कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रा सुवेदी अक्सफोर्ड विश्वविद्यालयको मानार्थ फेलोमा नियुक्त

लन्डन — अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत एक्सेटर कलेजको प्राज्ञ सभाले प्राध्यापक सूर्यप्रसाद सुवेदीलाई मानार्थ फेलोमा नियुक्त गरेको छ । उक्त पदमा कला र साहित्यको क्षेत्रका विशिष्ट व्यक्तित्वहरु र विज्ञान, प्रविधि, चिकित्साशास्त्र, मानविकी, समाजशास्त्र, कानुनजस्ता विधामा उत्कृष्ट योगदान दिनेहरुलाई नियुक्ति गरिने चलन छ । 

प्रा सुवेदी अक्सफोर्ड विश्वविद्यालयको मानार्थ फेलोमा नियुक्त

कलेजका प्राचार्य प्राध्यापक सर रिक ट्रेनोरले प्राध्यपक सुवेदीलाई अक्सफोर्डमा उच्च सम्मानको रूपमा हेरिएको बताए । विश्व प्रसिद्ध लेखिका जे के राउलिङ, अर्का बेलायती लेखकद्वय आलन बेनेट र सर फिलिप पुलम्यान, स्पेनकी महारानी सोफिया, घानाका पूर्वराष्ट्रपति जोन कुफोउर, जीव विज्ञानशास्त्री सर जोन आसवोर्थ, नेल्सन मण्डेला र डेसमोन्ड टुटुका वकिल प्रसिद्ध रंगभेदविरोधी अभियन्ता सर सिड्नी केनट्रीज, पाश्चात्य शास्त्रीय संगीतका लेखक तथा कवि अल्फ्रेड ब्रेनडेल, रोयल अपेरा हाउसका निर्देशक सर आन्टोनियो पापानो, लर्ड स्टेफन ग्रीन र सर डेविड वारेनजस्ता व्यक्तिहरु अक्सफोर्डको उक्त कलेजका मानार्थ फेलो छन् । प्रसिद्ध व्यक्तित्वहरुका माझमा आफूलाई पनि मानार्थ फेलो नियुक्त गरिएकोमा निकै हर्षित र गौरवान्वित भएको प्रा सुवेदीले बताए ।

अक्सफोर्डबाटै विद्यावारिधि र महाविद्यावारिधि गरेका प्रा सुवेदीको नाममा तीन वर्षअघि उक्त विश्वविद्यालयले वार्षिक पुरस्कार स्थापना गरी उनलाई सम्मान गरेको थियो । उनले अन्तर्राष्ट्रिय कानुनका प्राय: सबै आयाममा १२ वटा विश्वस्तरका ग्रन्थ र ६० भन्दा बढी अनुसन्धात्मक लेख संसारका ख्यातिप्राप्त जर्नलहरुमा प्रकाशित गरेका छन् ।

उनले मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी महारानीबाट मानार्थ ओबीई र मानार्थ क्विन्स काउन्सेलजस्ता विशिष्ट कानुनविद्हरुलाई दिइने उच्च उपाधि प्राप्त गरेका थिए ।

सन् १९८९ को भारतीय नाकाबन्दीको समय राजा वीरेन्द्र र परराष्ट्र मन्त्रालयको अन्तर्राष्ट्रिय कानुनी सल्लाहकार भएर, नेपालको नयाँ नक्सा समावेश गरेर संविधान संशोधन गर्दा र त्यसपछिको नीति निर्माण गर्न सन् २०२० मा प्रधानमन्त्री केपी ओलीको समयमा नेपाल सरकारले गठन गरेको नेपाल–भारत सीमासम्बन्धी विज्ञ समूहको सदस्यको रूपमा प्रा. सुवेदीले भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित : असार ३, २०८० १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?