कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४४

नागढुंगा सुरुङ आयोजनामा फ्लाइओभरको काम तीव्र

०८१ वैशाख १३ मा काम नसकिएपछि डेढ वर्ष थपियो म्याद 
विमल खतिवडा

काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङ जाने फ्लाइओभर निर्माणको काम ५० प्रतिशत सकिएको छ । गत वैशाख ३ मा मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै बाह्य संरचना निर्माणलाई तीव्र पारिएको छ । अहिले सुरुङभित्र फिनिसिङको काम भइरहेको छ । सुरुङमा लाइनिङ, अक्सिजन, लाइट आदि व्यवस्थापनको काम हुँदै छ ।

नागढुंगा सुरुङ आयोजनामा फ्लाइओभरको काम तीव्र

काठमाडौंतर्फ बलम्बुमा निर्माणाधीन फ्लाइओभरमाथि गाडी हिँड्ने ‘सुपरस्ट्रक्चर’ को काम भइरहेको छ । कुनै समस्या आइनपरे एक वर्षभित्र सवारी चलाउने गरी फ्लाइओभर र सुरुङमा काम भइरहेको नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले जनाए । ‘फ्लाइओभर निर्माणको काम धमाधम भइरहेको छ, सुरुङ फिनिसिङ गर्ने काम पनि जारी छ । सुरुङभित्र सडक ढलानको काम पनि हुँदै छ,’ उनले भने, ‘निर्माणका क्रममा कुनै समस्या आइनपरे एक वर्षमा सुरुङबाट गाडी गुडाउन मिल्छ ।’

आर्थिक वर्ष ०८१/८२ सालको बजेट वक्तव्यमा उक्त सुरुङ निर्माणको सबै काम सकेर यातायात सञ्चालनमा ल्याइने उल्लेख छ । बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटीपाखासम्म २.३०७ किमि दुई लेन सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ । यसमध्ये १.९९५ किलोमिटर कालोपत्र भइसकेको छ । धादिङको सिस्नेखोलातर्फ ७ सय २५ मिटरमध्ये ४ सय ५० मिटर पहुँच सडक निर्माण भइसकेको छ । पहिला यस खण्डमा ५ सय ६५ मिटर सडक मात्र बनाउने भनिएको थियो । पछि १ सय ६० मिटर थप गरेर काम गरिएको आयोजनाले जनाएको छ । अन्य संरचनामा तीन वटा पुल र ६ वटा कल्भर्ट निर्माणको काम सकिसकेको छ । मुख्य सुरुङबाट आपत्कालीन

सुरुङमा जाने सात वटा द्वार निर्माण गरिएको छ ।

सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य नागढुंगा उकालोमा हुने ट्राफिक जामको व्यवस्थापन नै रहेको आयोजनाले जनाएको छ । मुख्य सुरुङमा दुई लेनको सडक हुनेछ— एउटा जाने र एउटा आउने हुनेछ । अहिले नागढुंगाबाट साना–ठूला गरेर दैनिक करिब १० हजार सवारी ओहोरदोहोर गर्छन् । सुरुङ सञ्चालनमा आएपछि इन्धनको बचत र सवारीसाधन बिग्रने खतरा कम हुने आयोजनाको भनाइ छ ।

सुरुङमार्गमा यातायातका सवारी चलाएबापत टोल शुल्क लिने कुरा आएपछि यसबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही निर्णय गरी सकेको छैन । पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन, मोटरसाइकल र ओभर लोड सवारीले सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन् । सुरुङमार्गको निगरानी सीसी क्यामराबाट गरिनेछ । सुरुङमार्ग सञ्चालन गर्ने छुट्टै टोली बन्नेछ ।

अहिले काठमाडौं र धादिङ दुवैतर्फ निर्माणको काम भइरहेको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख विजय जैशीले बताए । ‘धादिङतर्फ रोड साइड सर्भिस स्टेसन बनाउनुपर्नेछ, जुन खण्ड सुरुङ नजिकै पर्छ,’ उनले भने, ‘त्यस ठाउँमा ५ वटा घर पर्छन्, त्यसलाई व्यवस्थापन गर्ने काम भइरहेको छ ।’ काठमाडौंतर्फका स्थानीयसँग पनि निरन्तर संवादमा रहेर समस्या समाधानको प्रयास भइरहेको आयोजनाले जनायो । सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । यो आयोजना निर्माण सुरु भएको ५४ महिना भइसकेको छ ।


आपत्कालीन सुरुङको ‘ब्रेक थ्रु’ भने गत साउन २२ मा भएको थियो । यसको दूरी २५५७ मिटर छ । सुरु सम्झौताअनुसार आयोजनाको समयावधि ०८० वैशाखसम्म थियो । उक्त समयभित्र काम नसकिएपछि ०८१ वैशाख १३ सम्म म्याद थपिएको थियो । तर उक्त समयमा पनि काम नसकिँदा फेरि डेढ वर्ष म्याद थपिएको छ । उक्त समयभित्र सुरुङको सबै काम सकिसक्ने आयोजनाको दाबी छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङमार्गको ४२ महिनाभित्र काम सक्ने गरी काठमाडौंतर्फको टुटीपाखामा ०७६ कात्तिक ४ मा शिलान्यास गरेका थिए । तर कोभिड महामारी र पटक–पटकका स्थानीयको अवरोधले गर्दा झन्डै एक वर्ष ढिला सुरुङ छिचोलिएको हो ।

प्रकाशित : जेष्ठ २८, २०८१ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×