दशकपछि केरलमा भेटिइन् सीता- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दशकपछि केरलमा भेटिइन् सीता

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–८ हरिहरपुरकी सीतालाई ‘आफन्त नेपाल’ संस्थाको समन्वयमा नेपाल लगिँदै
राजेश मिश्र

नयाँदिल्ली — भारतको दक्षिण पश्चिमी प्रान्त केरलको कन्नुर सहरको सडकमा ७ वर्ष अगाडि अलपत्र अवस्थामा भेटिएकी एक अधबैंसे महिला नेपाली रहेको परिचय खुलेको छ । केरल प्रहरीले ती महिलालाई सन् २०१५ को फेब्रुअरीमा सडकबाट उठाएर सामाजिक संस्था होप च्यारिटेबल ट्रस्टको जिम्मा लगाएको थियो ।

संस्थाले वर्षौंको प्रयासपछि उनको घर ठेगाना नेपालमा रहेको पत्ता लगाएको हो । संस्थाका सचिव डायनियल अब्राहमका अनुसार प्रहरीले उनलाई लिएर आउँदा उनको स्मरण शक्ति गुमेको थियो र निकै कमजोर अवस्थामा थिइन् ।

‘लामो समयको उपचारपछि उनी सामान्य कुरा गर्ने तथा मानिसहरूसँग घुलमिल हुने भइन् । तर, स्मरण शक्ति भने फर्किएको थिएन । हरेक पटक आफ्नो ठेगाना

अलग अलग भन्थिन्,’ उनले भने, ‘करिब एक वर्ष आफू नेपाली रहेको र नेपालमै घरपरिवार रहेको बताइन् । तर उनको वास्तविक ठेगाना पत्ता लगाउन पनि महिनौं लाग्यो ।’

त्यसयता होपले दिल्लीस्थित नेपाली दूतावासलाई समेत सम्पर्क गर्दै आएको थियो । दूतावासले दिल्लीमा सक्रिय नेपाली संस्था ‘आफन्त नेपाल’ को भारत शाखालाई समन्वयको जिम्मा लगाएको थियो । दुवै संस्थाको समन्वयको लामो प्रयासपछि उनी सीता नामले चिनिने उमाकला खनाल रहेकी खुल्यो । उनको ठेगाना कपिलवस्तुको बुद्धभूमि नगरपालिका–८ हरिहरपुर हो ।

होप संस्थाले उनको परिचय खुलेपछि उनलाई घर पठाउन नेपाली दूतावासलाई सम्पर्क गरेको थियो । नेपाल र भारत दुवैतर्फको आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि संस्थाले उनलाई दिल्ली ल्याएर आफन्त नेपालको भारत शाखा प्रमुख नवीन जोशीको जिम्मा लगाएको छ । सीतालाई नेपाल बिदाइ गर्न होप संस्थाका आधा दर्जन पदाधिकारी दिल्ली आइपुगेका छन् । दिल्लीको जनमन्तरस्थित केरल हाउसमा आयोजित कार्यक्रममा उनीहरू सीताको परिवारबारे जानकारी प्राप्त भएकामा खुसी देखिन्थे । अर्कोतिर सीतालाई परिवारमा केही समस्या हुने हो कि ? भनेर चिन्ता पनि जाहेर गर्दै थिए ।

होप संस्थाका महासचिव के.एस जयमोहन परिवारमा केही अप्ठ्यारो परे पुनः आफूलाई सम्पर्क गर्न पटकपटक सीतालाई ढाडस दिँदै थिए । सीताका पति र ६ सन्तान छन् । ‘म हराएका बेला सबै साना–साना थिए, अहिले सबै ठूला भइसकेका होलान्, छोरीहरूको बिहा नै भइसक्यो कि ?’ सीताले भन्दै थिइन्, ‘शिव मन्दिर गएका बेला आफू हराएको र कसरी केरल पुगें केही थाहा छैन ।’ सीताको एक छोरा र ५ छोरी छन् । छोरा र दुई छोरीको विवाह भइसकेको छ । कान्छी छोरी १३ वर्षकी भइसकिन् ।

आफन्त नेपालका नवीन जोशीले उनको परिवारजनसँग सम्पर्क भएको र छोराछोरीले उनका बारेमा चासो लिइरहेको बताए । उनी ७ वर्षअघि केरलमा भेटिए पनि करिब एक दशकअघि नै हराएको अनुमान छ ।

१० वर्षदेखि हराएको र उहाँ भेटिनेमा आफूहरू आशावादी नै नरहेको परिवारजनलाई उद्धृत गर्दै जोशीले भने । केरलको एक संस्थाले नेपाली नागरिकप्रति देखाएको व्यवहार र उनलाई नेपाल पठाउन दिल्ली ल्याइदिएको कार्य प्रशंसनीय रहेको जोशीले बताए । ‘अब यहाँबाट हामीले उहाँलाई उनको घरपरिवारसमक्ष पुर्‍याउनेछौं,’ उनले भने ।

सीताले आफू घरपरिवारसँग भेट्न आतुर रहेको बताइन् । उनले आफू गाउँबाट आधा घण्टाको दूरीमा रहेको शिवालयमा दर्शन गर्न बस चढेर गएको र त्यहींबाट हराएको बताएकी छन् । केरल बस्दै गर्दा उनले त्यहाँको भाषा बुझ्ने र बोल्ने भइसकेकी छन् ।

होपका पदाधिकारी उनलाई नेपाल पठाउन आफन्त संस्थालाई जिम्मा लगाउँदै गर्दा केही क्षण भावुक बने । ‘७ वर्ष सबैसँग मिलेर बस्नुभयो,’ सचिव अब्राहमले भने, ‘तीन महिनाभन्दा बढी त अस्पतालमै राख्नुपर्‍यो, बिस्तारै स्वास्थ्यमा सुधार आउँदै गयो ।’

प्रकाशित : जेष्ठ ११, २०७९ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्

सिद्धिचरण युवा पत्रकारिता पुरस्कारबाट नेपाल र राई पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — युगकवि सिद्धिचरण प्रतिष्ठानले कान्तिपुरकर्मी पारसप्रकाश नेपालसहितलाई पुरस्कृत गरेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले युगकवि सिद्धिचरण श्रेष्ठको १११ औं जन्मजयन्तीको अवसरमा दुई संस्था र दुई पत्रकारलाई पुरस्कृत गरेका हुन् ।

युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा राजधानीमा आयोजित समारोहमा उपराष्ट्रपति पुनले सिस्नुपानी नेपाललाई १ लाख रुपैयाँसहितको सिद्धिचरण पुरस्कार प्रदान गरे । त्यस्तै पत्रकार गजुरधन राई, कान्तिपुर दैनिकका प्रमुख उपसम्पादक नेपाल र लहना मिडियालाई सिद्धिचरण युवा पत्रकारिता पुरस्कार दिइएको हो । २५ हजार रुपैयाँसहितको उक्त पुरस्कार राईलाई २०७७, नेपाललाई २०७८ र लहनालाई २०७९ सालका लागि प्रदान गरिएको हो ।

उपराष्ट्रपति पुनले सिद्धिचरणका कविताकृतिमा क्रान्तिचेतको आधिक्य रहनुबाट उनी कवि-साहित्यकार मात्र नभई क्रान्तिकारी नेतासमेत रहेको पुष्टि हुने टिप्पणी गरे । ‘त्यस्ता सिर्जनाका माध्यमले राणाकालको अँध्यारो समयमा युगलाई बाटो देखाएको हुनाले नै उहाँलाई युगकवि भनिएको हो,’ उपराष्ट्रपति पुनले भने ।

प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, प्रतिष्ठानका अध्यक्ष वरिष्ठ कवि वैरागी काइँला र संरक्षक रविचरण श्रेष्ठ, प्रतिष्ठानका उपाध्यक्ष प्राध्यापक मोहन लोहनी, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नांगे, प्राध्यापक रामप्रसाद ज्ञवालीले पनि युगकविको व्यक्तित्व–कृतित्वबारे बोलेका थिए ।

उपराष्ट्रपति पुनले देवी नेपालको अनुसन्धानात्मक कृति ‘युगकवि सिद्धिचरणका कवितामा छन्दविधान’ को लोकार्पणसमेत गरेका थिए ।

प्रकाशित : जेष्ठ ११, २०७९ १२:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×