२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

सहकारीको बचत रिसोर्टमा लगानी, सञ्चालक सांसदविरुद्ध अदालतको पक्राउ पुर्जी

निजी कम्पनीलाई र बिनाधितो ऋण दिनेलाई मात्र होइन, लिने कम्पनीका सञ्चालकलाई पनि सहकारी ऐनअनुसार पक्राउ गरी अनुसन्धान गर्न नवलपुर जिल्ला अदालतको अनुमति, नजिर गृहमन्त्री लामिछानेलाई पनि लागू हुने भन्दै प्रहरी अलमलमा

काठमाडौं/पूर्वी नवलपरासी — सर्वसाधारणको बचत हिनामिनामा सहकारी सञ्चालक मात्र होइन, निजी कम्पनीमा लगानी गर्ने सांसदलाई पनि अनुसन्धानको दायरामा ल्याउन अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । चितवनको सनराइज, पूर्वी नवलपरासी (नवलपुर) को छिपछिपे र बर्दिर्याको नमस्ते सहकारीबाट १६ करोड ५८ लाख लिएर आफ्नो समूहको रिसोर्टमा लगानी गर्ने राप्रपाकी संघीय सांसद गीता बस्नेतलाई पक्राउ गर्न पुर्जी जारी भएको हो । 

सहकारीको बचत रिसोर्टमा लगानी, सञ्चालक सांसदविरुद्ध अदालतको पक्राउ पुर्जी

अदालतबाट पक्राउ अनुमति पाइसकेपछि पनि कार्यान्वयन गर्नुको सट्टा प्रहरी भने प्रदेश र प्रधान कार्यालयमा पत्राचार गर्दै अलमल गरिरहेको छ । नजिर गृहमन्त्री रवि लामिछानेलाई पनि लागू हुने भन्दै प्रहरी अलमलमा परेको हो ।

सांसद बस्नेतसमेतको लगानीमा बर्दियाको गुलरियामा सञ्चालित कृष्णसार रिसोर्टमा तीन जिल्लाका तीन सहकारीको बचत लगानी गरी हिनामिना गरिएको थियो । कान्तिपुरलाई प्राप्त कागजातमा पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेको छिपछिपे उपभोक्ता सहकारी, चितवनमा रहेको सनराइज बचत तथा ऋण सहकारी र बर्दियामा रहेको नमस्ते बचत तथा ऋण सहकारीबाट कृष्णसार रिसोर्टमा बिनाधितो ऋण प्रवाह भएको छ ।

सहकारी ऐन २०७४ को दफा ५० मा सहकारीले आफ्नो सदस्यको मात्र बचत स्वीकार गर्न र सदस्यलाई मात्र ऋण प्रदान गर्न सक्ने व्यवस्था गरेको छ । ‘सहकारी संस्थाले संकलन गरेको बचत रकम सदस्यबीच ऋण लगानी, नेपाल सरकारले जारी गरेको ऋणपत्र वा नेपाल राष्ट्र बैंकले जारी गरेको ट्रेजरी बिल खरिद गर्नबाहेक अचल सम्पत्ति खरिद, पूर्वाधार निर्माण कारोबारमा लगानी, फर्म वा कम्पनीको कुनै बैंक (सहकारी बैंकबाहेक) को सेयर खरिद वा अन्य कुनै प्रयोजनमा उपयोग गर्नु हुँदैन,’ ऐनमा भनिएको छ ।

सहकारीको रकम हिनामिना गर्नेलाई दण्डित गर्न जरिवाना र जेल सजायसमेत हुने व्यवस्था ऐनको दफा १२२ ले गरेको छ । झूटा विवरण दिई ऋण लिएमा, धितो कमसल ठहरिएमा वा कर्जा हिनामिना गरेमा बिगो भराइ, बिगो बराबरको जरिवाना र ६ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ । प्रहरी र सरकारी वकिलको कार्यालयले यही दफा प्रयोग गरी अनुसन्धान र मुद्दा प्रक्रिया अघि बढ्ने जनाएका छन् ।

नवलपुर जिल्ला प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अघि बढाएको प्रक्रियाअनुसार जिल्ला अदालतले सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अदालतले सांसदलाई पक्राउ गर्न आदेश दिएको जानकारी जिल्ला प्रहरी कार्यालयले प्रदेश प्रहरी कार्यालय गण्डकीलाई र उक्त कार्यालयले प्रहरी प्रधान कार्यालयलाई पठाएको छ ।

जिल्ला प्रहरीले लेखेको पत्रमा भनिएको छ, ‘सहकारी ऐन २०७४ अनुसारको कसुर मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा हामीहरूले बर्दिया जिल्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका समानुपातिकतर्फबाट संघीय सांसद रहेकी गीता बस्नेतसमेतको संलग्नतामा चितवन जिल्लामा सञ्चालित सनराइज बचत तथा ऋण सहकारी संस्था लि., नवलपरासीपूर्वको छिपछिपे उपभोक्ता सहकारी संस्था लि. तथा बर्दिया जिल्लामा सञ्चालनमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्था लि. समेतको बचत हिनामिना गरी बर्दिया जिल्लामा रहेको कृष्णसार रिसोर्टमा लगानी गरेको भनी बयान ब्यहोरामा खुलाई/लेखाइदिएको तथा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशबाट खटिएका वित्तीय विश्लेषक निर्मल गौतमले पेस गरेको वित्तीय विश्लेषणसहितको प्रतिवेदनमा खुलेको हुँदा लालबहादुर गुरुङकी छोरी, सुकमान बस्नेतकी श्रीमती जिल्ला बर्दिया गुलरिया नगरपालिका ९ वतन भई ऐन वडा नं. ४ बस्ने वर्ष ६७ की गीता बस्नेतलाई प्रस्तुत मुद्दामा पक्राउ गरी अनुसन्धान गर्नका लागि सम्मानित नवलपुर जिल्ला अदालतबाट पक्राउ अनुमतिसमेत प्राप्त भइआएकाले निज बस्नेत संघीय संसद्को सदस्य रहे नरहेको सम्बन्धमा यकिन विवरण पठाई दिनका लागि...।’

साग तथा दूध बेचेर, सडकमा मकै तथा बदाम बेचेर जम्मा गरेको पैसा रिसोर्टमा लगानी गरी हिनामिना गरेको तथा बचत फिर्ता नगरेको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरी अधिकारीहरूका अनुसार योगेन्द्र पाण्डे, नरेन्द्र रिजाल र सञ्जीव महतोलगायतको एउटै समूहले नवलपुर, चितवन र बर्दियामा फरकफरक नाममा सहकारी सञ्चालन गरेको थियो ।

नवलपुरको छिपछिपे सहकारीका योगेन्द्र पाण्डे अध्यक्ष र नगेन्द्रबहादुर रिमाल सचिव छन् भने चितवनको सनराइज सहकारीमा नगेन्द्र अध्यक्ष र योगेन्द्र सचिव छन् । बर्दियाको नमस्ते सहकारीमा भने नगेन्द्र अध्यक्ष र सञ्जीवकुमार महतो व्यवस्थापक छन् । सहकारी सञ्चालकहरू पाण्डे, रिजाल, महतो तथा सांसद बस्नेतले बर्दियामा कृष्णसार रिसोर्ट सञ्चालन गरिरहेका छन् । ‘बचत हिनामिनामा संलग्न सहकारीका सञ्चालकहरू पाण्डे, रिजाल, महतोसहित ६ जना पक्राउ परिसकेका छन्,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘निजी कम्पनी खडा गरी सञ्चालनमा ल्याइएको रिसोर्टकी अध्यक्ष तथा सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी गर्ने कि नगर्ने भनेर हामीले जिल्ला अदालतलाई सोध्यौं । अदालतले पक्राउ गर्नु भन्ने अनुमति दिएपछि प्रहरी प्रधान कार्यालयमा जानकारी पठाएका छौं ।’

रिसोर्टमा लगानी गरिएको रकमबापत धितोसमेत नराखिएको र एक पटक पनि किस्ता नतिरेको पूर्वी नवलपरासीका जिल्ला न्यायाधिवक्ता हरि घिमिरेले बताए । ‘न धितो राखिएको छ, न किस्ता तिरिएको छ । रिसोर्टकी सञ्चालक बस्नेतलाई पक्राउ गर्न र बयानका लागि उपस्थित गराउन जिल्ला अदालतले अनुमति दिएको छ,’ उनले भने ।

पूर्वी नवलपुरका जिल्ला प्रहरी प्रमुख नरहरि रेग्मीले सहकारीको अनुसन्धान अन्तिम चरणमा पुगेकाले तत्कालै केही बताउन नसकिने बताए । ‘अनुसन्धान सकिएपछि विस्तृत विवरण सार्वजनिक गर्नेछौं,’ उनले भने ।

बर्दियामा रहेको कृष्णसार रिसोर्ट सांसद बस्नेतकै जग्गामा भएको देखिन्छ । प्रहरी अनुसन्धानमा नगेन्द्रबहादुर र सांसद गीताको योजनामा सहकारीको रकमबाटै रिसोर्टको आन्तरिक साजसज्जामा समेत ठूलो लगानी गएको देखिन्छ । सांसद गीताका छोरीज्वाइँ एवं छिपछिपे बचत सहकारीका सचिव, सनराइज र नमस्ते सहकारीका अध्यक्षसमेत रहेका नगेन्द्रकुमार रिमालले २१ कट्ठामा भएको रिसोर्टको संरचना तयार गर्ने क्रममा पैसाको आवश्यकता परेकाले सहकारीबाट रकम ल्याएर लगानी गर्ने र रिसोर्टबाट प्राप्त हुने नाफा सहकारीमा राख्ने गरी सनराइज सहकारीबाट ७ करोड र नमस्ते सहकारीबाट ७ करोड रकम लगेको देखिन्छ ।

बचतकर्ताको उजुरीपछि गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषक तथा परामर्शदाता गौतमलाई छानबिनमा खटाएको थियो । गौतमले फागुन २९ मा बुझाएको प्रतिवेदनमा सहकारीको रकम हिनामिना गर्नेहरूको विस्तृत विवरण र रकम उल्लेख छ ।

पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम, नेपालगन्जको समानता, वीरगन्जको सानो पाइला र काठमाडौंका स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा पैसा सारेजस्तै चितवन, नवलपुर र बर्दियाका तीन सहकारीबाट कृष्णसार रिसोर्टमा लगानी गर्दा धितोलगायत कुनै प्रक्रिया पूरा गरिएको छैन । दुई हजार तीन सय ९३ बचतकर्ताको १६ करोड ५८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै नवलपुरको छिपछिपे सहकारीका बचतकर्ता प्रहरीमा पुगेपछि सांसद बस्तेतसहितको समूहले सहकारीको रकम अपचलन गरी रिसोर्टमा लगानी गरेको तथ्य खुलेको थियो ।

प्रकाशित : वैशाख १९, २०८१ ०५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?