२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५१

सिड्नीको व्यापारिक केन्द्रमा जथाभावी छुरा प्रहार

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाको सिड्नीस्थित ब्यस्त व्यापारिक केन्द्रमा एक व्यक्तिले शनिबार अन्धाधुन्ध हतियार प्रहार गरी ५ जनाको हत्या गरेका छन् । शनिबार स्थानीय समय अनुसार साँझको तीन बजेर २० मिनेटको समयमा भएको उक्त घटनामा एक बच्चाका साथै कैयौ घाइते भएका छन् ।

सिड्नीको व्यापारिक केन्द्रमा जथाभावी छुरा प्रहार

प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेर घटनाको जानकारी गराउँदै घाइतेमध्ये केही सिकिस्त रहेको जनाएको छ । घटनाको जानकारी हुनासाथ खटिएको प्रहरीको गोली लागि आक्रमणकारीको पनि मृत्यु भएको छ ।

सिड्नीको ब्यस्तमध्येको क्षेत्र बोण्डाई जक्सनमा रहेको ‘वेस्टफिल्ड’ सपिङ सेन्टरमा एक व्यक्ति दिउँसो ३ बजे आएर फर्किएको अनि पुन त्यसको २० मिनेटपछि आएर घटना घटाएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै असिस्टेन्ट कमिस्नर एन्थोनी कुकले कैयौं व्यक्तिलाई उपचारका लागि अस्पताल लगिएको बताए । उनले प्रारम्भिक अनुसन्धानमा हतियारधारीले एक्लै उक्त घटना घटाएको समेत जानकारी गराए । उनले कैयौं घाइतेमध्ये सानो बच्चा समेत रहेको जानकारी दिए ।

हातमा लामो हतियार लिएर सर्वसाधारणलाई आक्रमण गर्दै हिंडेका ती आक्रमणकारीले कसैलाई समेत नछोडेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको बारेमा जानकारी पाउनासाथै न्यु साउथ वेल्स प्रहरीले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । आक्रमणकारीलाई प्रहरीले हतियार फ्याँक्न गरेको निर्देशन नमानेपछि प्रहरीले गरेको जवाफी कारवाहीमा प्रहरीको गोली लागि मृत्यु भएको थियो ।

घटनाका प्रत्यक्षदर्शीले सपिङ सेन्टरभित्रको त्यतिबेलाको अवस्था अत्यासलाग्दो भएको बताएका छन् । उनीहरुमध्ये धेरैले सपिङ सेन्टरभित्र रहेका पसलका अध्याँरो कुनामा लुकेर बसेको बताए । सामाजिक सञ्जाल तथा समाचारसंस्थामा उपलब्द्ध भिडियो फुटेजमा हतियारधारी लामो छुराजस्तो देखिने हतियार लिएर सपिङ सेन्टरमा हिंडेको देख्न सकिन्छ ।

उक्त आक्रमणकारीलाई केही सर्वसाधारणले रोक्न कोशिस गरेको समेत भिडियोहरुमा देख्न सकिन्छ । घटनापछि प्रहरीले उक्त क्षेत्रलाई खाली गराएको थियो भने सुरक्षाब्यवस्था अत्यन्त कडा बनाएको छ ।

हतियारधारी उक्त व्यक्तिले उक्त स्थानमा रहेका सर्वसाधारणलाई अन्धाधुन्ध रुपमा छुरा प्रहार गर्न शुरु गरेका थिए । छुरा प्रहार हुन थालेपछि उक्त स्थानमा रहेका सर्वसाधारणमा भागदौड मच्चिएको थियो भने ज्यान बचाउनका लागि भित्र रहेका पसलहरुमा लुकेर बसेका थिए ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले घटना अत्यन्तै दुखदायी भएको बताउँदै घटनामा मृत्यु भएकाप्रति समवेदना ब्यक्त गरेका छन् । न्यु साउथ वेल्स राज्यका प्रिमियर क्रिस मिन्सले समेत घटनाले आफुलाई स्तब्द्ध बनाएको बताउँदै आफ्नो भ्रमण सकेर तत्कालै सिड्नी फर्किने बताएका छन् ।

प्रकाशित : वैशाख १, २०८१ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?