कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली युवा वैज्ञानिकलाई चीनको राष्ट्रिय स्तरको ‘रिसर्च ग्रान्ट’

लक्ष्मी लम्साल

बेइजिङ — चीनमा कार्यरत एकजना नेपाली वैज्ञानिकले चीनकै प्रतिष्ठित राष्ट्रिय स्तरको अनुसन्धान ‘ग्रान्ट’ प्राप्त गरेका छन्। झापाको महारानीझोडाका डा.जनकलाल पाठकलाई चीनको राष्ट्रिय प्राकृतिक प्रतिष्ठानले यस वर्षको विदेशी युवा अनुसन्धान अनुदान प्रदान गरेको हो।

नेपाली युवा वैज्ञानिकलाई चीनको राष्ट्रिय स्तरको ‘रिसर्च ग्रान्ट’

चीनको क्वाङ्चौ चिकित्सा विश्वविद्यालयमा सहप्राध्यापकका रुपमा कार्यरत पाठकले ६ पटकको प्रयासपछि यस्तो उपलब्धी हासिल गरेको कान्तिपुरलाई सुनाए। पाठक विगत ४ वर्षदेखि क्वाङ्चौ मेडिकल युनिभर्सिटीमा कार्यरत छन्।

क्याथोलिक विश्वविद्यालय लुभेन बेल्जियम र भ्रिज विश्वविद्यालय एम्स्टर्डम नेदरल्यान्डबाट विद्यावारिधि गरेका पाठक विगत ६ वर्षदेखि चीनमा स्टेम सेलमा आधारित हड्डी पुनर्जनन(बोन रिजेनेरेसन)को अनुसन्धान गरिरहेका छन्।

युनिभर्सिटीमा मास्टर, पीएचडी, पोस्ट डक रिसर्चलगायत ग्रुपका प्रमुख पनि रहेका छन्। चीनमा सहर तह, प्रान्तीय तह र राष्ट्रिय तहका ग्रान्ट रहेकोमा एक मात्र नेपालीको रुपमा उनले ४ लाख चिनियाँ युआनको २ वर्षे रिसर्च ग्रान्ट पाएका हुन् । ‘प्राप्त ग्रान्टले २, ४ जनालाई पीएचडी गराउन र केही प्याटेन्ट लिन सकिन्छ, तर त्यो भन्दा पनि राष्ट्रिय तहको प्रथम श्रेणीको ग्रान्ट पाउनु नै महत्त्वपूर्ण खुट्किलो पार गरेको जस्तो लागेको छ’, उनले भने। सम्बन्धित क्षेत्रका नेपाली अनुसन्धाताहरू इच्छुक भएमा यथोचित सहयोग गर्न सकिने सम्भाव्यता औंल्याउँदै उनले कैयौं विदेशीहरूबीच प्रतिष्पर्धा जित्न सकेकोमा नेपाली हुनुको हिसाबले गौरवाान्वित भएको बताए।

यसैवर्ष चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबाट पाठकले विदेशी युवा वैज्ञानिकको पदक पनि प्राप्त गरेका छन्।

प्रकाशित : पुस १६, २०७८ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?