चन्द्रागिरिमा पनि वाल क्लाइम्बिङ

कान्तिपुर संवाददाता

काठमाडौँ — नयाँ वर्षको छेको पारेर काठमाडौंको चन्द्रागिरि डाँडामा सल्लाको काठ प्रयोग गरिएको वाल क्लाइम्बिङ स्पोर्ट्स सेन्टर सुरु भएको छ । योसहित उपत्यकामा वाल क्लाइम्बिङ स्पोर्ट्स सेन्टरको संख्या चार पुगेको छ ।

चन्द्रागिरि हिल्स प्रालिले गत वर्ष नै वाल क्लाइम्बिङका लागि दुबईबाट सामग्री आयात गरेको थियो । तर, कोभिडका कारण लकडाउन भएपछि सेन्टर निर्माणको काम स्थगन भएको थियो ।

कम्तीमा ४० लाखको लगानीमा सञ्चालन गरेको यो स्पोर्ट्स सेन्टर काठमाडौंभित्र पहिलो पाइन उड (सल्लाको काठ) प्रयोग गरिएको वाल भनिएको छ । ‘काठमाडौं उपत्यकाभित्र सबैभन्दा उचाइमा भएको र आयातीत सल्लाको प्रयोग गरिएको यो नयाँ स्पोटर््स सेन्टर हो,’ प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले भने । यो २५ सय मिटर उचाइमा छ ।

चन्द्रागिरिका एक्जुकेटिभ सुमित ढुंगेलका अनुसार, हाल दुइटा रुट भएको सेन्टरमा आठ वटा रुट हुनेछन् । अर्थात् एक पटकमा आठ जनाले एकसाथ वाल चढ्न पाउने छन् । चन्द्रागिरिले यहाँ ओभर ह्याङ वाल पनि राख्ने भएको छ । यो हिमाल आरोहणमा जानेहरूका लागि अभ्यास गर्न उपयुक्त मानिन्छ । ओभर ह्याङको बनोट अप्ठ्यारो र तेर्सो हुन्छ ।

वाल क्लाइम्बिङ जिम जान समय नभएकाहरूका लागि उपयुक्त हुन्छ । यसले स्फूर्ति र ध्यान एकाग्र गर्न मद्दत गर्छ ।

प्रकाशित : वैशाख ५, २०७८ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्

बैतडीको मेलौलीका विद्यालय बन्द

तृप्ति शाही

बैतडी — बैतडीको तल्लोस्वराड क्षेत्रमा रहेको मेलौली नगरपालिकाका विद्यालयहरु बन्द गरिएका छन् । शनिबार वडा नम्बर ७ तोल्या गाउँमा एक जनालाई कोरोना देखिएपछि वैशाख १४ गतेसम्मका लागि विद्यालय बन्द गरिएका हुन् ।

आइतबार बसेको नगरपालिकाको कोरोना व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द सँगै तोल्या क्षेत्र अर्काे सूचना जारी नभएसम्मको लागि सिल गरिएको पालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले बताए । कोरोना संक्रमणको अवस्था बढ्न सक्ने भएकाले विद्यालयहरु बन्द गरिएको उनले बताए । उनले भने, ‘कोरोना देखिएको घरमा भारतबाट पनि आएका छन् । घरमा एक जनाको मृत्यु पनि भयो । मृतकको दाहासंस्कार पछि एक जनालाई कोरोना लक्षण देखिएको थियो । जाँच गर्दा कोरोना देखियो । विद्यालय क्षेत्र जोखिममा परेको महसुस भएकोले विद्यालय बन्द गर्ने निर्णय गरेका हौं । ’

पालिकामा ४६ सामुदायिक र २ संस्थागत गरी ४८ विद्यालय रहेका उनले बताए । बैतडीमा आइतबारसम्म २५ जना कोरोनाका सक्रिय केस रहेको स्वासथ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख ५, २०७८ १७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×