमा आधुनिक प्रविधि जडान र सुरक्षा शतर्कताका कारण प्रहरी टोली तत्काल घटनास्थल पुगेपछि चोरले दुवै पसलका कुनै पनि गहना लैजान नसकेको सञ्चालकले बताए ।

लगत्तै अनुसन्धान थालेको ह्याम्पसायर प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको बताएको छ । न्यू लक्ष्मी ज्वेलर्सकी सञ्चालिका लक्ष्मी राईले प्रहरीसमक्ष तत्काल सूचना पुग्ने अलार्म सिस्टम र गहना पसलभित्र चोर छिर्ने बित्तिकै निस्कने धुंवाका कारण आफ्नो सामान सुरक्षित रहेको बताइन् ।

'बढ्दो आपराधिक घटनाका कारण हामी महत्वपूर्ण सामान पसलमा राख्ने गर्दैनथ्यौं', उनले भनिन्, 'सामान त बच्यो तर पसलको भौतिक क्षति धेरै भएकाले मर्मतको झन्झट र ग्राहकलाई असुविधा पर्न गयो ।'

उनले आफ्नो क्षतिग्रस्त पसल मर्मतपछि आगामी जनवरी पहिलो सातादेखि पूर्ण रुपमा सञ्चालनमा आउने बताइन् । मर्मतकै लागि अनुमानित लागत झण्डै ५० हजार पाउण्ड लाग्ने राईको दाबी छ ।

अनुग्रह ज्वेलर्सका सञ्चालक सुमन राईले बेलायतमा व्यवसाय सुरु गरेको ७ वर्षमा पहिलोपटक यस्तो घटना ब्यहोर्नुपर्‍यो । 'पसलमा क्षति भएकाले एक साता जति व्यापार भएन तर क्रिसमसका लागि ग्राहकलाई १७ डिसेम्बरदेखि सेवा दियौं', राईले भने, 'प्रहरीले घटनाका संदिग्धलाई छिट्टै अदालत लाने तयारी गरेका छौं भनेका छन् । अहिले सबै कुरा बाहिर सार्वजनिक गर्न नमिल्ने रहेछ, सायद विस्तृत छिट्टै आउला ।'

यूकेको हाइ सेक्युरिटी सिस्टम जडान भएकाले पसलबाट चोरले कुनै सामान लैजान नपाएको राईले बताए । तर पसलको क्षति मर्मत गर्न करिब १२ हजार पाउण्ड लाग्ने र यो बिल्डिङ इन्सुरेन्सबाट 'कभर' हुने उनी बताउँछन् । 'सामान सुरक्षित रहेकाले कन्टेन्ट इन्सुरेन्स क्लेम गरेनौं', उनले भने ।

घटनापछि बेलायतका भेट्रान मन्त्री एवं सो क्षेत्रका सांसद लियो डोकर्टी घटनास्थल पुगेर पसल सञ्चालकहरूसँग भेट गर्दै सान्त्वना दिएका थिए । भेटमा मन्त्रीले स्थानीय व्यवसायप्रति आफ्नो ऐक्यवद्धता जनाउँदै भविष्यमा यस खालका घटना दोहोरिन नदिने आश्वासन दिएको काउन्सिलर जीव बेल्वासेले जनाए ।

बेलायतमा नेपालीका सुनचाँदी व्यवसाय एवं व्यक्तिगत गरगहना प्रायः निसाना बन्ने गरेका छन् । किन यस्तो भइरहेको छ ? सञ्चालक सुमन भन्छन्, 'चोरी त सबै तिर भएकै सुनिन्छ । सायद हाम्रा पसलमा धेरै सामान लुट्न सकिन्छ भनेर चोरले दुष्प्रयास गरे ।'

यहाँ नेपाली सुनचाँदी व्यवसायीहरू संगठित भने नभएका होइनन् । व्यवसायिक मर्यादासहित आपतविपद्का बेला ग्राहक एवं व्यवसायीलाई उचित सहयोग, सल्लाह सुझाव आदानप्रदान गर्ने उद्देश्यले सन् २०१८ जनवरीमा नेपाली सुनचाँदी व्यवसायी संघ बेलायत (नेपलिज ज्वेलरी एसोसिएसन यूके) गठन भएको थियो ।

संस्थाको मुख्य उद्देश्य ग्राहकहरूलाई उच्च गुणस्तर ९९.९ प्रतिशत सुनचाँदीका गहना साथै काँचो सुन र चाँदी उपलब्ध गराउनु रहेको अध्यक्ष मेजर योगेश राईले जानकारी दिए ।

अध्यक्ष राईले सम्पूर्ण ग्राहकलाई होम कन्टेन्ट इन्सुरेन्स गर्न सुझाएका छन् जसले गर्दा कुनै आगलागी वा चोरी भएमा इन्सुरेन्स दाबी गर्न सकिनेछ ।

अध्यक्ष राईले एनजेए यूके सदस्यहरू र रिटेलर्सभन्दा बाहिर अरु पसल वा व्यक्तिगत घरहरूबाट बेचिएको वा किनिएको समानमा मिश्रित र कमसल गुणस्तर हुने सम्भावना प्रचुर रहने भन्दै बेलायतमा दर्ता भएको एनजिए यूके सदस्यहरूबाट मात्रै किन्न पनि अनुरोध गरे ।

प्रकाशित : पुस १६, २०७८ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?