मनै लोभ्याउने ढोरपाटन [तस्बिरहरू]- गन्तब्य - कान्तिपुर समाचार

मनै लोभ्याउने ढोरपाटन [तस्बिरहरू]

प्रकाश बराल

बागलुङ — नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन नेपालकै प्रसिद्ध पर्यटकीय गनतव्य पनि हो । यहाँ वर्षको दुईपटक विश्वभरका पेशेवर सिकारी पुग्छन् । तर वर्षभरि नै आन्तरिक पर्यटक घुम्नका लागि पनि जाने गर्छन् ।

ढोरपाटन धार्मिक र पर्यटकीय गन्तव्य पनि हो । यहाँको ढोरबराह मन्दिर, उत्तरगंगा, रुद्र ताल, छेन्टुङ गुम्बा घुम्ने र पूजा गर्ने धार्मिक पर्यटक पुग्छन् भने सुन्दर उपत्यका, बुकी र यहाँका अन्य रमणीय बस्ती समेत हेर्न जानेहरु छन् ।


यतिबेला ढोरपाटनका डाँडामा हिउँ परिसकेको छ । चिसो बढेको छ । तर पनि पर्यटकहरु धमाधम जाने क्रम बढी छ । बुर्तिवाङसम्म मध्यपहाडी लोकमार्गको यात्रा गरेपछि थप ३६ किमी कच्ची सडकबाट ढोरपाटन पुगिन्छ । सालझन्डी ढोरपाटन सडक आयोजनाले यो खण्डमा स्तरउन्नती गर्दैन । सडक स्तरीय भएपछि पर्यटक अझै बढ्ने अनुमान छ ।


कोरोना संक्रमण र निषेधाज्ञाका बीच पनि गत आर्थिक वर्षमा झन्डै ७ हजार पर्यटक ढोरपाटन पुगेको आरक्ष कार्यालयको रेकर्ड छ । यहाँ जानेले आरक्ष कार्यालय पुगेर सिकारको बारेमा पनि जानकारी लिने गर्छन् । कतिपयले समूह बनाएर घुम्न निस्केका हुन्छन् । ‘आमा समूह, युवा समूह र अन्य कर्मचारीको समूह समेत यहाँ घुम्न आउने गरेका छन्,’ स्थानीय व्यवसायी सुरज पौडेलले भने, ‘आएका पाहुनालाई सहज बसोबासको व्यवस्था पनि गरेका छौं ।’ यहाँ निर्माण गरिएको सामुदायिक लजले पर्यटकलाई सहज बसोबासको व्यवस्था गरेको छ । साथै यहाँ दुई वटा सामुदायिक होमस्टे पनि छन् । उनीहरुले पनि दैनिक २० जनाको दरले पाहुना राख्न सक्ने व्यवस्था गरेका छन् ।


ढोरपाटन उपत्यका पर्यटन सँगै जीवनबुटी मानिने यार्चा गुम्बाका लागि पनि प्रसिद्ध छ । तर, सिकार आरक्षको मध्यवर्ती क्षेत्र घोषणा नभएकोले चोरी सिकारी भइरहेको छ । वैधानिक रुपमा बिक्री गर्न नसकिएको सहायक संरक्षण अधिकृत सूर्य खड्काले बताए । यहाँ निर्माण गरिने भनिएको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनाले पनि धेरैको मन तानेको छ । चासो राख्नेहरुले जलविद्युत् आयोजना निर्माण गरिने प्रस्तवित स्थल घुम्ने गरेको स्थानीय डिलबहादुर विकले बताए ।


सबै प्रकारका चाहना राखेर आउने पर्यटकले ढोरपाटन घुम्ने गरेका छन् । कतिपयले ढोरपाटनमा पुगेर घोडाचढी गर्छन । यहाँको मुख्य पाटन, पुरानो हवाई मैदान, उत्तरगंगा, स्यालपाखे, नवी र तिब्बती शरणार्थी क्याम्प सम्म घुम्ने गर्छन् ।

प्रकाशित : मंसिर १९, २०७८ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्

प्राध्यापक लामाको ‘ओ दार्जिलिङ !’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — दार्जिलिङका लेखक एवं प्राध्यापक महेन्द्र पी. लामाको पुस्तक ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’ बजारमा आएको छ । यो पुस्तक भारतका नेपालीभाषी र उनीहरूले माग गर्दै आएको गोर्खाल्यान्डको मुद्दा लगायतका विषयमा केन्द्रित छ ।

दार्जीलिङले आफ्नो स्वाभिमानका निम्ति सय वर्षदेखि गर्दै आएको संघर्षको झलक पुस्तकमा रहेको लेखक लामाले बताएका छन् । पुस्तकमा दार्जिलिङ सँगैको अर्को राज्य सिक्किमसँग जोडिएका प्रसंग पनि पुस्तकमा छन् ।

‘आफ्नो जन्मथलो, जाति, क्षेत्रका जल्दाबल्दा मुद्दालाई टाढाबाट हेर्दा र फेरि भित्रै पसी केलाउँदा पाइएका सोच, धारा र प्रवृत्ति पुस्तकमा छन्,’ प्राध्यापक लामाले भनेका छन्, ‘मैले जन्मथलो छोडेर कर्मथलोमा जरा गाडेको ४० वर्षभन्दा ज्यादै भएछ । तर मेरो मन, भोगेको तन र निफन्ने ऐतिहासिक परिप्रेक्ष्यचाहिँ दार्जिलिङकै वरिपरी छ ।’

किताब पब्लिसर्सले प्रकाशित गरेको यो पुस्तकमा भारतबाट हेर्दा नेपाल कस्तो देखिन्छ ! तिब्बत र चीनतिर चियाउँदा के–के पाइन्छ ! कूटनीति, भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ मुद्दाहरू के हुन्– यी र यस्ता विषय पनि समेटिएका छन् । विभिन्न समयमा लेखिएका र छापिएका ४९ वटा फरकफरक आलेखहरूको संग्रहमा सीमावारि र हिमालपारिका विविध विषयलाई समेटेको छ ।

लेखक लामा नयाँ दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयको स्कुल अफ इन्टरनेसनल स्टडिजका वरिष्ठ प्राध्यापक एवं विकास अर्थशास्त्री हुन् । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार परिषद् सदस्य, सिक्किम सरकारको प्रमुख आर्थिक सल्लाहकार एवं भारत सरकारका विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय कमिटीहरूमा प्रतिनिधि रहिसकेका लामा कान्तिपुरका स्तम्भकार पनि हुन् ।

४३० पृष्ठको पुस्तकमा ‘पहाडकी रानी’, ‘हाम्रो आवाज र स्वाभिमान’, ‘नेपाललाई नियाल्दा’, ‘चीनतिर चियाउँदा’, ‘कूटनीति र यताउति’ तथा ‘अनुभूति र अवलोकन’ गरी ६ खण्डमा विभाजित छन् ।

‘मैले दार्जीलिङको विजनबारी, नेपालको हुम्ला–जुम्ला, भोटाङको सर्भाङ, जापानको हिरोसिमा, न्युयोर्कको कुइन्स, तिब्बतको भाखोर अनि अरूणाचलको पासीघाटसम्मै थुप्रै चाखलाग्दा पाठक पाएको छु,’ लामाले आफ्नो लेखनको अनुभव साट्दै भनेका छन्,‘कालिम्पोङको गाउँमा एकजना बूढा पाठकले मेरा स्तम्भहरू सबै काटेर होसियारसँग राखेको देख्दा र जेट एयरवेजका एयर होस्टेसहरूले उड्दै गरेको विमानमा लेखको उत्सव मनाउँदै केक काटेको देख्दा खुशीले मन रून्थ्यो, आत्माभरि ढक्कमक्क मखमली फुल्थ्यो र कहिले गएर फेरि लेखौं–लेखौं हुन्थ्यो ।’

प्रकाशित : मंसिर १९, २०७८ १४:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×