२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

लन्डन म्याराथनमा दौडिए १५० बढी नेपाली

नवीन पोखरेल

लन्डन — विश्व चर्चित लन्डन म्याराथनमा नेपाल र बेलायतस्थित नेपाली धावकले पनि प्रतिस्पर्धा गरेका छन् । आइतबार भएको म्याराथनमा नेपालका राष्ट्रिय खेलाडीसहित बेलायतमै रहेका करिब एक सय ५० नेपालीले दौडमा सहभागिता जनाए ।

लन्डन म्याराथनमा दौडिए १५० बढी नेपाली

राष्ट्रिय धावक गोपीचन्द्र पार्की र २० वर्षे कुशल दीक्षित, नेपाल रन यूकेका ५६ जना एवं अन्य क्लब र व्यक्तिगत गरी झन्डै डेढ सयले भाग लिएको नेपाल रन यूकेका सचिव जगन कार्कीले बताए । लन्डन म्याराथनमा यसपटक ५० हजार बढीले सहभागिता जनाएको थियो । यो रेकर्ड ब्रेक सहभागिता हो ।

म्याराथनमा सेलिब्रेटी, डीजे, संगीतकार, पूर्व फुटबलर, अभिनेता, ओलम्पियन, रेसिङ ड्राइभर आदि प्रतिस्पर्धी थिए । नेपाली धावक गोपीचन्द्रले २ घण्टा २२ मिनेट ३१ सेकेन्डमा दौड पूरा थिए । उनले आफ्नो पुरानो रेकर्डमा सुधार गर्न भने सकेनन् । १३ औं दक्षिण एसियाली खेलकुदमा ५ हजार मिटर दौडमा स्वर्ण जितेका गोपीले नोभेम्बरमा सम्पन्न नेपालगन्ज म्याराथन २ घण्टा २१ मिनेट ३९ सेकेन्डमा दौड पूरा गरेका थिए ।

‘राम्रो रेकर्ड राख्न खोज्दा कहिलेकाहीं भनेजस्तो हुन सक्दैन । मेरो यो सुरुआत हो र भविष्यमा उत्कृष्ट नतिजाका लागि प्रयास गर्नेछु’, गोपीचन्द्रले भने, ‘तर, लन्डन म्याराथनबाट धेरै सिक्ने मौका पाएँ । यो अवसरका लागि नेपाल रन यूकेलाई धन्यवाद दिन चाहन्छु ।’ नेपाल रन यूकेको निमन्त्रणा र व्यवस्थापनमा उनी लन्डन आएका हुन् ।

६६ वर्षीय आत्माराम दाहालले पनि छैटौं पटक लन्डन म्याराथनमा भाग लिए । कुनै इन्ज्युरी नभई ४ घण्टा १७ मिनेटमा दौड पूरा गरेको उनले बताए । ‘म सिरियस रनर होइन । दौडभरि बाटोमा फोटो खिच्दै, गफिँदै रमाइलो गरें,’ नेपाली झण्डा बोकेर दौडिएका उनले कान्तिपुरसँग सुनाए ।

सन् १९९५ मा बेलायत आएर २००० देखि नर्थ योर्कसायरमा बसोवास गर्न थालेका दाहाल धेरैका प्रेरणास्रोत हुन् । उनले सन् २०११ यता १ सय ८० वटा हाफ म्याराथन पूरा गरेका छन् । ‘फन्ड रेजका लागि यस वर्ष (२०२४) भित्र यो लन्डन म्याराथनसहित कम्तीमा ३० वटा हाफ म्याराथन गर्ने अठोट लिएको छु,’ उनले भने । दौडले मानिसलाई चिन्ता हटाउने र स्वास्थ्य रहन मद्दत गर्ने उनी सुनाउँछन् । बेलायतमा जहाँ दौड भए पनि पुगिहाल्छन् उनी ।

नेपाल रन यूकेका प्रशिक्षक सन्तोष राईले दौड्ने क्लब सदस्यहरूले विभिन्न च्यारिटीका लागि फन्डरेज गरेको जनाए । म्याराथनपछि गोपीचन्द्र र अन्य धावकको सम्मानमा नेपाल रन यूकेले साँझ सम्मान कार्यक्रम गरेको थियो ।

प्रकाशित : वैशाख ११, २०८१ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?