१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८१

बेलायतका नेपाली वैज्ञानिकलाई बायोसाइन्समा विश्व प्रतिष्ठित अवार्ड

नवीन पोखरेल

लन्डन — संयुक्त अधिराज्य (बेलायत)को स्कटल्यान्डस्थित युनिभर्सिटी अफ डन्डीका प्राध्यापक डा. गोपाल सापकोटालाई बायोसाइन्समा विश्वकै प्रतिष्ठित अवार्ड प्रदान गरिने भएको छ । ४९ वर्षीय सापकोटालाई 'द बायोमेडिकल सोसाइटी'ले सन् २०२५ का लागि 'द इन्ड्रष्टी एण्ड एकेडेमिक कोलाब्रेसन क्याटेगोरी' मा अवार्ड प्रदान गर्ने भएको हो । 

बेलायतका नेपाली वैज्ञानिकलाई बायोसाइन्समा विश्व प्रतिष्ठित अवार्ड

सन् १९११ मा स्थापित सोसाइटीले बर्सेनि प्रदान गर्ने उक्त अवार्ड विश्वको कुनै पनि ठाउँबाट जैविक विज्ञान एवं अनुसन्धानमा प्रेरणादायी योगदान गरेका उत्कृष्ट व्यक्ति वा समूहलाई प्रदान गरिन्छ । विश्वभरबाट प्राप्त मनोनयन मध्येबाट विभिन्न क्याटेगोरीमा १५ जनाले नगदसहित अवार्ड पाउने छन् ।

डा. सापकोटाको नेतृत्वमा रहेको ‘सापकोटा ल्याब’ डन्डी युनिभर्सिटी स्कुल अफ लाइफ साइन्सेजको विश्वप्रसिद्ध मेडिकल रिसर्च काउन्सिल प्रोटिन फस्फोरिलेसन र युबिक्विटिलेसन युनिटअन्तर्गत पर्दछ । रिसर्च एक्सिलेन्स फ्रेमवर्क यूकेको मूल्यांकनअनुसार, डन्डी युनिभर्सिटी विगत १० वर्षदेखि जैविक विज्ञान अनुसन्धानका लागि बेलायतकै शीर्ष स्थानमा छ ।

डा. सापकोटाको अनुसन्धान हाल उपचार नै नभएका क्यान्सर र न्युरोडिजेनेरेसनजस्ता रोगहरु कसरी लाग्छन् र यी रोगहरुको नयाँ प्रविधिद्वारा कसरी उपचार गर्न सकिन्छ भन्नेमा केन्द्रित छ । डा. सापकोटाले गरेका नयाँ प्रविधिको आविष्कारका कारण नै उनको विभिन्न फार्मास्यूटिकल कम्पनीहरुसँग सहकार्य सुरु भएको हो । यो पुरस्कार त्यही सहकार्यले अनुसन्धानमा उत्कृष्ट र प्रेरणादायी योगदान पुर्‍याएका कारण उनलाई दिने घोषणा भएको हो।

अवार्डको घोषणा भएपछि प्रसन्नता व्यक्त गर्दै सापकोटाले जिम्मेवारी थपिएको बताए । 'हामीले अहिलेसम्म गरेको मिहिनेतको र कामको गुणस्तरको सम्मान हो । यसले आगामी दिनहरूमा अनुसन्धान र सहकार्य अझ बलियो बनाउने आशा गरेको छु,' उनले भने। उनले आफ्नो नेतृत्वको विभागमा कठोर मिहिनेत गर्ने पीएचडी विद्यार्थी र पोष्ट डक्टरेट अनुसन्धानकर्ताहरुको वर्षौंको मिहिनेतको पनि कदर भएको बताए।

बर्मिङघम विश्वविद्यालयमा बायोकेमिस्ट्रीका प्रोफेसर एवं बायोकेमिकल सोसाइटी अवार्डस् कमिटीका अध्यक्ष प्रोफेसर स्टीभ बस्बीले भने, '२०२५ बायोकेमिकल सोसाइटी पुरस्कार विजेताहरूको सूची प्रभावशाली छ र निसन्देह प्रत्येक पुरस्कार हाम्रो समुदायको फरक वर्गमा लक्षित भएकाले पुरस्कार विजेताहरूको अद्भूत मिश्रण छ । यो धेरै वर्षदेखि सोसाइटीका प्रबन्धकहरू र कोषकर्ताहरूको उत्कृष्ट दूरदर्शिताको कारण हो।' उनले विजेताहरूलाई बधाई दिँदै मनोनयनकर्ता, समर्थक, बायोकेमिकल सोसाइटीका कर्मचारी एवं पुरस्कार छनोट समिति लगायतलाई कडा परिश्रमका लागि धन्यवाद समेत दिए ।

अर्घाखाँचीको दुर्गम किमडाँडामा जन्मिएर ५ वर्ष छँदा परिवारसँग कपिलपवस्तु बसाइँ सरेका गोपाल सापकोटाले ९ वर्षको उमेरमा काठमाडौंको बुढानीलकण्ठ स्कुलमा अध्ययन गर्न छात्रवृत्ति प्राप्त गरे। उनी २०४८ सालको एसएलसीको परीक्षामा आठौं भएका थिए । बुढानिलकण्ठमा ए लेभलसम्म पढेपछि उनी ब्रिटिश काउन्सिलको छात्रवृत्तिमा सन् १९९५ मा बेलायतको बाथ युनिभर्सिटीमा आफ्नो अध्ययन सुरु गरी बायोकेमिष्ट्रीमा अन्डरग्रयाजुएट र मास्टर्स गरे । उनले सन् २००३ मा डाइबीटीज यूकेको छात्रवृत्तिमा युनिभर्सिटी अफ डन्डीबाट बायोकेमेस्ट्रीमा पीएचडी हासिल गरे।

उनले न्यूयोर्कको विश्वप्रसिद्ध मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा पोस्टडक्टोरल अनुसन्धान गर्न प्रतिष्ठित डेमन रुनियोन क्यान्सर रिसर्च फेलोसिपबाट सम्मानित भएका थिए । सन् २००६ मा उनले लरा हर्टनबौम फाउन्डेसनबाट ‘लेगेसी अफ होप’ अवार्डसमेत प्राप्त गरेका थिए।

सन् २००८ देखि युनिभर्सिटी अफ डन्डीमा स्कुल अफ लाइफ साइन्सेजको मेडिकल रिसर्च काउन्सिल प्रोटिन फस्फोरिलेसन र युबिक्विटिलेसन युनिटमा एक अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत सापकोटा जीव विज्ञानका वरिष्ठ वैज्ञानिक हुन् । उनको अनुसन्धान यूके सरकारको मेडिकल रिसर्च काउन्सिल, जीएसके, एमजेन, बेल्जियममा अवस्थित यान्सन फार्मास्युटिकल्स, अमेरिकामा अवस्थित माइकल जे फक्स फाउन्डेशन, कनिघम ट्रस्ट, इस्टबायो, नोभो नोर्डिस्क - कोपेनहेगन युनिभर्सिटी जस्ता विभिन्न संस्थारुको लगानीमा हुने गर्छ। यसरी नै डा. सापकोटाको धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य जारी छ।

सहकार्यका केही उदाहरण दिँदै सापकोटाले भने, 'न्यूरो-डिजेनेरेटिभ रोगहरुमा मेमोरी जाने कारण ब्रेनको सेलहरूमा केही प्रोटिनहरू काम गर्न छोड्छन् र जम्मा हुन्छन्, जसले गर्दा सेलहरू खप्न सक्दैनन् र मर्छन् । हामी अहिले यान्सनको सहयोगमा आफैंले आविष्कार गरेका प्रविधिहरू प्रयोग गरेर ब्रिग्रिएका प्रोटिनहरू ब्रेनको सेलहरूबाट हटाउन सकिन्छ कि भन्ने अनुसन्धानमा छौं।'

उनी आफ्नो अनुसन्धानले क्यान्सर र पार्किन्सनसजस्ता रोगहरू (जसका लागि हाल कुनै उपचार नै छैन) समाधान गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने आशा राख्दछन् । उनले आफ्नो अध्ययन वा कामको क्रममा विश्वभरका सयौं प्रतिष्ठित वैज्ञानिकहरूसँगको सहकार्य, मित्रता वा छलफलको अवसरले पनि विज्ञानका कठिन प्रश्नको उत्तर खोज्न निरन्तर लागिरहन प्रेरित गरेको बताए ।

बेलायत युरोपेली युनियन (ब्रेक्जिट) बाट अलग्गिए लगत्तै रिसर्चमा धेरै प्रभाव पारेपनि अहिले बेलायत ईयूको होराइजन प्रोगाममा आवद्ध भएकाले भविष्यमा समस्या नहुने उनको आशा छ।

उनी आफ्नो ज्ञान, सीप र विशेषज्ञता नेपालमा समेत सदुपयोग गर्न उत्सुक छन्। नेपालमा पनि बायोमेडिकल अनुसन्धान र शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले उनले अन्य नेपाली वैज्ञानिकहरुसँग जुटेर सन् २००६ मा 'इन्टरनेशन्ल नेपाली बायोमडिकल सोसाइटी' गठन गरेका थिए । 'कुनैपनि रोगले राष्ट्रियताको आधारमा भेदभाव गर्दैन। हाम्रो रिसर्चको जे उपलब्धि हुन्छ, नेपालमा पनि सहजै पुर्‍याउँछ भन्ने छ । बायोमेडिकल क्षेत्रका विशेषज्ञहरूलाई नेपालमा सेमिनार दिन प्रोत्साहन गर्ने र अन्य सहयोग गर्न हामी तयार छौं,' उनले भने।

कोभिड महामारीका बेला पनि नेपालमा सक्दो सहयोग गर्न प्रयास गरेको उनले स्मरण गरे । उनले भने, 'यसै क्रममा अहिले विश्वमा नै प्रतिष्ठित धेरै नेपाली बायोमेडिकल वैज्ञानिकहरू नेपाली समाजको हरेक पक्षमा सहयोग गर्न तत्पर छन्।'

सापकोटा एबरडिन युनिभर्सिटीमा स्वास्थ्य विज्ञान अनुसन्धानकर्ता श्रीमती डा. शिला त्रिपाठी र दुई छोरी श्रेया र मायाका साथ हाल स्कटल्याण्डमा बस्छन् । उनको नेपालको बसाई बुटवलमा छ।

प्रकाशित : वैशाख २, २०८१ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?