कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साउदीमा गोली चल्दा एक नेपालीको मृत्यु

अमेरिकी वाणिज्य दूतावास भवनअघि एक बन्दुकधारीले गोली चलाएका थिए
एजेन्सी

जेद्दा, साउदी अरेबिया — साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवननजिकै बुधबार गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ । गोली हानाहानमा सन्दिग्ध आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा बागलुङका ६० वर्षीय नैनसिंह नेपाली रहेको स्टेट न्युज एजेन्सी एसपीएले जनाएको छ ।

साउदीमा गोली चल्दा एक नेपालीको मृत्यु

नेपाली सन् २००१ देखि साउदीमा थिए । साउदीको ओथमान हमेद अल घामदी एन्ड

सन्स कम्पनीमार्फत उनी अमेरिकी वाणिज्य दूतावासमा सुरक्षा गार्डका रूपमा गएका थिए । नेपालीको शव अहिले प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

‘एक कार अमेरिकी वाणिज्य दूतावासनजिकै आएर रोकियो, कारमा सवार एक व्यक्ति हातमा बन्दुक बोकेर निस्कियो । सुरक्षा गार्डले उक्त व्यक्तिलाई आवश्यक केरकार गर्ने क्रममा अचानक हतियारधारीले चलाएको गोली लागी सुरक्षा गार्ड नेपाली घाइते भए र लगत्तै उनको मृत्यु भयो,’ मक्का क्षेत्रका प्रहरी प्रवक्ताले भने । गोली प्रहारको घटनाबारे अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त घटनाको पुष्टि गर्दै अमेरिकी अधिकारीलाई भने कुनै क्षति नभएको जनाएको छ । ‘घटनाको अनुसन्धान गरिरहेका साउदी अधिकारीहरूसँग अमेरिकी दूतावास र वाणिज्य दूतावास सम्पर्कमा छन्,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने ।

वाणिज्य दूतावासमा पछिल्ला वर्ष आतंककारी हमला बढ्दै गएको छ । सन् २०१६ मा पनि उक्त भवनको कम्पाउन्डनजिकै भएको आत्मघाती बम विस्फोटमा परी दुई हमलाकारीको मृत्यु र दुई जना घाइते भएका थिए । सन् २००४ मा पनि बम र बन्दुकसहित आएका पाँच व्यक्तिले अमेरिकी वाणिज्य दूतावासमा हमला गर्दा भवन बाहिर चार साउदी सुरक्षाकर्मी र भित्र चार कर्मचारीको मृत्यु भएको थियो ।

प्रकाशित : असार १५, २०८० ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?