गोक्योतिर बरालिँदा [तस्बिरहरू]- गन्तब्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोक्योतिर बरालिँदा [तस्बिरहरू]

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्र केन्द्रीय विभाग कीर्तिपुरको अनुसन्धान टोली (प्रा डा हरिदत्त भट्टराई, डा नारायण प्रसाद घिमिरे, कुशल केसी,श्री आरती गुरुङ)सहित हामी सगरमाथा राष्ट्रिय निकुञ्जको खुम्बु क्षेत्रमा औषधीय वनस्पति कुट्कीको अध्ययन अनुसन्धान गर्नको लागि कात्तिक दोस्रो साता गएका थियौं ।

यात्राको पहिलो दिन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि झन्डै २५ मिनेटको उडानबाट २८४० मिटर उचाइमा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा पुगियो । लुक्लाबाट आसपासका वनस्पतिहरुलाई नियाल्दै तीन घण्टामा फक्दिन पुग्यौं ।

हिमाली बाटोको खानामा रमाउँदै त्यो रात त्यही बिताउँदै अर्को दिन सबेरै खाजा खाएर नाम्चे पुग्ने लक्ष्यसहित हाम्रो यात्रा सुरु भयो । दूधकोसी नदीको तिरैतिर हिमालका चाँदी झै टल्किएका टाकुराको फेदको बाटो हुँदै जोर्सल्लेमा माध्यान्न १२ बजेतिर पग्यौं । खाना खाएपछि झन्डै ५ घण्टाको उकालो हिडेँपछि ३४५० मिटर उचाइमा रहेको नाम्चे बजार पुगियो ।

नाम्चे बजार सुन्दर तर चिसो थियो । होटेलको एकरातको बसाइपछि अर्को दिन सबेरै हाम्रो अर्को लक्ष्य खुम्जुङतिर लागियो । खुम्जुङमा उसिनेको आलु र टमाटरको चटनीको लन्च गरी स्थानीयहरूसँग कुट्कीको स्थानीय प्रयोगको बारेमा जानकारी लिएपछि हामी फोर्से थांगातिर गयौं ।

दिउँसो २ बजेतिर सुरु गरेको फोर्से थांगा तिरको यात्रा साँझ ६:३० बजे पुगियो । होटेल गुणस्तरीय थिएन तर हामीसँग विकल्प पनि थिएन । जसोतसो रात काटेर अर्को दिन बिहानै ४ घण्टाको उकालो चढेपछि डोले पुगियो । हामीले अनुमान गरेको र खुम्बुका स्थानीयहरुले भने जस्तो कुट्की डोलेदेखि गोक्योसम्म पाइन्छ भन्ने तथ्य सत्य सावित भयो । डोलेका स्थानीय महिलाले देखाएको उत्तरतर्फ फर्केको ओसिलो पाखामा कुट्की प्रसश्त भेटेपछि हाम्रो खुशीको सीमा रहेन । त्यहाँ कुट्कीको अध्ययन गरेपछि हामीलाई आवश्यक पर्ने तथ्यांकहरु संकलन गर्‍यौं । त्यसपछि हाम्रो यात्रा लुजातर्फ अगाडि बढ्यो । साँझतिर हामी लुजा पुग्यौं । अर्को दिन बिहानतिर हाम्रो यात्रा गोक्योतिर सोजियो । लुजादेखि डेढ घण्टाको यात्रापछि मछेर्मो पुग्यौं । उच्च ठाउँ, चिसो हावा र उकालो बाटोले गर्दा हाम्रो गति कछुवाको जस्तो थियो ।

भोलिपल्ट बिहान हामी गोक्यो ताल, गोक्यो रि र हिमालको काखमा रमणीय स्थानहरुको अवलोकन गर्‍यौं । मध्यान्न १२ बजेतिर खाना खाएपछि हामी त्यहाँबाट मछेर्मो फर्कियौं । बाटोमा कुट्कीको अवलोकन अध्ययन गर्दै मछेर्मो पुगियो । अर्को दिन डोले हुँदै २ दिनमा नाम्चे हुँदै लुक्ला फर्कियौं । लुक्लाबाट तारा एयरको विमानबाट यात्रा सुरु गरेको १० औं दिनमा हाम्रो टोली काठमाडौं फर्कियो ।

प्रस्तुति : मुक्तिराम पौडेल ।


प्रकाशित : कार्तिक २७, २०७८ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्

डडेलधुरा सभापति मल्लको चेतावनी- 'फेरि वडा अधिवेशन नभए ३ हजार सदस्यको हस्ताक्षरसहित अनशन बस्छु'

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले डडेलधुरा कांग्रेसका विषयमा नेतृत्वले गम्भीर भएर आफूहरुका माग पूरा नगरे तीन हजार भन्दा धेरै क्रियाशील सदस्यको हस्ताक्षरसहित धर्ना र अनशन थाल्ने चेतावनी दिएका छन् । डडेलधुरामा ५८०४ क्रियाशील सदस्य छन् ।

तीमध्ये झण्ड ३ हजार क्रियाशील सदस्य साथीहरुको सहभागीता बिनै अधिवेशन अघि बढाइएको छ । त्यसमाथि जिल्ला कार्यसमितिका बहुमत १३ जना साथीहरुले क्रियाशील सदस्यताको विवाद समाधान गरेर मात्रै अधिवेशन गरौँ भनेर निर्णय गरिसकेको अवस्थामा अधिवेशन भएको छ,’ मल्लले शनिबार कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै भने, ‘यदि मंसिर १ गतेसम्म पनि हाम्रो माग सुनुवाई भएन भने तीन हजार क्रियाशील सदस्यको हस्ताक्षरसहित सबै वडाको प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यालयमा धर्ना र अनशन गर्छौँ ।’

महाधिवेशनको तयारीका विषयमा आइतबार कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठकले आफूहरुको माग पूरा गर्नुपर्ने डडेलधुराका नेता कार्यकर्ताको माग छ । उनीहरुले त्यसबारे नेताहरुलाई घर-घरमै पुगेर समेत ध्यानाकर्षण गराइसकेका छन् ।

डडेलधुरामा २५ भदौमै वडा अधिवेशन भएको थियो । त्यसपछि पालिका तहसम्मको अधिवेशन पनि भइसकेको छ । तर जिल्ला सभापति मल्लसहित नेताहरुले भने सदस्यताको विवाद नटुंग्याई गरिएको त्यो अधिवेशन मान्य नहुने भन्दै बहिस्कार गरेका छन् ।

डडेलधुरा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो । सभापति मल्लले जिल्लाका ५२ वडाहरुमध्ये ४३ वडाहरुमा क्रियाशील सदस्यको सूचीमा फेरबदल भएको आरोप लगाएका छन् ।

‘जिल्ला कार्यसमितिका बहुमत साथीहरुको निर्णयलाई लत्याएर, सत्ता र शक्तिको बलमा वडा अधिवेशन भयो, प्रहरी परिचालन भयो, एउटा लोकतान्त्रिक पार्टीभित्र यस्तो कुरा सहृय हुन सक्दैन,’ उनले भने, ‘क्रियाशील सदस्यताको जुन विवाद छ, त्यसलाई समाधान गरेर वडा तहदेखि अधिवेशन शुभारम्भ हुनुपर्छ । नत्र हामी धर्ना र आन्दोलनका कार्यक्रम अघि बढाउँछौँ ।’

देउवाको गृहजिल्लामा देखिएको सो विवादमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पनि पुनः वडा अधिवेशन गर्नुपर्ने माग गर्दै आएको छ । केन्द्रीय निर्वाचन समितिले भने डडेलधुरामा भएको वडा र पालिका तहको अधिवेशनलाई मान्यता दिइसकेको छ । त्यहीआधारमा प्रदेशसभा अधिवेशन गर्ने निर्वाचनको कार्यतालिका ल्याइसकेको छ ।

यसअघि मल्ल पक्षले पुनः वडा अधिवेशनको माग गर्दै डडेलधुरा पार्टी कार्यालयमा ११ दिनसम्म रिले अनशन गरेको थियो । जिल्ला सभापति मल्लले सभापति देउवाकै निर्देशनमा जिल्लामा पार्टीको यो हबिगत बनेको आरोप लगाए ।

‘डडेलधुराबाट उहाँ छैटौँपटक प्रतिनिधित्व गरिरहनुभएको छ । त्यसैको बलमा उहाँ पाँचौपटक प्रधानमन्त्री हुनुहुन्छ । देशका ७६ जिल्लामा जिल्ला कार्यसमितिको निर्णय बमोजिम अधिवेशन भइरहेको छ । तर डडेलधुरामा भने एउटा गुटले अधिवेशन गरिरहेको छ, यो कस्तो अनौठो अभ्यास हो ?,’ मल्लले प्रश्न गरे ।

उनले लामो समयसम्म पार्टीमा त्यस्ता विकृतिका विरुद्ध लडेका देउवाले सभापति भएपनि आफ्नै जिल्लामा त्यस्तो विकृति भित्राएको आरोप लगाए । ‘उहाँ जे विकृतिका विरुद्ध उभिएर पार्टी सभापति बन्नुभयो, आज त्यही विकृतिको पक्षमा उभिएर के गर्न खोज्नुभएको हो ? आफ्नै जिल्लामा किन यस्तो विकृति भित्र्याउनुभएको हो ? मैले बुझ्न सकिरहेको छैन,’ मल्लले भने ।

डडेलधुरा देउवाको राम्रो प्रभाव क्षेत्र हो । देउवाकै समर्थनमा मल्ल दोस्रो पटक जिल्ला सभापति बनेका हुन् । त्यसो त मल्ल देउवा दोस्रो पटक प्रधानमन्त्री हुँदा निजी सचिव नै थिए ।

‘उहाँ दोस्रो पटक प्रधानमन्त्री हुँदा उहाँलाई पार्टीको साधारण सदस्यबाट निकालिएको थियो । त्यो बेला म उहाँलाई किन निकालियो ? भनेर आवेदन पत्र बोकेर पार्टी कार्यालय पुग्ने एक्लो कार्यकर्ता हुँ । तर आज उहाँ स्वयं नै पार्टी सभापति हुनुहुन्छ । हामीमाथि यो हर्कत गरिरहनुभएको छ,’ मल्लले गुनासो गर्दै भने, ‘हामीले जिल्ला अधिवेशनबारे छलफल गर्ने समय माग्दा त्यो पनि दिनुभएको छैन ।’

मल्लले जिल्ला कार्यसमितिको विशेष बैठकबाट अधिवेशनबारे छलफल गर्न समय मागेर पत्र पठाएको समेत सुनाए । त्यस्तै, जिल्लामा अधिवेशनका क्रममा भएको यथार्थसहित निर्वाचन समितिलाई समेत उजुरी दिएको बताए । तर त्यसबारे कुनै सुनुवाई नभएको उनको गुनासो छ ।

प्रकाशित : कार्तिक २७, २०७८ १३:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×