२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

इलाम : एमालेको विरासत

रास्वपाका लिम्बूसहित १६ उम्मेदवारले जोगाउन सकेनन् जमानत

इलाम — इलाम–२ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङ २७ हजार ७ सय ७२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत मात्र पाए । २०७९ को निर्वाचनमा खड्का एमालेकै सुवास नेम्वाङसँग १ सय १४ को झिनो मतान्तरमा पराजित भएका थिए ।

इलाम : एमालेको विरासत

यस पटक सुवास–पुत्र सुहाङले खड्कासँगको मतान्तरलाई ५ हजार ८ सय ३० ले बढाएका हुन् ।

कोशीमा प्रदेश नामकरणलाई लिएर पछिल्लो समय पहिचानवादी समूह आन्दोलनरत छ । सोही शक्ति समूहको साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ को सम्मानजनक मतसहित तेस्रो स्थानमा आए । विगतमा शिक्षण पेसामा आबद्ध थेगिम हाल प्रदेश पुनः नामांकन संघर्ष समितिका संयोजक पनि हुन् । निर्वाचनअघि निकै चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले भने जमानत जोगाउन सकेनन् । चौथो स्थानमा आएका उनले ५ हजार ५० मत मात्र पाए । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट रास्वपाका प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत पाएका थिए ।

निर्वाचन कार्यालय इलामका अनुसार इलाम–२ मा फाकफोकथुमका ७, चुलाचुली र माङसेवुङका ६/६, माई नगरका ३, देउमाईका ९ र इलाम नगरको वडा १० बाहेकका ११ वटा वडा सम्मिलित छन् । तीन दशकदेखि लगातार जित्दै आएको यस क्षेत्रमा सुहाङको जितले एमालेको विरासतलाई जोगाइदिएको छ ।

इलाम–२ मा कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका १६ जना उम्मेदवारको जमानत जफत भएको छ । यहाँ १२ दल र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार थिए । इलाम–२ मा रास्वपा उम्मेदवार लिम्बूसहित एकीकृत समाजवादीका जितबहादुर राई, राप्रपाका लक्ष्मी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बूसहित १६ जनाको जमानत जफत भएको हो । कुल मतदाता १ लाख १५ हजार ८ सय ८९ रहेको यो क्षेत्रमा ६९ हजार ३ सय ७४ मत खसेको थियो । ६८ हजार ४ सय ७२ मत सदर भएको थियो । त्यसअनुसार जमानत जोगाउन पनि कम्तीमा ६ हजार ८ सय ४७ मत ल्याउनुपर्थ्यो । रास्वपाका लिम्बूलाई जमानत जोगाउन पनि १ हजार ७ सय ९७ मत अपुग भएको हो । त्यस्तै मंगोल नेसनलका मनीबहादुरले ८ सय १६ मत ल्याए भने एसका जितबहादुरले ४ सय ८ मत ल्याउँदा राप्रपाका लक्ष्मीले मात्र ४ सय ४ मत प्राप्त गरे । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ । तर महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था छ ।


‘बुबाले देखाएको बाटोमा निष्ठापूर्वक हिँड्ने छु’


पूर्वसभाभुख एवं संविधानसभा अध्यक्ष तथा एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्वाङको गत वर्ष भदौ २७ मा हृदयाघातका कारण निधन भएपछि इलाम–२ को रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि गत बिहीबार उपनिर्वाचन भएको हो । जसमा नेम्वाङ पुत्र सुहाङले नै मंगलबार जित निकाल्दै एमालेको प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । ३३ वर्षीय सुहाङले संघीय संसद्को यात्रा थाल्दै बुबाको राजनीतिक विरासत थामेका छन् । उपनिर्वाचन र नतिजामा केन्द्रित भई कान्तिपुरले गरेको संक्षिप्त कुराकानी ः

आफ्नो जितलाई कसरी लिनुहुन्छ ?

यसलाई ठूलो अवसरसँगै जिम्मेवारीको रूपमा लिएको छु । इलामेली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीले विश्वास गरेर मलाई जिताउनुभएको छ । मप्रतिको विश्वासलाई घात गर्ने छैन । उहाँहरूका तमाम समस्या समाधानमा म अबका तीन वर्ष सक्रिय बन्नेछु । खासगरी शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनतिर हाम्रो ध्यान रहनेछ । कृषिमा उत्पादन, सहयोग र बजारीकरण र मूल्य निर्धारणका विषयमा हामी गम्भीर छौं । समस्या समाधानका लागि नीति निर्माणसँगै व्यवस्थित बजारीकरणका लागि पहल गर्नेछु । इलामको पर्यटनमा मेरो विशेष जोड रहनेछ ।


इलाममा बाटोघाटोको अवस्था दयनीय देखियो । यसको निराकरणका लागि तपाईंको योजना कस्तो छ ?

विकासका आधारहरूमध्ये मुख्य कुरा बाटोघाटो नै हो । बजेट नआउने पनि हैन । ठेक्कामार्फत काम अघि बढेको पनि थियो । तर, कतिपय काम प्राविधिक कारण या लापरबाहीले पूर्णता नपाएको देखियो । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन सबै क्षेत्रका लागि बाटो नै आवश्यक पर्छ । तसर्थ बाटोघाटो र पूर्वाधार विकासलाई म प्राथमिकतामा राख्नेछु । सांसद भएका नाताले बजेट ल्याउने मात्रै हैन, कार्यान्वयन भयो कि भएन अनुगमन पनि गर्नेछु ।

तपाईं नीति बनाउन केन्द्रित हुनुहुन्छ कि, विकास निर्माणमा ?

सांसदका हैसियतमा नीति निर्माण मुख्य काम हो । सँगै आफ्नो क्षेत्रको विकासमा पनि ध्यान दिनेछु । जनताका अपेक्षा पूरा गर्ने जिम्मेवारी पनि सँगै निर्वाह गर्नेछु ।


जितको आधार के हो ?

एमालेसँगै इलामेलीको विरासत नै मेरो जितको मूल आधार हो । हाम्रो संगठन विगतदेखि नै बलियो थियो । त्यसमाथि माओवादी, विप्लव समूह, नेपाल परिवार दलसँगको सहकार्यले मेरो जित निश्चित भयो ।

यो खुसीको क्षणमा बुबालाई कसरी सम्झिनुहुन्छ ?

अघिल्लो वर्ष विजय र्‍यालीपछिको सभामा बुबा र म सँगै थियौँ । उहाँले मेरो काँधमा हात राखेर विजय सभालाई सम्बोधन गर्नुभएको थियो । ४२ वडा घुमेका थियौं । त्यो सबै कुरा अहिले झलझली याद आउँछ । मेरो बुबा मात्रै हैन, अभिन्न मित्र पनि हुनुहुन्थ्यो । उहाँ जहिल्यै राजनीतिमा कानुन र न्याय कहिल्यै छाडेर हिँड्नुहुन्न भन्नुहुन्थ्यो ।

उहाँले देखाएको यो बाटोमा इमानदारिता र निष्ठापूर्वक हिँड्नेछु ।

राजनीतिमा आउन तपाईंको पनि चाहना थियो कि बुबाका लागि मात्र ?

बुबालाई म राजनीतिमा आउँछु भन्ने विश्वास मात्रै थियो । तर, आउनै पर्छ भन्ने उहाँको दबाब रहेन । मैले कानुन पढ्दा बुबा खुसी हुनुहुन्थ्यो । पछि वकालत गर्न थालेँ, कानुनी परामर्श केन्द्र खोलेर प्राक्टिस पनि सुरु गरेँ । त्यसो त हामी समसामयिक राजनीतिबारे बाक्लै छलफल गर्थ्यौँ । खासगरी राजनीतिका नकारात्मक पक्षलाई कसरी सुधार्न सकिन्छ भन्ने सुझाव म बुबालाई दिन्थेँ । उहाँले पनि वकालतबारे मलाई सल्लाह दिनुहुन्थ्यो । त्यो बखत उहाँलाई लागेको हुनुपर्छ छोरो राजनीतितिरै आओस् भन्ने । पारिवारिक हुर्काइ बढाइले पनि मलाई राजनीतिप्रति मोह त जगाएकै थियो । सँगै राजनीतिक चेतना बढ्दै जाँदा राजनीतिमा लाग्छु भन्ने हुटहुटी पनि हुँदै गयो ।

जितको श्रेय कसलाई दिनुहुन्छ ?

पहिलो श्रेय, इलाममा मेरा बुबा र एमाले संगठनलाई विश्वास गर्ने तमाम आमाबुबा, दाजुभाइ, दिदीबहिनीलाई जान्छ । दोस्रो श्रेय, हाम्रो संगठनलाई जान्छ । पार्टीका नेतादेखि कार्यकर्ताहरूलाई जान्छ । जसले मत मात्रै हाल्नुभएन, अहोरात्र खटेर मलाई जिताउन महत्त्वपूर्ण सहयोग गर्नुभयो ।


प्रकाशित : वैशाख १९, २०८१ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?