कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यु साउथ वेल्सको स्थानीय निर्वाचनमा ९ नेपालीको उम्मेदवारी

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा करिब ३ सातापछि हुन गइरहेको स्थानीय निर्वाचनमा ९ नेपालीले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा प्रमुख दल लिबरल र लेबरले मनोनित गरेका र केही स्वतन्त्र छन् । जनसंख्याको हिसाबले सबैभन्दा ठूलो राज्य न्यु साउथ वेल्समा यही डिसेम्बर ४ तारिखमा निर्वाचन हुँदैछ ।

न्यु साउथ वेल्सको स्थानीय निर्वाचनमा ९ नेपालीको उम्मेदवारी

यस वर्षको निर्वाचनमा उक्त राज्यका विभिन्न काउन्सिलमा काउन्सिलर पदका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दिनेमा २ जनालाई सत्तामा रहेको दल लिबरलले मनोनित गरेको छ भने ३ जनालाई विपक्षी दल लेबरले मनोनयन गरेको छ । राज्यको क्याम्पबेलटाउन काउन्सिलमा मात्र ४ जना नेपालीको उम्मेदवारी परेको छ ।

जसमा विनोद पौडेल, जीप्सोना पौडेल, सज्जन कार्की र अस्मिता खरेल छन । पौडेलद्वयलाई सत्तामा रहेको दल लिबरलले मनोनयन गरेको हो भने उनीहरु श्रीमानश्रीमति समेत हुन् ।

हरेक ४ वर्षमा आयोजना हुने स्थानीय निर्वाचनमा पहिलोपटक ठूलो संख्यामा नेपालीले उम्मेदवारी दिएका हुन् । यसभन्दा पहिले भएको निर्वाचनमा सिड्नीका श्री नापित उठेका भएपनि उनी पराजित बनेका थिए । तर विगत ४ वर्षको अवधिमा नेपालीको जनसंख्या बढेसँगै स्थानीय राजनीतिमा समेत नेपालीको सक्रियता बढेको हो । यस वर्षको निर्वाचनमा उम्मेदवारी दिनेमा ब्यांक्सटाउनबाट भद्र वाईबा, ब्ल्याकटाउनबाट महेश पन्त, नर्थ सिड्नीबाट अन्जना कार्की बस्नेत, लिभरपुलबाट दीपेश चिलुवाल र हिल्सबाट अनन्त कार्की छन् । न्यु साउथ वेल्समा रहेको १ सय २८ काउन्सिलमा निर्वाचन हुन गइरहेको छ ।

निर्वाचनमा उम्मेदवार बनेका उम्मेदवारले नेपाली मूलको नागरिक भएर यहाँको निर्वाचनमा सहभागी हुन पाउनु गौरवको विषय भएको सुनाएका छन् । लिबरलबाट मनोनयनमा परेका विनोद पौडेलले जीत हासिल गरेमा आफ्नो तर्फबाट नेपाल तथा अस्ट्रेलियाको सम्बन्ध थप बिस्तारका लागि सांस्कृतिक र सामाजिक रुपमा गर्न सक्ने सबै कार्य गर्ने सुनाए । उनले भने, ‘करिब १५ वर्षअघि विद्यार्थीका रुपमा आएको नेपालीले यहाँको स्थानीय निर्वाचनमा आफूलाई उभ्याउनसक्नु नै सबै नेपाली तथा नेपालको लागि गौरवको विषय हो ।’ उनले यसले भविष्यमा अस्ट्रेलियाको राजनीतिमा आउन चाहने दोस्रो पुस्ताका नेपालीलाई बाटो खुलेको समेत दाबी गरे ।

अस्ट्रेलियाली राजनीतिमा करिब ५ वर्षदेखि नेपाली मूलका नागरिकले समेत बिस्तारै स्थान बनाउँदै गएका छन् । अहिलेसम्म कसैले पनि यहाँको राजनीतिक निर्वाचनमा जीत हासिल नगरेका भएपनि गतवर्ष भएको केन्द्रीय निर्वाचनमा सत्तारुढ दल लिबरलबाट प्रमेज श्रेष्ठले उम्मेदवारी पाएका थिए भने पश्चिम अस्ट्रेलियाबाट ग्रिनबाट भुवन खड्काले समेत उम्मेद्धवारी पाएका थिए । यसका साथै स्थानीय राज्यको बहुसांस्कृतिक तहमा बसेर समेत नेपालीले काम गरिरहेका छन् । सिड्नीकै महेन्द्रकुमार लम्सालले केन्द्र सरकारको मन्त्रीस्तरीय सल्लाहकार समितिको सदस्यका रुपमा काम गर्ने अवसर पाएका थिए ।

लिबरल पार्टीको नेपाली शाखा मानिने लिबरल फ्रेन्डस् अफ नेपालका अध्यक्ष श्री नापित जीत हार जे भएपनि नेपालीले यहाँको स्थानीय राजनीतिमा प्रभाव र स्थान बनाउँदै गएको अर्थमा बुझ्नुपर्ने सुनाए । उनी यहाँका मुख्य दलले मनोनयन गर्नु सकारात्मक भएको र यसले नेपाली समुदाय समेत केन्द्रीय दलको नजरमा छन् भनेर प्रमाणित गरेको बताए । ‘हो हाम्रा नेपाली उम्मेदवार सबैले जीत हासिल नगर्न सक्छन् तर उनीहरुले विभिन्न काउन्सिलमा आफूलाई उभ्याउन सक्नु नै सबै नेपाली तथा नेपालको लागि गर्वको विषय हो,’ नापितले भने ।

प्रकाशित : कार्तिक २५, २०७८ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?