तिलिचोको सौन्दर्यले लोभ्याएपछि 

'बेस क्याम्पको कष्टकर रात, तीनदिने हिँडाइको थकान निलो तिलिचो तालले एकैछिनमा बिर्साइदियो । कुनै ठूलै सफलता प्राप्त गरेझैं हामीले खुसीले चिच्यायौँ ।'
रीना मोक्तान

बाक्लो ज्याकेट, भित्री भुवा भएको ट्र्याक, हाइनेक,पानी तातो रहिरहने बोतल, केही चकलेट, छुटाउनै नहुने लसुन अनि टिम्मुरले ब्याग पुक्क छ । गोंगबु बसपार्कमा छु, बिहानको चार बजिसक्यो । साथमा छन् आशिष ओली, सन्ध्या थापा, नमराज केसी, सिर्जना राई, निशा बजगाईं र दीपेन्द्र मगर । टोलीको एउटै उद्देश्य – तिलिचो ट्रेक ।

तिलिचोको सौन्दर्यले लोभ्याएपछि 

दसैंको मुखमा गाडी भन्नेबित्तिकै नपाइने । पाइए पनि लिइरहेको भाडामा बेसींसहर लैजान चालक नमान्ने । २ घण्टाको पर्खाईपछि ६ बजे बल्ल डिलक्स भेट्यौं । बेसींसहरमा -पहिलो रात । दोस्रो दिन - चामे हुँदै गाडीबाटै खाङ्गसार पुग्ने । तेस्रो दिन –खाङ्गसारबाट ट्रेक गर्दै बेस क्याम्प पुग्ने अनि आराम गर्ने । भोलिपल्ट तिलिचो पुग्ने अनि बेस क्याम्पमै फर्किने योजना बनेको थियो । फूलपातीको दिन बेसींसहर पुग्दा तिलिचो पुग्ने हाम्रो रुट बदलियो ।

बाटो बिग्रिएकाले गाडी खाङ्गसारसम्म नपुग्ने खबर पाइसकेका थियौं । त्यसैले हामीले गाडी चढ्ने समय छोट्याएर हिँड्ने समय लम्ब्याउने भनेर बेसींसहर पुगेकै दिन चामेको गाडी समात्यौं । हिँडाइ लम्बिए आराम गर्दै कदम चाल्न पाइन्थ्यो भन्ने लोभ थियो । बेसींसहरबाट दिउँसोको ३ बजे गाडी चामे लाग्यो । बेसींसहर पुग्दा गर्मी थियो । चामेको उकालो चढेसँगै चिसो हावाले स्वागत गर्न थाल्यो । बेसींसहरलाई पछाडि छोड्दै उकालो लागिरहेको गाडीको झ्यालबाट हाम्रो आँखा हटेन । रुख, पहाड, बाटा छेउछाउका घरहरु नियाल्न पाउँदा थकान मेटिँदै गयो ।

खाल्डाखुल्डी बाटोसँगै मर्स्याङ्दी नदी पनि बगिरहेको थियो । गाडीमा पनि मर्स्याङ्दीमा हेलिएला भन्ने डरले आङ सिरिङ्ग हुन्थ्यो। पहिरोले बिगारेको बाटो गाडीले छिचोल्न नसकेर हामी २ पटक ओर्लिनु परेको थियो । गन्तव्य एउटै भएपछि साथीहरु बाटोमै भेटिँदा रहेछन् । हाम्रो टोलीसँग गाडीका अरु यात्रु पनि मिसिन आइपुगे । नयाँ सहयात्रीहरुसँग गफिँदा अफरोडको यात्रा झन सहज बन्यो । गाडीले रातको १० बजे चामेको होटलमा छोडिदियो । १५ घण्टाको यात्राले बल्ल आराम पायो ।

चामेबाट बिहानको ६:३० मा हामीले ट्रेकिङ सुरु गर्‍यौँ । होटलमा भेटिएका तिब्बती र अन्य विदेशी साथीहरु पनि हामीसँगै हिँड्ने भए । ढुकुर पोखरीमा खाना खाने गरी कदम बढायौं । फलामको लौरोको साहारामा कहिले उकालो कहिले ओरालो, भिरको तेर्सो बाटो, खोला किनारको बाटो नाप्न थाल्यौं । सिरेटो झन चिसिएको थियो । ज्याकेटले पनि नछेक्ला भन्ने डर भयो । जतिजति अगाडि बढ्दै गयौं मर्स्याङ्दी झनै सुसाइरहेको थियो । कतै सल्लाका जंगल कतै ढुंगैमात्र देखिने पहाड ।

सबैको गति समान थिएन । हिँड्दै गर्दा काठमाडौंबाट सँगै निस्किएका हाम्रो टोली फरक-फरक समूहरुमा बाँडिन पुग्यौं । करिब ८ घण्टा हिँडिसकेपछि हामी ढुकुर पोखरी आइपुग्यौं । यहाँ आइपुग्दासम्म साथी निशाको लगातारको हिँडाइले गोडाको औंलामा चोट बनिसकेछ । सहरमा एउटा चोकबाट अर्को चोक पुग्न पठाओ चढ्ने हाम्रो बानीले के हिँड्न सकोस् त !

खाना खाएर फेरि मनाङतर्फ यात्रा सोझियो । गोडाहरु हिँड्न तयार छैनन् तर मनाङ त जसरी नै पुग्नै पर्‍यो । जसोतसो हिँड्न तम्सियौं । आखिर यात्रामा निस्किएपछि नहिँडेर सुख ? यही बुझेर हुनुपर्छ निशा चोट सहँदै अगाडि बढिरहिन् । गोडा दुखेका थिए, तैपनि बाटो छोटिँदै थियो । ४ घण्टा हिँडिसकेपछि हामी लोअर पिसाङ पुग्यौं । यहाँबाट हाम्रा गोडा मात्र होइन, अगाडि बढ्ने रहर पनि रोकिएझैं भयो । मनाङमा होटल चलाइरहेका नेपाली फिल्मका निर्माता विनोद गुरुङलाई हारगुहार गरेर गाडी मगायौं । गाडीले डेढ घण्टामै मनाङ पुर्‍यायो । यहाँआएसँगै हिमाल नजिकिन थाल्यो। याकका घाँटीमा झुन्डिएको घन्टीको आवाज, ढुंगाका घरहरु, सुख्खा पहाडहरुले मनाङलाई सानदार बनाएझैं लाग्थ्यो । मनाङको यही सौन्दर्यले मोहित बनाइरह्यो ।

मनाङमा रात बिताएको भोलिपल्ट हामीले ट्रेकिङलाई निरन्तरता दिने सोचिसक्यौं । श्रीखर्कमा खाना खाएर बेस क्याम्प पुग्ने योजना बन्यो । नवमीको दिन हामीले मनाङबाट श्रीखर्कतर्फको बाटो उक्लिन सुरु गरिसक्यौं । फराकिलो बाटोमा त गोडा सजिलै चल्छ । तर ठाडो उकालोमा सास फुलेर आउँछ । लामो-लामो सास फेर्ने प्रयास जारी राख्दै गोडालाई चलाइरह्यौं ।

हरियो जंगल देखिन छाडिसकेको थियो । सुख्खा मरुभूमिमा हिँडिरहेझैं भानले मन फुरुङ्ग थियो । घरहरु देख्न छाडेका थिए । सुख्खा पहाड अनि स-साना बुट्यानको अर्कै दुनियाँमा आइपुगेको अनुभव गरिरह्यौँ । ४ घण्टापछि श्रीखर्कमा पुगेर भारी बिसायौं । यात्रामा हामी ७ साथी कहिल्यै सँगै भएनौं । आ-आफ्ना गति मिल्ने अन्य यात्रीसँग मिसिँदै हिँड्ने बानी बनिसकेको थियो । श्रीखर्क पुगेर थाहा पायौं, हामीभन्दा अघिअघि हिँडिसकेको नमराज त्यहाँ थिएन । श्रीखर्कमा खाना खाने योजना बनाएर मनाङबाट हिँडेको साथीलाई होटलमा नदेख्दा मन आत्तियो । नमराजलाई फोन सम्पर्क गर्न थाल्यौं । मोबाइलमा टावर देखाउँदैन । अगाडि खोज्न जाने आँट कसैलाई थिएन । सबै लखतरान परेका । सबैजनाको मनमा एउटै प्रश्न थियो- नमराज कहाँ गयो ? । बाटोले तिलिचो मात्र पुर्‍याउँथेन । याकखर्क, थोराङ्ला पास हुँदै मुक्तिनाथसम्ममै पुग्न पनि सकिन्थ्यो । कतै त्यही बाटोलाई नमराजले रोज्यो कि ? मन अत्तालिन थाल्यो । नमराज हरायो भन्नेमा समूहमा एकमत बन्यो ।

खाना खाने बेला भइसक्यो । नमराज न छोडिआएको बाटोमा देखिन्छ न अगाडिको उकालोतिर । सँगै तिलिचो पुग्ने वाचाका साथ आएको साथी हराएपछि चिन्ता थपियो । नमराजलाई पर्खनुको विकल्प थिएन । खोज्ने शक्ति शरीरमा छैन । हामीले नमराजको बाटो हेरिरह्यौँ। करिब आधा घण्टापछि नमराज थकित मुद्रामा होटलमा देखियो । बल्ल मन शान्त भयो । 'एकजना साथी अगाडि पुगेजस्तो लागेर हिँडेको । धेरै अगाडि पुगेछु । बेस क्याम्पबाट फर्कनेहरुले अगाडिको यात्रामा कुनै समूह नभेटिएको कुरा गरिसकेपछि म फर्कें । अनकन्टार पहाडमा आफू हराएझैं लाग्दा रुन पनि मन लाग्यो । तर म फर्केर आएँ,' नमराजले समूहबाट छुट्टिँदाको पीडा पोख्यो । नमराजको घट्नाले साथीहरुलाई समूह छोडेर एक्लिँन दिएन । योजनाअनुरुप हामीले ब्यागलाई श्रीखर्कमा राखेर तिलिचो चढ्न चाहिने सामग्री बोकेर उकालो चढ्न थाल्यौं ।

अब सुरु भयो ठाडो उकालो । ब्यागबिनाको शरीर हलुको त अनुभव हुन्थ्यो तर ठाडो उकालोमा सास फुलेर कदम रोकिन्थ्यो । उकालो सजिलै चढ्न सक्नेहरुले छोडेर अगाडि बढ्थे । फुलेको साससँग गोडाको तालमेल मिलाउन नसक्नेहरु घिस्रिँदै अगाडि बढिरह्यौं । उकालोमा दम फुल्दा थच्चक्क बस्न खोज्थ्यो शरीर । तर सँगै यात्रा गर्नेहरु थचक्क बस्ने शरीरले आराम खोज्ने बताउँदै हिँडिरहन हौसला दिइरहन्थ्यो । उकालोमा 'अब सक्दिनँ अगाडि बढ्न' भनेर गोडाले साथ छोड्दा रोनिस भाइले सहयोगको हात अगाडि बढाउँथ्यो । गोडाले साथ छोडे पनि सहयात्रीहरुको हात पाउँदा हिँड्नुपर्छ भन्ने इच्छाशक्तिले गोडालाई घोडालाई झैं दौडिन निर्देशन दिन्थ्यो ।

ट्रेकिङ कहाँ सजिलो हुँदो रहेछ र ? ४९१९ मिटरको उचाइमा अवस्थित तिलिचो पुग्न झन् कहाँ सजिलो ? तर यात्रामा भेटिने तीनै उकालोहरुलाई भन्दै हिँड्यौं, ‌उकालोपछि ओराली आइहाल्छ नि ! हाँसिरहेको हिमालले गन्तव्यनजिक छ भन्ने संकेत दिइरह्यो । गन्तव्यबाट फर्किरहने साथीहरुसँग गन्तव्यको दूरी सोध्दै अगाडि बढ्नुको छुट्टै मजा हुन्थ्ये । बाटोका स-साना पहिरोले २ पाइला अट्ने बाटो छोपिदिन्थ्यो । पहिरो खसिरहन्थ्यो, हामी बाटो बनाउँदै अगाडि बढ्थ्यौँ । ५ घण्टाको साहसिक यात्राले साँझको ६ बजेतिर बेस क्याम्प पुर्‍यायो ।

बेस क्याम्प पुगेपछि साथी दीपेन्द्रको शरीर थरथराउन थाल्यो । उनी बिसन्चो भएपछि समूहले असुरक्षित अनुभव गर्न थालिसकेको थियो । केही साथीलाई बेस क्याम्प नपुग्दै वान्ता भइसकेको थियो । खाना देख्नेबित्तिकै वाकवाकी लागेपछि भने लाग्यो, अबको यात्रा झनै चुनौतीपूर्ण छ । बेस क्याम्पसम्म दुखेका गोडालाई घिसार्दै हिँडेका हामीलाई एउटै कुराको डर थियो, लेक । गोडाको चोटले निशा पछाडि छुटिसकेकी थिइन् । शरीरले बिरामीजस्तो भए पनि मन भने फुरुङ्गै थियो । बेस क्याम्प पुगेपछि तिलिचो पुग्नैपर्छ भन्ने दबाबले होला हामीले आफ्नो शरीर सन्चो बनाउने हर प्रयास गर्‍यौँ ।

साथीहरु बिरामी भएको देख्दा बेस क्याम्पबाटै फर्किनु पर्छ कि ? भन्ने प्रश्नले नसताएको होइन । तर समूहले एकअर्कालाई हौसला दिन, लेक नलाग्ने औषधि खुवाउन हर प्रयास गर्‍यो । टोलीको सबैभन्दा जवान अनि उमेर ५५ कटेका अंकलले हाम्रो स्वास्थ्यको खुबै वास्ता गर्नुभयो । उहाँको सल्लाह, हौसला अनि तिलिचो पुग्ने आत्मविश्वासले हामीले बेस क्याम्पमा रात बितायौं ।

बेस क्याम्पमा भेटिएका सबै यात्रीको एउटै उद्देश्य थियो, बिहानको ४ बजे तिलिचोको उकालो चढ्ने । हामी पनि सहमत भयौं । शरीरले सहमति दिइसकेको छैन । लेकको लक्षण देखिएको साथीहरुले लसुनको सुप पिएर रात काट्यौं । मध्य रातमा सिर्जनालाई सास फेर्न गाह्रो भयो । उनको स्वाँस फेराइ निस्सासिएको झैं सुनिन्थ्यो । सिर्जनाले स्वाँ-स्वाँ गर्न थालेपछि सन्ध्या दिदी, निशा र म आत्तियौं । सिर्जनाले आफ्नो समस्या लुकाउन खोजी । कष्टकर रात स्वाससँग पैठेजोरी खेल्दैमा बित्यो । कठ्यांग्रिने जाडो । ३:४५ मा कसैले ढोका ढकढक्यायो । निशाले जुरुक्क उठेर भनिन्, 'ह्याप्पी दसैं' । हामीले दसैंको शुभकामना दिँदै बेस क्याम्पको कष्टकर रात बिर्स्यौं ।

टीकाकै दिन अँध्यारोमा हतार-हतार गर्दै समूहसँगै हामीले तिलिचोको उकालो चढ्यौं । बेस क्याम्पमा बिजुली थिएन । मोबाइल अफ। हाम्रो समूहले लाइट बोकेको थिएन । अरुले बोकेको लाइटले झ्याप्प देखाउने बाटोमा छिटोछिटो कदम बढाउनुको विकल्प थिएन । बेस क्याम्पदेखि तिलिचोको ठाडो उकालो । त्यसमाथि पंक्तिबद्ध भएर लाइटले देखाउने बाटोमा हिँडिरहेको दृश्य क्यानभास सम्झँदै कति सुन्दर देखिन्थ्यो । ठाडो उकालोमा सास रोकिएलाझैं हुन्थ्यो । गोडा अचल बन्थ्यो । २ दिनको लगातार हिँडाइ सम्झन्थ्यौं । चिसो सिरेटोले बाक्लो ज्याकेटबाट मुटुमै छुएजस्तो हुन्थ्यो । निस्पट्ट अँध्यारोमै हिँड्दै गर्दा सिर्जनाले झ्याम्म अंगालो मारी, आँखाभरि आँसु बोकेर । एकअर्काको कष्टलाई साथ हौसला दिँदै कदम चलाउन छोडेनौं । विस्तारै अँध्यारो हट्दै गयो । नदीको दृश्य धूमिल हुँदै गयो । ठाडो उकालोले सासको गति छोटो बनाउँथ्यो । आफ्नो सासको गति सुन्दै लसुन मुखमा हालेर ठाडो उकालो चढ्न थाल्यौं । ४:५५ मा बेसक्याम्पबाट माथि उक्लिएका हामी १० बजेतिर तिलिचो पुग्यौं ।

बेस क्याम्पको कष्टकर रात, तीनदिने हिँडाइको थकान निलो तिलिचो तालले एकैछिनमा बिर्साइदियो । मनमोहक र सौम्य तिलिचोसँग हामीले सेल्फी लियौं । शान्त तिलिचोलाई पृष्ठभूमिमा पार्दै हामी तस्बिर खिच्न हानथाप गर्‍यौँ । कुनै ठूलै सफलता प्राप्त गरेझैं हामीले खुसीले चिच्यायौँ । तिलिचोको अद्भूत दृश्यले मन्त्रमुग्ध पार्ने नै भयो । तिलिचोको सौन्दर्य नियाल्ने हाम्रो रहर पूरा भएकै थिएन, तर सबैका आ-आफ्ना काम र प्रतिकूल मौसमका कारण यात्रा छोट्याउनु थियो । तिलिचोले दिएको माया बोकेर पहिलेकै डोब पछ्याउँदै हामी फर्कियौं ।

प्रकाशित : कार्तिक ४, २०७८ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?