न्युजिल्यान्ड र अस्ट्रेलियामा ‘एभरेष्ट डे’ को तयारी- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्युजिल्यान्ड र अस्ट्रेलियामा ‘एभरेष्ट डे’ को तयारी

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलिया तथा न्युजिल्यान्डमा रहेका नेपालीले यसवर्ष विभिन्न सहरमा ‘एभरेष्ट डे’ मनाउने भएका छन् । न्युजिल्यान्डको राजधानी वेलिंगटनमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री जसिन्था आर्डन सहभागी हुने भएकी छन् ।

तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको सम्झनामा न्युजिल्यान्डमा एभरेष्ट डे मनाइँदै आएको छ । यसवर्ष न्युजिल्यान्डको राजधानी वेलिंगटनसहित विभिन्न ६ सहरमा कार्यक्रमको आयोजना गरिँदैछ । राजधानीमा आयोजना हुने कार्यक्रम न्युजिल्यान्डको संसद् भवनमा आयोजना हुनेछ जसमा प्रधानमन्त्री जसिन्था आर्डनले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । संसद् भवनमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री आर्डनका साथै यातायातमन्त्री माइकल वुड र सामाजिक तथा बहुसंस्कृतीमन्त्री प्रियंका राधाकृष्णनसहित २२ जना सांसदले सहभागिता जनाउने छन् ।

आयोजक नेप्लिज सोसाइटी अफ वेलिंगटनका अध्यक्ष रमेश सापकोटाले यसवर्षको सगरमाथा दिवस अकल्याण्ड, हेमिल्टन, बे अफ प्लेन्टी, क्राइस्ट चर्च र साउथल्याण्डमा समेत आयोजना हुने जानकारी दिए । उनले वेलिंगटनस्थित संसद् भवनको कार्यक्रम सत्तारुढ दल लेबरका सांसदद्वय भानुसी वाल्टर र डा. गौरव शर्माले समन्वय र स्वागत गर्ने कार्यक्रम तय गरिएको जानकारी दिए । उक्त कार्यक्रममा एडमण्ड हिलारीका छोरा पिटर हिलारी, ६ पटक सगरमाथाको सफल आरोहण गरिसकेका पर्वतारोही आंककाजी शेर्पाका साथै विभिन्न दल, संघसंस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । ‘सगरमाथा दिवसको माध्यमबाट नेपाल र न्युजिल्यान्डको दुई देशीय सम्बन्धलाई अझ दरिलो बनाउने विश्वास लिएका छौं,’उनले कान्तिपुरसँग भने ।

न्युजिल्यान्डको संसद्‌मा नेपालीले आयोजना गर्ने यो अहिलेसम्मको ठूलो कार्यक्रम हुने जनाइएको छ । अस्ट्रेलिया तथा न्युजिल्यान्ड हेर्ने दूतावासमा राजदूत पद महिनौंदेखि खाली रहेकाले नेपालको तर्फबाट प्रभावकारी कूटनीतिक उपस्थिती रहने छैन । कार्यक्रममा अस्ट्रेलियाको क्यानबेरास्थित दूतावासबाट प्रतिनिधि सहभागी हुने छन् ।

यसवर्ष अस्ट्रेलियामा रहेका नेपालीले समेत मे २९ तारिखका दिन सगरमाथा दिवस मनाउने भएका छन् । फेडेरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया (फेन्का) को आयोजनामा अस्ट्रेलियाका सबै राज्य तथा टेरिटोरीमा सगरमाथा दिवस आयोजना हुने भएको हो ।

पहिलोपटक सबै राज्यमा हुन लागेको यस कार्यक्रमले सगरमाथा र नेपालको पर्वतारोहणका बारेमा यहाँ रहेका अन्य समुदायलाई थप जानकारी दिने आयोजकले बताएको छ । आयोजक संस्थाका अध्यक्ष कृष्ण हमालले कार्यक्रम मार्फत नेपालको हिमाली पर्यटनको प्रचारप्रसार गर्नुका साथै हिमाल सफा राखौं भन्ने मुख्य सन्देश दिइने जानकारी दिए ।

कार्यक्रममा सगरमाथाको सफल आरोहण गरेका पर्वतारोही, अस्ट्रेलियाली राजनीतिक दलका नेता, नेपाली दूतावास, एनआरएनएलगायतका अन्य संघसंस्थाका प्रतिनिधी समेत सहभागिता हुने आयोजकको भनाइ छ ।

प्रकाशित : वैशाख २९, २०७९ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्

बुद्ध एयरले आइतबारदेखि रात्रिकालीन उडान भर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — बुद्ध एयरले आइतबारदेखि विभिन्न गन्तव्यहरुमा रात्रिकालीन उडान सेवा विस्तार गर्ने भएको छ । रात्रिकालीन उडान तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा उपलब्ध हुने कम्पनीले जनाएको छ । यी उडानका समयहरु राति ८ बजेपछिका मात्र हुनेछन् । 

नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालीन उडान रहेको बुद्ध एयरले जनाएको छ । दैनिक कामकाजमा व्यस्त यात्रुहरुका लागि रात्रिकालीन उडान निकै आकर्षक हुने बुद्ध एयरको दाबी छ । रात्रिकालीन उडान बिहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि जनाएको छ ।

बुद्ध एयरले रात्रिकालीन उडान हुने गन्तव्यहरुमा त्यहाँको प्रदेश र स्थानीय सरकारलाई सार्वजनिक यातायात सुविधाको लागि अनुरोध गरेको छ । यात्रुहरुको थप आउजाउले स्थानीयस्तरमै रोजगारी सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने बुध्दको भनाइ छ । बुध्द एयरले काठमाडौंको हकमा टुटलसँग समन्वय गरी रात्रिकालीन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको छ ।

यसैबीच बुद्ध एयरले भैरहवा विमानस्थललाई पनि दोस्रो हबको रुपमा सबै प्रदेशबाट जोड्न लागेको छ । भैरहवाबाट पोखरा र भरतपुरको उडान सञ्चालनमा ल्याइसकेको एयरले निकट भविष्यमै भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा क्रमशः उडान भर्ने योजना रहेको जनाएको छ ।

प्रकाशित : वैशाख २९, २०७९ १४:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×