कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओमानमा एनआरएनको खाडी सम्मेलन हुँदै

सुरक्षित वैदेशिक रोजगारीदेखि सामाजिक सुरक्षासम्मको एजेन्डा तय

काठमाडौँ — गैरआवासीय नेपाली संघको मध्यपूर्व सम्मेलन ओमानको राजधानी मस्कटमा आउँदो असार १३–१५ हुने तय भएको छ । यो सम्मेलनमा सुरक्षित वैदेशिक रोजगारी देखि सामाजिक सुरक्षासम्मको एजेन्डा तय भएको छ ।

ओमानमा एनआरएनको खाडी सम्मेलन हुँदै

एनआरएनका मध्यपूर्व संयोजक मनोज गोर्खालीका अनुसार सम्मेलनले सुरक्षित वैदेशिक रोजगारको नीति र अभ्यास, श्रमिक र उनीहरुको परिवारको स्वास्थ्य सुरक्षा, न्यायोचित भर्नाको प्रभावकारी कार्यान्वयन, शोषण र ठगीरहित वैदेशीक रोजगार लगायत विषयमा छलफल हुनेछ ।

‘खाडी क्षेत्र नेपाली श्रमिकको प्रमुख गन्तव्य हो । वैदेशिक रोजगारीमा गएकामध्ये ६५ प्रतिशत श्रमिक खाडी क्षेत्रमा कार्यरत छन् । यी क्षेत्रमा कार्यरत श्रमिकका विविध आयामहरु छन् । मुख्य सवालमाथि तीन दिनसम्म बृहत् छलफल हुनेछ’, गोर्खालीले भने,‘यो सम्मेलनले नीति निर्मातालाई संस्थागत सुझाव दिइनेछ ।’

सम्मेलनमा वैदेशिक रोजगारीमा गएका श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभूति माथि बृहत् छलफल हुनेछ । सामाजिक सुरक्षा कोषले गत चैतदेखि वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याएको छ । यो तीन महिनामा एक लाख ५० हजार श्रमिकलाई कोषमा सूचीकृत गरिसकेको छ । ‘हाम्रो पहलमा सामाजिक सुरक्षा लागू भयो । अब यसलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा एनआरएनको ठूलो भूमिका छ । श्रमिकलाई कोषमा आबद्ध गर्न निकै मिहेनत गर्नुपर्छ,’ अर्का मध्यपूर्व संयोजक राजेन्द्र (जोन) अर्यालले भने, ‘एनआरएनले नेपाली समुदायहरुलाई अगुवालाई परिचालन गरेर अगाडि बढ्नुपर्छ ।’

सम्मेलनमा खाडीमा कार्यरत महिला श्रमिकको सवाल, रेमिट्यान्सको सही रुपमा सदुपयोग, खाडीबाट नेपालमा पर्यटक बढाउने, मताधिकारको अधिका, स्वदेशमा लगानी र वैदेशिक रोजगारीबाट फर्केका श्रमिकलाई स्वदेशमा नै पुन:स्थापनको लागि ल्याइने कार्यक्रममाथि छलफल हुनेछ ।

सम्मेलनमा ओमान, इराक, कतार, कुवेत, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई)स्थित एनआरएनका अध्यक्ष सहितका पदाधिकारीहरुको सम्मेलन हुनेछ । गोर्खालीका अनुसार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी, संस्थापक अध्यक्ष उपेन्द्र महत्त्व सहितको सम्बोधन रहनेछ ।

प्रकाशित : असार ४, २०८० १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?