कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'आर्म्ड फोर्सेज डे' मा फहराइयो गोर्खा सैनिक झन्डा

काठमाडौँ — गत शनिबार लन्डनमा आयोजित आर्म्ड फोर्सेज डे (सशस्त्र बल दिवस )  परेडमा सम्भवत: बेलायतमै पहिलो पटक गोर्खा सैनिक झन्डा फहराइएको छ। लन्डन बरो अफ बार्नेटका पूर्व  डेपुटी मेयर काउन्सिलर लक्ष्य गुरुङको विशेष पहलमा  बार्नेटस्थित रोयल एयर फोर्स संग्रहालयमा गोर्खा ब्रिगेड एसोसियसनको झन्डा तयार गरी फहराइएको हो ।

'आर्म्ड फोर्सेज डे' मा फहराइयो गोर्खा सैनिक झन्डा

'म डेपुटी मेयर हुँदा विभिन्न सशस्त्र बल दिवस परेडहरुमा सरिक हुँदा सबैले गोर्खालीहरुको स्टान्डर्ड बियरर झन्डा छैन भनेर सोध्ने गर्ने हुनाले मैले गत बर्ष बर्न्टओक नेपाली समाजको वार्षिक साधारण सभा बैठकमा ब्रिगेड अफ गोर्खाजको झन्डा बनाएर प्रत्येक वर्ष मनाइने सशस्त्र बल दिवस र सन्डे रेमेम्बरेन्स परेडमा स्टान्डर्ड बियररले बोकेर फर्फराउन सके हामी गोर्खालीहरुको पहिचान हुने थियो भनेर प्रस्ताव राखेको थिएँ । मेरो प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गर्यो,' गुरुङले भने।

हरियो पृष्ठभूमिको ब्रिगेड अफ गोर्खाजको झन्डामा जोर खुकुरीको चित्र अङ्कित गरिएको छ। झन्डा तयार गर्न लाग्ने खर्च पूर्वगोर्खा सैनिक ढक राना मगर र बर्न्टओक नेपाली समाजले जुटाएका थिए।

रोयल एयर फोर्स म्युजियम लन्डनमा लन्डन बरो अफ बार्नेटकी मेयर काउन्सिलर नागस नारेन्थिराको अध्यक्षतामा आयोजित समारोहमा उक्त झन्डा लन्डन बरो अफ बार्नेटका लागि बेलायतका राजाका प्रतिनिधि डेपुटी लिफ्टिनेन्ट मार्टिन रसलले बर्न्टओक नेपाली समाजका अध्यक्ष बिष्णु गुरुङ, सदस्यहरु ढक राना मगर र उदय गुरुङलाई हस्तान्तरण गरेका थिए । परेडमा गोर्खालीहरूको नेतृत्व बर्न्टओक नेपाली समाजका अध्यक्ष पूर्वगोर्खा विष्णु गुरुङले गरेका थिए ।

प्रकाशित : असार १४, २०८० १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?